पीसीआर गर्न अस्पताल धाउनुनपर्ने – Nepal Press

पीसीआर गर्न अस्पताल धाउनुनपर्ने

काठमाडौं । अब बिरामी वा व्यक्तिलाई कोभिड-१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।

जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड-२०७८ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पीसीआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पीसीआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । उनले बिरामी भएको वा संक्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पीसीआर का लागि नमूना सङ्कलन गर्ने जनाए । उनले यसरी घरमा नै बोलाएर पीसीआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त ५०० रुपैया लाग्ने बताए ।

अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क र आफूखुशी पीसीआर गराउनेलाई एक हजार रुपैयाँ तथा निजी प्रयोगशालाले दुई हजार रुपैयाँ लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड-१९ पीसीआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ ।

घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ ।

अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पीसीआर परीक्षण गर्ने गरेका छन् ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर