आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना – Nepal Press

आम्दा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेको रोटरी क्लव अफ बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पनि अक्सिजन जेनरेशन प्लान्ट स्थापनामा सहयोग गरेको छ । कोभिड १९ को महामारीमा अक्सिजन अभाव झेलेका अस्पतालमा आगामी दिनमा यो समस्या आउन नदिन सहयोग गरेको क्लबले जनाएको छ ।

रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ रोटरी क्लब बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले भने ।

रोटरी क्लब अफ बुटवलले ग्लोबल ग्रान्ट प्रोजेक्टअन्तर्गत ५५ लाख रुपैयाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो ।

कोभिडको तेस्रो भेरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्नसक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उनले बताए ।
अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व स्वास्थयमन्त्री लिला गिरीले स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताए ।

अक्सिजन प्लान्ट स्थापनाले अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पूर्ती गर्न सकिने भन्दै उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे ।

रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा समेत अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताए ।

कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराएका थिए ।

ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ

रोटरी क्लव अफ बुटवलले वर्ष २०२०–२१ मा ग्लोबल ग्रान्टअन्तर्गत दुईवटा परियोजना शुभारम्भ गरेको छ ।

परियोजनाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले ग्लोबल ग्रान्ट अन्तर्गत सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट स्थापना र शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर सञ्चालनमा आएको बताए ।

उनले ब्लड कलेक्शन मोबाइल भ्यान एक डेढ महिनाभित्रै सञ्चालनमा आउने र लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग सेन्टर स्थापनाको प्रक्रिया अघि बढेकाले निकट भविष्यमै यो परियोजना पनि सञ्चालनमा आउने बताए ।

उनले सञ्चालनमा आएका दुईवटा परियोजनामा रोटरीले एक करोड भन्दा बढी लगानी गरेको र मावाइल कलेक्शन भ्यानका लागि ६० लाख लगानी रहेको बताए ।

कार्यक्रमको उद्घाटन भर्चुअल रुपमा रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ का वर्ष २०२०–२१ का डिष्टिक गभर्नर राजीव पोखरेलले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर