भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए – Nepal Press

भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाहीका लागि कडा कानून बनाउन सुझाव

रुपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन समितिले उल्टै अस्पताल प्रशासनको कमजोरी भएकोतर्फ इंगित गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा अस्पतालको सेवामा केही कमी भएको संकेत गरिएको छ ।

समिति गठन भएको ५ दिनपछि १७ गते साँझ बुझाएको प्रतिबेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्युपश्चात तत्कालै आएको आवेगको कारण हुन गएको निष्कर्ष निकालिएको जानकारी दिए ।

घटनालगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुंदे कमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव दिइएको छ ।

अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पु¥याउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन पनि प्रतिवेदनमा भनिएको बताए । प्रतिवेदन आउनुअघि नै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

प्रतिवेदनमा स्वास्थ्कर्मी र अस्पताल परिसरमा हुने र हुन सक्नेमाथि घटनामा संलग्नलाई कारवाहीको कानून फितलो भएकोतर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिए पनि १३ गते भएको घटनामा संलग्नहरुलाई कस्तो प्रकृतिको कारवाही गर्नुपर्ने हो वा कुन कसुरमा कारवाही हुने हो भन्ने विषय समावेश गरिएको छैन ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावतसहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाइलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

घटनामा संलग्न रहेका मृतकका भाइहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।


प्रतिक्रिया

One thought on “भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए

  1. This report seems to be suspicious, favouring the culprits. The crime committed by them is extremely of serious nature.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर