वृद्धभत्तामा एनआइसी एसियाको बदमासी, तीन दिन लाइन बसेर रित्तो हात फर्किए जेष्ठ नागरिक – Nepal Press

वृद्धभत्तामा एनआइसी एसियाको बदमासी, तीन दिन लाइन बसेर रित्तो हात फर्किए जेष्ठ नागरिक

सिन्धुपाल्चोक । जिल्ला प्रशसन कार्यालयले केही दिनदेखि जारी गरेको निषेधाज्ञाले सिन्धुपाल्चोकका सबैजसो बजारहरु सुनसान छन् । सडकमा सुरक्षाकर्मीबाहेक अरु देखिँदैनन् । तर, खाडिचौरस्थित एनआइसी एसिया बैंकअघि लौरो टेकेर वृद्ध बाआमा भने दुई–तीन दिनदेखि निरन्तर लाइन बसिरहेका छन् ।

कहिले दर्के झरी त कहिले टन्टलापुर घामको सामना गर्दै दिनभर उनीहरु सडकमा लाइन बस्छन्, साँझ घर फर्कन्छन्, भोलिपल्ट फेरि लाइन बस्न आइपुग्छन् । उनीहरु यसरी दिनहुँ लाइन बसेका हुन्, सरकारले दिँदै आएको वृद्धभत्ताको रकम लिनका लागि ।

कोरोना संक्रमणको त्रास अनि जोखिम उस्तै छ, बैंकका कर्मचारी पनि झर्कोफर्को मात्रै गर्ने गरेको गुनासो छ, वृद्धवृद्धाहरुको ।

‘दुई दिन भैसक्यो बैंक धाउन खालेको, आज पनि पाउने हो कि होइन टुंगो छैन’, चार घण्टा पैदल हिँडेर भत्ता बुझ्न आएका बलेफी गाउँपालिका–५ बदर्पामा ८० वर्षीय मानबहादुर तामाङ दुखेसो पोख्छन्, ‘भत्ता पाउने आश गर्दागर्दै मरिएला भन्ने पो पिर पर्न थाल्यो ।’

सोही वडाकी ७० वर्षीया लिलामाया थापा पनि तीन घण्टा हिँडेर बैंकसम्म आइन तर कागजपत्र नमिलेको भन्दै बैंकले भत्ता नदिएपछि उनी पनि निराश हुँदै घर फर्किन् ।

पहिलो दिन भत्ता नपाएको र कागजपत्र नमिलेपछि उनीहरु कागजपत्र मिलाउन भन्दै वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा सबै कागजपत्र मिलेको र बैंकमा जानु भनेपछि उनीहरु दोस्रो दिन पनि एनआइसी एशिया बैंक खाडिचौर शाखामा पुगे । तर दोस्रो दिन पनि बैंकले त्यसैगरी फर्काइदियो ।

तीन दिन लाइनमा बस्दा पनि भत्ता नपाएपछि वृद्धावृद्धाहरु निराश हुँदै घर फर्किएका छन् । ‘तीन दिन लाइनमा बसियो तर खै के के मिलेन भन्दै बैंकले भत्ता नै दिएन’ मानबहादुरले भने ।

बलेफी गाउँपालिकाले चैतमा नै सामजिक सुरक्षा भत्ता बैंकहरुमा पठाएपनि कागजपत्र नमिलेको भन्दै बैकले भत्ता नदिएपछि वृद्धाहरु मारमा परेका छन् । लकडाउनको बेला पनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनका लागि बैंकहरुले आफूहरुलाई दुःख दिएको वृद्धाहरुको गुनासो छ ।

बलेफी गाउँपालिकाले सामजिक सुरक्षा भत्ताका लागि गाउँपालिका भित्र रहेका राष्ट्रिय बाणिज्य बैंक र एनआइसी एशिया बैंकसँग सम्झौता गरेको थियो । वडा नम्बर १, २ र ३ का स्थानीयलाई जलविरेमा रहेको बाणिज्य बैंक र ४, ५, ६, ७ र ८ वडाका स्थानीयका लागि बलेफी र खाडिचौरमा रहेको एनआइसी एशिया बैंकले भत्ता प्रदान गर्ने गरी सहमति भएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

बैंकहरुसँगको सहमति अनुसार तीन वडाका स्थानीयले समयमा नै भत्ता पाएपनि बलेफी र खाडिचौरमा रहेको एनआइसी बैंकले भने भत्ता प्रदान गर्न ढिलाई गर्दा आफूहरु नै समस्यामा परेको अध्यक्ष क्षेत्रीले बताए । सामाजिक सुरक्षा भत्ताका लागि गाउँपालिकाले चैत १८ गते बैंकहरुमा भत्ताबापतको रकम १ करोड ४९ लाख ६२ हजार निकाशा गरेको थियो ।

एनआइसी एसिया बैंकले समयमा नै भत्ता नदिएर वृद्धाहरुलाई दुःख दिएपछि गाउँपालिकाले जेठ १ गते एनआइसी एसिया बैंक खाडिचौरलाई पत्र पठाउँदै ‘हालसम्म वितरण गरेको भत्ताको विवरण गाउँपालिकामा पठाउन’ भनेको थियो । गाउँपालिकाले पठाएको पत्रको कुनै जवाफ नदिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

‘गाउँपालिकाको पत्रको कुनै रेस्पोन्स नै भएन’, अध्यक्ष क्षेत्रीले भने, ‘त्यसपछि हामीले अर्काे पनि पत्र पठायौं तर त्यसको पनि रेस्पोन्स भएन ।’ गाउँपालिकाले जेठ ११ गते पनि बैंकलाई पत्र पठाएर गाउँगाउँबाट आएका वृद्धाहरुलाई दुःख नदिन भनेको थियो ।

एनआइसी एसिया बैंकको केन्द्रसम्म पत्र पठाए पनि कुनै सुनुवाइ नभएको अध्यक्ष क्षेत्रीले बताए । समयमा नै भत्ता प्रदान गर्न पटक पटक आग्रह गर्दा पनि नभएपछि बाध्य भएर नेपाल राष्ट्र बैंकलाई समेत गाउँपालिकाले पत्रचार गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘हामीले गर्नुपर्ने सबै निकायमा अनुरोध गरेका थियौं तर जति अनुरोध गर्दा पनि वृद्धाहरुलाई दुःख र झण्झट दिने काम रोकिएन’, अध्यक्ष क्षेत्रीले भने ।

तीन दिनसम्म पनि भत्ता नपाएपछि वृद्धाहरु गाउँपालिकासम्म पनि गुनासो लिएर आएको उनले बताए । ‘घरमै आएर समेत गुनासो गर्नुभयो, बैंकमा उहाँहरुको दुःख यति धेरै छ कि, लकडाउनको समयमा पानी समेत खान नपाइ चर्को घाममा लाइन बस्नुपरेको छ ।’

गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीलाई लिखित र मौखिक रुपमा समेत भत्ता वितरणमा बैंकहरुले अटेरी गरेकाले कार्वाही गर्दै पत्र पठाएको गाउँपालिका अध्यक्ष क्षेत्रीले जानकारी दिए । सामजिक सुरक्षा भत्ता पाउनेहरु बिरामी भएपछि सम्बन्धित व्यक्तिले वारेशनामा दिएर गाउँपालिका र वडाको समेत सिफारिस पठाउँदा पनि बैंकले भत्ता नदिएको बलेफी गाउँपालिका–५ का अध्यक्ष चित्रबहादुर तामाङले बताए ।

सरकारलाई नै टेरेन बैंकले

बै‌कहरुले भत्ता वितरण गर्दा वृद्धाहरुलाई दुःख दिएपछि आफूहरु सबै निकायमा गएपनि बैंकले अटेर गरेको अध्यक्ष क्षेत्रीले गुनासो गरे । ‘स्थानीय सरकार मातहात रहेको बैंकले सरकारलाई नै अटेर गरेको छ, अब हामी दुवै बैंकलाई यहाँबाट फिर्ता जानका लागि निर्देशन दिने तयारीमा छौं’, अध्यक्ष क्षेत्रीले भने, ‘यस्तो लकडाउनको समयमा पनि वृद्धाहरुलाई बैंकले कुनै पनि मानवीय संवेदना समेत देखाएन, यस्ता बैंकहरु हामीलाई अब चाहिएन ।’

एनआइसी बैंक बलेफी र खाडिचौरका प्रबन्धकहरु भने यो विषयमा बोल्न चाहेनन् । ‘हामी बोल्न मिल्दैन, केही भनाइ चाहिने हो भने केन्द्रीय कार्यालयको सञ्चार विज्ञलाई सोध्नुहोला’, बैंकका कर्मचारीहरुले भने ।

यो पनि पढ्नुहोस्

एनआईसी एसिया बैंकको ब्याजदर आतंक, घरकर्जा झण्डै १६ प्रतिशतसम्म ठटाएको भेटियो प्रमाण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर