गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड – Nepal Press

गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

पोखरा । गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । शुक्रबार मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रदेशभरका ७३ पालिकामा प्रति पालिकामा ५/५ लाखका दरले दिने निर्णय गरेको प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

गण्डकी प्रदेशभर ८५ वटा पालिका छन् । बाँकी पालिकामा पनि स्वास्थ्य पूर्वाधारका लागि बजेट माग भएमा तत्काल पठाउने निर्णय भएको न्यौपानेले जानकारी दिए । उनले भने, ‘ उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।’

मन्त्रालयको जिम्मेवार सम्हाल्दै मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री गुरुङले कर्मचारीलाई दोस्रो तथा तेस्रो लहरको कोभिड-१९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिन निर्देशन दिएका छन् । उनले खोप खरिद गरेर गाउँ-गाउँमा पुर्‍याउने र सुरक्षित भण्डार गर्न निर्देशन दिएको न्यौपानेले बताए ।

कोभिड रोकथामका लागि निजी अस्पताल तथा पालिकासँग समन्वय गर्न र प्राविधिक कर्मचारीलाई प्रोत्साहन गरिनुपर्ने मुख्यमन्त्री गुरुङले निर्देशन दिएका छन् । उनले पीसीआर रिपोर्ट २४ घण्टाभित्र उपलब्ध गराउनसमेत निर्देशन दिए । उनले भने, ‘यो संकटको बेला हो, युद्धको बेला हो, सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर