स्वास्थ्य सामग्री लिएर सिन्धुपाल्चोकका गाउँगाउँमा पूर्वमन्त्री नेपाल – Nepal Press

स्वास्थ्य सामग्री लिएर सिन्धुपाल्चोकका गाउँगाउँमा पूर्वमन्त्री नेपाल

सिन्धुपाल्चोक । वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले सिन्धुपाल्चोकका स्थानीय सरकारलाई अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

पूर्वमन्त्री नेपालले कोभिडका शंकास्पद विरामीहरुका लागि तत्कालै स्वास्थ्य परीक्षणका लागि एन्टिजेन किट, सर्जीकल मास्क, एन–९५ मास्क, सेनीटाइजर, साबुन, थर्मल गन, अक्सिमिटरलगायत स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

नेपालले बलेफी, जुगल, सुनकोशी, लिसंखुपाखर, त्रिपुरासुन्दरी, भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख÷उपप्रमुखहलाई स्वास्थ्य सामग्री हस्तान्तण गरेका हुन् । पुर्वमन्त्री नेपालले क्षेत्र नम्बर १ का सबै गाउँपालिका र नगरपालिकामै पुगेर स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

विभिन्न संघसंस्था र व्यक्तिहरुले मास्कलगायत अन्य स्वास्थ्य सामग्रीहरु स्थानीय सरकारले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएपनि एन्टिजेन किट भने पूर्व मन्त्री नेपालले पहिलोपटक प्रदान गरेका थिए ।

‘तत्कालै कोभिड भए नभएको पत्ता लगाउन हामीसँग एन्टिजेन किटको अभाव थियो, पूर्वमन्त्री ज्युले ठीक बेलामा हामीलाई दिनु भएको छ, अब स्वास्थ्य परीक्षण गर्न सहज हुने भयो’, एन्टिजेन किट पाएपछि लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले भने ।

सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरु हुनासाथ स्वास्थ्य सामग्री लिएर गृह जिल्लामा आउन खोजेपनि आफ्नै स्वास्थ्यमा समस्या भएको कारण तत्काल नै जिल्लामा आउन नसकेको पूर्वमन्त्री नेपालले बताए । नेपालले भने– ‘पहिलो चरणमा हामीले स्वास्थ्य सामग्री उपलब्ध गराएका छौ, अब खाद्यन्नलगायत अन्य सामग्री पनि सहयोग गर्छौ ।’

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कोरोना रोकथाम नियन्त्रण र सहयोग संकलनका लागि पूर्वमन्त्री नेपालले सहयोग समिति समेत बनाएका छन् । एमाले नेता टपिन्द्र तिमिल्सिना, प्रदिप पौडेल, कृष्ण कार्की, तातोपानी नाकामा व्यापार व्यावसाय गर्दे आएका आङदोर्जे शेर्पा, तिर्थराज पौडेल, दामोदर ढकाल, सागर घिमीरेलगायतको समिति सक्रिय रहेका छन् ।

‘सबैले साथ सहयोग गर्नु भएको छ, हामी यसपछि पनि सहयोग लिएर आउने छौं’, पूर्वमन्त्री नेपालले भने । वागमती प्रदेश सरकार समक्ष आफुहरुको समेत पहलमा अक्सिजन प्लान्ट र पीसीआर मेशिन राख्ने प्रक्रिया सुरु भएको बताउँदै नेपालले प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा सिन्धुपाल्चोकलाई प्राथामिकतामा राख्नका लागि आफू लागि परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर