भोजपुर गोल्डकप : आयोजक टीमलाई घरेलु मैदानमा स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा – Nepal Press

भोजपुर गोल्डकप : आयोजक टीमलाई घरेलु मैदानमा स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा

टक्सार (भोजपुर) । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघलाई घरेलु मैदानमा हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौंले सेमिफाइनलमा सीट सुरक्षित गरेको छ ।

आयोजक भोजपुरको टीमलाई ३–० गोलले पराजित गर्दे चर्च ब्वाइजले सेमिफाइनल प्रवेश गरेको हो । आजको खेलमा चर्च ब्वाइजका इलारा एस डिक्काले ५औं मिनेटमा पहिलो गोल गरेका थिए ।

यसैगरी जर्सी नम्बर ७ का अबोयोमीले खेलको ११ औँ मिनेटमा दोस्रो गोल र जर्सी नम्बर ११ का नवीन लामाले ७७ औँ मिनेटमा तेस्रो गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच चर्च व्बाइज नवीन लामा बने ।

आइतबारको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी भारतको जर्जियन फुटबल क्लबलाई ४–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ भने सोमबारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलबार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

बिहीबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाडौं र खोटाङ भगवती स्पोर्ट्स क्लबबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

फाइनल खेल यही वैशाख १५ गते हुनेछ । करिब ४९ लाख २५ हजार ५ सय लागतको भोजपुर गोल्डकपमा विजेता र उपविजेताले क्रमशः ५ र ३ लाख पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *