बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल, विश्वकप तयारीको अवसर – Nepal Press

बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल, विश्वकप तयारीको अवसर

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ । उक्त सिरिज शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजका लागि दुवै टोलीले टीमको घोषणा गरिसकेका छन् ।

दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक हो । आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा छ ।

वेस्ट इन्डिजले ‘ए’ टीम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ । वेस्ट इन्डिज ‘ए’ टीममा ३ खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन् । ‘ए’ टीम भए पनि वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई टीममा समावेश गरेको छ ।

सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहेको आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टीमबाट एक सयभन्दा धेरै खेल खेलिसकेका रोस्टन चेससम्मलाई वेस्ट इन्डिजले टीममा समेटेको छ । यस्तै वेस्ट इन्डिजका उदाउँदा म्याथ्यु फर्ड, एलिक एथानाज र केसी कार्टी पनि टीममा छन् । त्यसैले वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई सिकाई पनि हुनेछ ।

नेपालले जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने हुने टी–२० विश्वकप खेल्दै छ । उक्त तयारीका लागि नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालका लागि यो तयारी मात्रै हुने छैन, आफ्नो स्तर मापन गर्ने अवसर पनि हुनेछ । किनकि नेपालले टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड र बङ्गलादेशको सामना गर्ने तालिका छ । नेपालले टेस्ट राष्ट्रसँग खेल्ने अवसर कमै पाउँछ ।

विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ । तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन । केही दिनअघि ओमन भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले विश्वकपअघि क्रिकेट समर्थकलाई निराशा बनाएको थियो । नेपाल प्रिमियर कपमा ब्याटिङ, बलिङ परीक्षण गरे पनि सफल हुन सकेको थिएन । उक्त हारबाट आएको निराशालाई चिर्दै विश्वकपअघि आत्मबल बलियो बनाउने अवसर नेपाललाई छ ।

एक दिवसीय क्रिकेटमा भारत र पाकिस्तानसँग खेलिसकेको नेपालले टी–२० मा भने खासै खेल्न पाएको छैन । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालले ओमनमा भएको एसीसी प्रिमियर कप जित्दै भारत र पाकिस्तानसँग टी–२० एसिया कप खेल्ने अवसर गुमाउन पुग्यो ।

वेष्ट इन्डिजसँग पनि नेपालले गत वर्ष एक दिवसीय विश्वकप छनोट खेल खेलेको थियो । उक्त खेलमा नेपाल १ सय १ रनले पराजित भएको थियो ।

यसअघि नामिबिया र नेदरल्यान्डसँग घरेलु मैदानमा सिरिज खेलेको थियो । भारतमा प्रादेशिक टीमसँग टी–२० सिरिज खेलेर एसीसी प्रिमियर कप खेल्न ओमन पुगेको नेपाली टोली शानदार प्रदर्शन गर्न सकेन ।

अहिले वेस्ट इन्डिजसँग खेल्ने टोलीबाट विश्वकप खेल्ने टोलीमा खासै परिवर्तन हुने सम्भावना छैन । तसर्थ पनि विश्वकप अघि यो सिरिज नेपालका लागि स्तर मापन गर्ने अवसर बन्नेछ ।

यस्तै बलिया राष्ट्रसँग खेल्ने आत्मविश्वास पनि बढाउने अवसर नेपाललाई हुनेछ । वेस्ट इन्डिजको सिरिजपछि नेपाललाई तयारीका लागि एक महिनाको मात्र समय बाँकी हुनेछ । हालसम्म यो सिरिजपछिका कुनै खेल तय भएको छैन । तसर्थ यो सिरिज विश्वकपअघि स्तर मापन रहनेछ ।

नेपालले घरेलु मैदानमा वैशाख १५ गतेदेखि घरेलु मैदानमा ५ टी–२० खेल खेल्नेछ । नेपालले पहिलो खेल वैशाख १५ गते, १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आउन लागेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *