च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ? – Nepal Press

च्याम्पियन्स लिग फाइनल: पहिलो फाइनलमै चेल्सीविरुद्ध सिटीले मार्ला बाजी ?

काठमाडौं । युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय प्रतियोगिता- युइएफए च्याम्पियन्स लिग, र त्यसको पनि फाइनलमा आज दुई इङ्लिस क्लबहरू चेल्सी र म्यानचेस्टर सिटी भिड्दै छन् । ठूल्ठूला क्लबहरू र राष्ट्रिय लिगका च्याम्पियनहरूका लागि पनि सबैभन्दा ठूलो लक्ष्य भनेको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नु हुन्छ ।

र, झन्डै एक दशकदेखि इङ्लिस फुटबलमा आफूलाई महारथीको रूपमा स्थापित गरेको म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा पुगेको हो । तर, सिटीले आफूलाई इङ्लिस फुटबलमा स्थापित गर्दै गर्दा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग जितिरहेको थियो । म्यानचेस्टर सिटीले पहिलो पटक इङ्लिस प्रिमियर लिग २०१२ मा जितेको थियो । सोही सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको थियो ।

इङ्लिस फुटबलको च्याम्पियन बनेदेखि नै युरोपेली फुटलबको ताज पहिरिन संघर्षरत सिटीले यो वर्ष पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको छ । सन् २००८ मा पहिलो पटक फाइनलमा पुगेको चेल्सी स्वदेशी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो । त्यसको चार वर्षपछि जर्मन महारथी बायर्न म्युनिखलाई उसैको मैदानमा हराएर चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

आजको फाइनल चेल्सीका लागि जति महत्त्वपूर्ण छ, त्यति नै सिटीका लागि पनि ।  सायद अझै धेरै । किनभने, युरोपमा व्यावसायिक फुटबल खेल्ने सबै खेलाडीको अन्तिम इच्छ्या च्याम्पियन्स लिगको मेडल लगाउने हुन्छ । केही ठूला क्लबहरूको प्रभुत्वकै कारण साना क्लबहरूमा अब्बल भएका खेलाडीको पनि अल्टिमेट गन्तव्य रियाल मड्रिड, बार्सिलोना, बायर्न म्युनिख लगायतका क्लब हुने गरेका छन् ।

तर, पछिल्ला केही सिजनहरूमा त्यो क्रम कम हुँदैछ । पछिल्लो तीन सिजनको फाइनल हेर्ने हो भने यो दोस्रो फाइनल हो जसमा दुवै इङ्लिस टोली खेल्दै छन् । यसअघि २०१८/१९ को फाइनलमा लिभरपुल र टोटेनह्याम भिडेका थिए । सो फाइनलमा लिभरपुलले पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई पराजित गरेको थियो ।

गत सिजन जर्मन हेभिवेट बायर्नले पनि पहिलो पटक फाइनल पुगेको फ्रेन्च टोली पेरिस सेन्ट जर्मनलाई पराजित गर्दै उपाधि जितेको थियो । च्याम्पियन्स लिगको फाइनलको अर्को चाखलाग्दो विषय नयाँ टोलीको पहिलो फाइनल पनि हुने गरेको छ ।

२०००/२००१ को सिजन यता हेर्ने हो भने पहिलो पटक फाइनल पुगेका कुनै पनि टोलीले फाइनल जितेका छैनन् । यद्यपि, १९८२ मा इङ्लिस क्लब एस्टन भिल्ला र १९९७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डले भने पहिलो फाइनलमै उपाधि उचालेका थिए ।

पछिल्ला दुई सिजनको नतिजा हेर्ने हो भने पनि नयाँ टोली पहिलो फाइनलमा निराश नै हुनुपरेको देखिन्छ । २०१८ मा टोटेनह्याम पहिलो पटक फाइनलमा पुगेर लिभरपुलसँग पराजित भएको थियो भने गत सिजन पिएसजी बायर्नसँग हारेको थियो । आजको फाइनल चेल्सीका लागि तेस्रो फाइनल अनुभव हो भने सिटीका लागि पहिलो हुनेछ ।

तर, चलाख प्रशिक्षक पेप ग्वार्डिओलाको सिटीले बाजी मार्‍यो भने १९९७ पछि पहिलो फाइनलमै उपाधि जित्ने पहिलो टोली बन्ने छ । तर, पछिल्लो सिजन पिएसजीलाई पनि फाइनलसम्म पुर्‍याएका प्रशिक्षक थोमस टुकेल र पिएसजीका पूर्व कप्तान थिएगो सिल्भा आज चेल्सी टोलीमा छन् । उनीहरू पनि लगातर दुई फाइनलमा पराजय भोग्न चाहँदैनन् ।

प्रिमियर लिगका प्रतिद्वन्दी यी दुई क्लबबीच यो सिजन भएका तीन भेटमा चेल्सीले दुई खेल जितेको छ । प्रिमियर लिगमा दुवै टोलीले अवे खेल जितेका थिए भने एफए कपको सेमिफाइनलमा चेल्सीले बाजी मारेको थियो । यसै सिजन सेमिफाइनलमा हराएको चेल्सीसँग अर्को फाइनलमा पनि हार्नु सिटीका लागि स्वीकार्य हुनेछैन ।

अर्कातिर एफएकपमा लेस्टरसँग पराजित भएको चेल्सी लगातार दुई फाइनलमा हार्न चाहँदैन । इङ्लिस फुटबलको पछिल्लो दशकमा दुई सफल क्लब चेल्सी र सिटीबीचको आजको फाइनल पैसा वसूल हुने निश्चित छ ।

अन्तिम-१६ मा स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध समग्रमा ३-० को जित निकालेको चेल्सी क्वार्टरफाइनलमा पोर्टोविरुद्ध समग्रमा २-१ ले विजयी भएको थियो । सेमिफाइनलमा प्रतियोगिताको सर्वाधिक सफल क्लब रियाल मड्रिडविरुद्ध समग्रमा ३-१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै, अन्तिम-१६ मा बोरुसिया मोन्चेन्ग्लाडबाखविरुद्ध समग्रमा ४-० को जित निकालेको म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा बोरुसिया डर्टमन्डविरुद्ध ४-२ जित निकालेको थियो । त्यस्तै,  सेमिफाइनलमा गत सिजनको उपविजेता पिएसजीलाई हराएको सिटीले चेल्सीसँगको भेट निश्चित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर