कोरोनाको ‘हटस्पट’मै घट्यो संक्रमण ग्राफ, खाली हुँदै कोरोना अस्पताल – Nepal Press

कोरोनाको ‘हटस्पट’मै घट्यो संक्रमण ग्राफ, खाली हुँदै कोरोना अस्पताल

रुपन्देही । चैतको पहिलो सातादेखि जेठको अन्तिम सातासम्म कोरोना भाइरस संक्रमणको केन्द्र बनेका लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङमा संक्रमणको अवस्था सामान्य बन्न थालेको छ ।

नयाँ संक्रमित कम हुनु र संक्रमित भएर अस्पताल आएका विरामी संक्रमणमुक्त भएर घर फर्किएपछि जिल्लाका अस्पतालहरूमा कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली भएका छन् ।

सुरुमा सरकारले लुम्बिनी प्रदेशका चार वटा सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको थियो । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल, बाँकेको नेपागन्जस्थित भेरी अस्पताल र दाङको कोरोना विशेष अस्पतालले थेग्न नसकेपछि युनिभर्सल मेडिकल कलेज, बाँकेको मेडिकल कलेजलगायतका एक दर्जन निजी स्वास्थ्य संस्थाहरुलाई पनि संक्रमितको उपचारको लागि जिम्मेवारी दिइएको थियो ।

संक्रमण उच्च बिन्दुमा पुगेका बेला प्रदेशका सबै अस्पताल संक्रमितले भरिएका थिए । अस्तालको बरण्डा, भुँइ तथा चौरमा राखेर उपचार गरियो, दर्जनौं अस्पतालमा बेड नै नपाएर होमआइसोलेसनमै ज्यान गुमाए । अधिकांश संक्रमित होमआइसोलेसनमै बसेर संक्रमणमुक्क्त भए । तर अहिले अवस्था फेरिएको छ ।

स्वास्थ्यविज्ञका अनुसार संक्रमण दर कम्तिमा ५ प्रतिशतभन्दा कम भए नियन्त्रण भएको मान्न सकिन्छ । तर संक्रमण दर अझै पनि ५ प्रतिशतभन्दा बढी रहेकाले ढुक्क हुनसक्ने अवस्था नभएकाले सर्तकता अपनाउनुपर्ने प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार साता अघिसम्म काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै संक्रमित पुष्टि भइरहेको रुपदेहीमा अहिले सक्रिय संक्रमित ५ सयभन्दा कम भएका छन् । ८ हजारको हाराहारीमा सकृय संक्रमित पुगेको जिल्लामा अहिलेको अवस्थालाई सामान्य मान्नुपर्ने तर संक्रमणको खतरा अझै नटरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

अहिले जिल्लाभर दैनिक सरदर ५० देखि ६० जना हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । अस्पतालमा विरामीको चाप पनि घटेको छ । स्थानीय तहका आइसोलेशन सेन्टर खाली हुन थालेका छन् । सिकिस्त विरामी र मृत्यु हुनेको संख्या निकै कम भएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जिल्लाको संक्रमण दर निकै कम भएको बताए । उनले विभिन्न पालिकामा समुदायस्तरमा लक्षण देखिएका र संक्रमितका परिवारसहितको एन्टिजेन परीक्षण भइरहेको बताए । ‘सबैभन्दा बढी संक्रमण रहेको बुटवलहित जिल्लाका १६ वटै स्थानीय तहमा समुदायमा परीक्षण भएको छ । यसले संक्रमणको चेन भत्काउन सकेको हो तर अझै खतरा टरेको छैन’, गिरीले भने ।

निषेधाज्ञा र सामाजिक दूरी पालनाले संक्रमण दर घट्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । नाकाबाट प्रवेश गर्नेहरू धेरै पीसीआर परीक्षण गरेर आउने र नगर्नेमा पनि संक्रमण दर घटेकाले कम हुँदै गएको उनीहरूको भनाइ छ । अहिले दीर्घरोगी, अशक्तलाई मात्रै संक्रमणले सताउने गरेको र तिनै विरामी अस्पताल आइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णुप्रसाद गौतमले बताए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले कोरोना संक्रमणको केन्द्र बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजका धेरै बेड अहिले खाली भएका छन् ।

जिल्लामा तीन साता अघिसम्म बिरामीले अस्पताल भरिएका थिए । भेरी अस्पतालमा चाप थेग्न नसकेर परिसरमा पाल टाँगेर उपचारको अस्थायी व्यवस्थापन गरिएको थियो । सरकारी र निजी अस्पताल संक्रमितले भरिभराउ थिए । अहिले बाँकेका अस्पतालमा संक्रमितको चाप घटेको छ ।

स्थानीय तहले बनाएका आइसोलेशन पनि रित्तै छन् । विरामीले बेड नपाएर छटपटिनुपर्ने अवस्था हटेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले बताए ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार संक्रमण कम हुँदै गएपछि होम आइसोलेशनमा बस्नेको संख्या पनि घटेको छ ।
दाङमा पनि संक्रमितको संख्या घटेको छ । दैनिक ३ सय ५० भन्दा बढी संक्रमित थपिने गरेकामा अहिले दैनिक सरदर २० देखि ३० जनामा मात्रै पुष्टि भइरहेको छ ।

वैशाखयता मात्रै जिल्लामा ७ हजार ८ सय संक्रमित भएको तथ्यांक छ । त्यसमध्ये हाल सक्रिय संक्रमित ४ सयको हाराहारीमा छन् । अस्पतालमा बिरामी भर्ना र मृत्युदर पनि घटेको छ ।

दैनिक आठ जनासम्म मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अहिले मृत्यु शून्य छ । उपचारार्थ आउनेको चाप धान्न नसकेर नयाँ भर्ना बन्द गरेको अस्पतालमा अहिले सहजै बिरामी भर्ना गर्न सकिने अवस्था आएको व्यवस्थापक दोर्ण वलीले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीका अनुसार प्रदेशमा हालसम्म ८० हजार १८१ जना संक्रमण भएकोमा अहिले २०४२ जना सकृय संक्रमित रहेका छन् । तीमध्ये २८९ जना विभिन्न अस्पतालमा छन् ।

प्रदेशमा हालसम्म ७२ हजार ८८१ ज्नाले दोस्रो डोजको खोप लगाएका छन् । प्रदेशमा ११.४० प्रतिशत संक्रमण दर रहेको निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर