सुदूरपश्चिममा कोरोना- एक अंकमा झर्‍यो मृत्युदर, निको हुनेहरू बढे – Nepal Press

सुदूरपश्चिममा कोरोना- एक अंकमा झर्‍यो मृत्युदर, निको हुनेहरू बढे

कैलाली । पछिल्लो कहि दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्दो अवस्था देखिएको छ । सुदूरपश्चिम प्रदेशमा एकै दिन ३१ जना सम्म संक्रमितले ज्यान गुमाएका थिए ।

सबैभन्दा धेरै वैशाख २८ गते ३१ जना र वैशाख ३१ गते प्रदेशमा ३० जना संक्रमितले ज्यान गुमाएका थिए । दुई अंकमा रहेको कोरोना संक्रमितको मृत्युदर पछिल्लो ६ दिन यता एक अंकमा झरेको छ । शुक्रबार प्रदेशमा ३ जनाले मात्रै ज्यान गुमाए । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यो सबै भन्दा कम हो ।

गत मंगलबार ९ जना, बुधबार ५ जना, बिहीबार ९ जना, शनिबार ७ जना र आइतबार ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म प्रदेशमा ४९५ जनाको मृत्यु भएको छ भने, पछिल्लो ६ दिनमा ४१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो अवधिमा मृत्युदर मात्रै होइन संक्रमितहरुको संख्या पनि केहि कम भएको निर्देशनालय तथ्यांकमा उल्लेख छ । मंगलबार प्रदेशमा ५३४ संक्रमित फेला परेका थिए । बुधबार ३१६, बिहीबार ३३२, शुक्रबार ३२४ शनिबार ३४० र आइतबार ३१२ जनामा संक्रमण पुष्टि भयो ।
निको हुनेहरू बढे

सुदूरपश्चिम प्रदेशमा विगतमा भन्दा अहिले कोरोना संक्रमितहरु निको भइरहेका छन् । ६ दिनमा २ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय ३० निको भएका छन् । शनिबार सबै भन्दा धेरै १ हजार ४५ जना निको भए । शुक्रबार ८९३, बिहीबार ५६९, बुधबार ३६२ मंगलबार ६९७ र सोमबार ७० जना निको भए । हाल सम्म प्रदेशमा २३ हजार ७ सय ८१ जना संक्रमण मुक्त भएका छन् ।

अस्पतालमा चाप घट्यो

कैलालीको सेती अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा संक्रमितहरुको उपचार भइरहेका थियो । दुई साता अघि सम्म ती अस्पतालहरूमा बिरामीलाई शय्याको चरम अभाव देखिएको थियो । तर पछिल्लो एक साता यता ती अस्पतालहरूमा पनि नयाँ संक्रमितहरु भर्ना हुने क्रम कम भएको छ ।

सेती अस्पतालका १२२ जना सम्म भर्ना भएका थिए । अहिले ४७ जनाको मात्रै उपचार भइरहेको छ । ‘अहिले धेरै चाप कम भएको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर