जनयुद्ध लडेको एक जोडी अहिले रोगसँग लड्दै – Nepal Press

जनयुद्ध लडेको एक जोडी अहिले रोगसँग लड्दै

काठमाडौं । सानो मञ्च, मञ्चभरि अतिथिका रुपमा पार्टीका नेता, दर्शकदीर्घामा केही कार्यकर्ता । झट्ट हेर्दा कुनै राजनीतिक कार्यक्रम वा चुनावीसभा जस्तै देखिन्छ । तर त्यो कुनै राजनीतिक कार्यक्रम नभइ, ‘क्रान्तिकारीहरुको जनवादी विवाह’ थियो ।

२६ वर्षअघि अर्थात् २०५२ साल भदौ ११ गते रोल्पाको जङ्कोटमा आयोजित यस्तै एक कार्यक्रमबीच तीन जोडीको एकसाथ विवाह भयो ।

तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्नुभन्दा सात महिनाअघि यसरी विहे गर्ने जोडी थिए- पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री कुलप्रसाद केसी र संविधानसभा सदस्य तारा केसी, रणबहादुर केसी र आशा पुन ।

तीन जोडीमध्ये दुई जोडी राष्ट्रिय राजनीतिमा चर्चित छन् । पुनः र घर्तीको जोडी मूलाधारको राजनीतिमै छन् । पुनः पटक-पटक केन्द्रीय मन्त्री भइसके भने घर्ती सभामुख भइसकिन् । कुलप्रसाद केसी लुम्बनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भए भने उनकी श्रीमती तारा संविधानसभा सदस्य थिइन् । तर, रणबहादुर र आशाको जोडी गुमनाम जस्तै छन् ।

रणबहादुर र आशा पनि अरु दुई जोडी जस्तै माओवादी आन्दोलनमा ज्यानको बाजी राखेर लडे । समाजमा हुने सबैखाले असमानताको अन्त्य गर्दै समतामूलक समाजवादी समाज निर्माण गर्न सँगसँगै लडेका उनीहरुलाई नै अहिले पार्टीले विभेद गरेको अनुभूति भएको छ । आफूहरुले लडेर ल्याएको व्यवस्थाले नै बेवास्ता गरेकोप्रति उनीहरुको चित्त दुखेको छ ।

युद्धका बेला ३० भन्दा बढी भीडन्तमा प्रत्यक्ष सहभागी भएका रणबहादुर अहिले इलामको पशुपतिनगर भन्सारको गाडी चलाउँछन् भने आशा जावलाखेलस्थित सदर चिडियाखानामा काम गर्छिन् ।

आफूसँगै एउटै मोर्चामा लडेका, सँगै हिँडेका, खाएका सङ्गी राज्यको उपल्लो तहमा पुग्दा र आफूहरुलाई दैनिकी गुजार्न नै धौ-धौ भएको सत्यले उनीहरुको मन मात्रै दुख्दैन, नेता र नेतृत्वप्रति आक्रोश पनि पैदा हुन्छ ।

यसरी भएको थियो तीन जोडीको सामूहिक विवाह

जाङ्कोट गाउँको बीचमा एउटा ठूलो रुखमुनि एउटा सानो मञ्च बनाइएको थियो । मञ्चमा अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुनलगायत थुप्रै नेताहरु थिए । दर्शक दीर्घामा केही नेता, कार्यकर्ता बसेका थिए ।

यहींबीच विहे गर्न तयार तीन जोडीलाई मञ्चमा बोलाइयो । अबीर र माला लगाइयो । हँसिया हथौडा अंकित झण्डा साटासाट भयो । सामान्य खानपान भयो । विहे सकियो । रणबहादुर सम्झन्छन्, ‘विहेको बेग्लै अनुभूति भएन । पार्टीको कार्यक्रम जस्तैमा विहे सकियो ।’

विहे हुँदा वर्षामान तत्कालीन पाँच गाविस समेटेर बनाएको एरिया सेक्रेटरी हुँदै अध्यक्षसम्म भएका थिए । कुलप्रसाद, ओेनसरी र तारा भने एरिया सदस्य थिए । रणबहादुर अखिल (क्रान्तिकारी)को जिल्ला कमिटी सचिव थिए । आशा चाहिँ पार्टी सदस्य भएर बसेकी थिइन् ।

गाउँको मोर्चा भनेर माओवादीले युवा क्लव बनाएको थियो । त्यसले गाउँमा सांस्कृतिक कार्यक्रम गथ्र्यो । आशाको आवाज सुमधुर थियो । उनी साँस्कृतिक मोर्चामा रहेर काम गर्न थालिन् ।

‘त्यतिबेला हाम्रो स्वर राम्रो छ भनेर सबैले प्रशंसा गर्थे’ रणबहादुर विगत सम्झदैँ र वर्तमानलाई धिक्कार्दै भन्छन्, ‘हिजो युद्धका बेला हामीलाई प्रयोग गरे, अहिले अवसर दिने बेलामा कसैले सम्झँदैनन् । त्यतिबेला ब्यर्थै ज्यानबाजी राखेर लडिएछ ।’

बहुदल नआउँदै २०४५ सालमा उनले नेता गोपाल शाक्यबाट कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेका थिए । पछि उनी माओवादीको भ्रातृसंगठन वाईसीएलको जिल्ला अध्यक्षसम्म भए ।

पार्टी कामसँगै फस्टाएको प्रेम

पार्टीका कार्यक्रमले नजिक बनाएको थियो, रणबहादुर र आशालाई । ‘कार्यक्रमहरुमा भेट हुँदा उहाँप्रति बेग्लै आत्मीय अनुभूति आउँथ्यो’, आशा सम्झन्छिन्, ‘सुरुसुरुमा खासै बोलचाल भएन, पछि हामी दुवै आपसमा मिल्ने भयौं, मिल्दामिल्दै कतिबेला प्रेम भयो, पत्तै भएन ।’

‘हामी आपसमा मन पराउँथ्यौं, पछि पार्टीका कमरेडहरुले पनि विहे गर्नुपर्छ भन्नुभयो’ रणबहादुर पनि विगत सम्झँदै भन्छन्, ‘नेता कमरेडहरुले नै कुरा चलाउनु भयो, विहे भयो ।’

त्यतिबेला जनवादी बिहेमा पनि जातको कुरा नआएको भने होइन । आशाकी आमा क्षेत्रीलाई ज्वाइँ बनाउन तयार थिइनन् । ‘शुरुमा हाम्रा विहेका लागि आमाले मान्नु भएको थिएन,’ आशा सम्झिन्छिन्, ‘जातै मिल्दैन, भातै मिल्दैन । क्षेत्रीको छोरोसँग विहे गर्न हुँदैन भनेर आमाले मान्नु भएको थिएन ।’

रणबहादुरको घरमा भने मगर्नी बुहारी भित्र्याउन समस्या थिएन । परिपक्व छोराको निर्णयमा रणबहादुरका बुवा बाधक भएनन् । ‘मैले गरेको कामलाई बाले नाइँ भनेनन्,’ उनी भन्छन्, ‘त आफैं जान्ने छस्, मन लागेको गरभन्नुभयो ।’

आशाकी आमाको असहमतिबीच नै उनीहरुको विहे भयो ।

रणबहादुरको युद्ध अनुभवः तीस भीडन्तमा सहभागीदेखि सेक्सन कमाण्डरसम्म

विद्यार्थी संगठनबाट राजनीति थालेका रणबहादुरको भूमिका माओवादी युद्धमा सैन्य फाँटतिर मोडियो । सैन्य तालिम लिएको उनको पृष्ठभूमि र छापामार लडाँइबाटै पार्टीलाई बढ्ता योगदान दिन सकिन्छ भन्ने मनोविज्ञानले उनलाई लडाइँको मोर्चातिरै धकेल्यो ।

युद्धका दौरानमा रणबहार सेक्सन कमाण्डरसम्म भए । पाँच सय भन्दा बढी छापामारको नेतृत्व गरे । र, करिब तीस वटा सानाठूला भीडन्तमा सहभागी भए ।

२०६१ सालमा माओवादीले कृष्णभीरमा दिउँसै आक्रमण गर्‍यो, जुन नेपाल टेलिभिजनबाट ‘लाइभ’ प्रसारण पनि भएको थियो । उक्त भीडन्तमा रणबहादुर पनि सहभागी थिए, बटालियन कमाण्डरको भूमिकामा । माओवादीहरु एउटा बटालियनमा करिब ७ सय छापामार राख्थे ।

कृष्णभीरको भिडन्त सकिएलगत्तै युद्ध मैदानमै बेहोश भएका थिए, रणबहादुर । लडाइँ सकिएपछि उनलाई साथीहरुले चितवन ल्याएर उपचार गरेका थिए ।

उक्त भीडन्त नै उनको अन्तिम लडाइँ थियो । उनी सहभागी भएको पहिलो लडाइँ भने रोल्पाको होलेरी हो । माओवादीले जनयुद्धको उद्घोष गर्दै पहिलोपटक आक्रमण गरेका देशभरका पाँच ठाउँमध्ये होलेरी पनि एक हो । होलेरी आक्रमणमा उनीसँगै बिहे बन्धनमा बाँधिएका वर्षमान, ओनसरी र कुुलप्रसाद पनि सहभागी थिए ।

रणबहादुरले लडेका लडाइँको सूची लामो छ । उनी प्युठानको लुङ्ग्री, म्याग्दीको बेनी, पोखराको छोरेपाटनमा एसबीआई बैंक कब्जा, नवलपरासी, दाङको कोलाबास र सल्यानको झिन्वालगायत तीसभन्दा बढी लडाइँमा उनी प्रत्यक्ष सहभागी थिए ।

विरामी भएपछि बेहाल

माओवादी युद्ध सकिएपछि रणबहादुरको स्वास्थ्यमा धेरै समस्या देखियो । उनी उपचारका लागि काठमाडौं आए । मेडिकेयर अस्पतालमा चेकजाँच गराए । उनलाई मधुमेह भएको रहेछ । निरन्तर एक वर्ष उपचार गराउँदा करिब चार लाख रुपैयाँ लाग्यो । उनले ऋणपान र आफन्तसँग सहयोग मागेर उपचार गरे । उनको उपचारका लागि बुवाले जग्गा नै बेच्नुपरेको थियो । अहिले उनको स्वास्थ्यस्थिति ठीकै छ । तर, विगतको संघर्ष र वर्तमानको स्थितिले उनलाई पोलिरहन्छ ।

जब उनी विरामी भए, तब पार्टीसँगको सम्बन्ध टाढिँदै गयो ।

‘त्यत्रो पार्टी थियो, संगठन थिए’ उनी भकानिँदै भन्छन्, ‘तर जब विरामी भएर थला परें, कसैले हेरेनन् । त्यसपछि लाग्यो, नेताहरुले त हामीलाई उपभोग मात्रै गरेका रहेछन् ।’

उनलाई पार्टी सेना समायोजन हुँदा समेत सूचीमा नराखेकोप्रति धेरै चित्त दुखेको छ ।

‘घर, परिवार र आफ्नो ज्यानसमेत नभनी युद्ध लागियो, पछि बाहिरबाट मान्छे ल्याएर सेनामा घुसाए, हामीलाई वास्तै गरेनन्’ उनले गुनासोमिश्रित पश्चताप गर्दै भने, ‘यस्तै हुन्छ भन्ने थाहा पाएको भए माओवादीमै लाग्दिनथें ।’

मनमा पीडाको भारी र शरीरमा दीर्घरोग बोकेर जसोतसो जीवन गुजारा गरिरहेका गरिरहेका छन् । ‘१८ वर्षदेखि निरन्तर दैनिक ५५ सयको औषधि खाइरहेको छु’ उनी भन्छन्, ‘दुःख गरेर कमाएको जति पैसा औषधि खाँदै सकिन्छ ।’

पार्टीप्रति कुनै आशा नभए पनि छोराप्रति उनीहरुले भरोसा गरेका छन् । उनीहरुको एकमात्र सन्तान अहिले स्नातक तहमा पढिरहेका छन् ।

कुनैबेला देश परिवर्तन गर्न माओवादी युद्धमा लागेका रणबहादुर र आशा अहिले निरासा, पश्चाताप र नेताप्रतिको आक्रोशमा पिल्सिरहेका छन् । एउटै मञ्चबाट विहे गरेका र उच्च ओहोदामा पुगेका नेतासँगै सम्पूर्ण माओवादी नेतृत्वलाई उनीहरुको एउटै प्रश्न छ– हामीलाई गुलिया गफमा भुलाएर किन त्यसरी उपभोग गर्‍याै ?

प्रतिक्रिया

One thought on “जनयुद्ध लडेको एक जोडी अहिले रोगसँग लड्दै

  1. सारै दुख लागेर आउछ । हुन त हाम्रो पनि अन्न र पानीकै ज्यान हो अजम्वरी छैन । मेरी श्रीमती नै २५ वर्षको उमेरवाटै निरन्तर औषधीले वाचेकिछन । अपितु, बहादुरको केस धेरै फरक छ । माओवादीमा योगदानको हिसावले रोल्पामा डार्वोट अपरेसनको टार्गेटमा उहा पनि एक हो । रोल्पामा ज्यान केस लागेर भूमीगत हुनु पर्ने कुल प्रसाद के सी र उहा साथै हुनु हुन्थ्यो । उहा न भाग्नु भयो न झुक्नु भयो । वरू निरन्तर जटिलताको सामना गर्नु भयो । तर समयले आज धेरै ठुलो मजाक गरेको छ । जस्को कुनै उदारण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *