कोरोनाको बिरामीले जनकपुरका अस्पताल भरियो – Nepal Press

कोरोनाको बिरामीले जनकपुरका अस्पताल भरियो

वेड थप्न अस्पतालहरुलाई निर्देशन

जनकपुरधाम । कोभिड–१९ का संक्रमित संख्या ह्वात्तै बढेपछि जनकपुरका अस्पतालमा वेड अभाव भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरले सञ्चालनमा ल्याएको ४० वेडको कोभिड अस्पताल पनि विरामीले भरिएको हो ।

वेड अभावमा भर्ना नलिँदा तीन दिनमै करिब आधा दर्जन व्यक्तिको ज्यान गइसकेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम कोरोनाका विरामीको संख्या अस्वभाविक रुपमा बढेको छ ।

डीसीसीएमसी धनुषाले कोभिड–१९ विरामीको उपचारका लागि सरकारी र नीजि सबै अस्पताललाई वेड थप्न निर्देशन दिएको छ । आज बसेको डीसीसीएमसीको बैठकले प्रादेशिक अस्पतालले ७५ वेड, जानकी मेडिकल कलेजले ६० वेड र नीजि अस्पतालहरुले ४३ वेड तत्काल थप्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार जानकी मेडिकल कलेजमा ६० र निजी अस्पतालहरुले १७५ वेड कोभिड विरामीका लागि छुट्याएर विरामी समेत भर्ना गरेको छ । संक्रमितको संख्या बढ्दै गइरहेकोले उपचारमा समस्या नहोस् भनेर यथाशिघ्र वेड थप्न अस्पतालहरुलाई निर्देशन दिइएको छ ।

यस्तै कोरोना सक्रिय संक्रमितको संख्या पनि तीब्र गतिमा बढिरहेकाले अक्सिजन र भेन्टिलेटरको अभाव हुने निष्कर्ष पनि डीसीसीएमसीले निकालेको छ । आजको बैठकमा अक्सिजन र भेन्टिलेटरहरुको संख्या समेत थप गरी संचालन गर्न गराउन सबै अस्पताललाई भनिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा सञ्चालन गरेको आइसोलेशन बेडहरुमा पनि विरामी राख्नुपर्ने अवस्था सृजना भएको डीसीसीएमसीले जनाएको छ । उक्त आइसोलेशनमा अक्सिजन सपोर्टसहित मेडिकल टिम तयार गरी सञ्चालन गर्न जनकपुरधाम उपमहानगरसँग अनुरोध गर्ने र नपुग भए दक्ष जनशक्ति तथा अन्य प्राविधिक सहयोग प्रादेशिक अस्पताल धनुषाले दिने निर्णय पनि गरिएको छ ।

यस्तै बजारमा अक्सिमिटर, ग्लोब्स, मास्क र केहि महत्वर्पूा औषधीहरुको अभाव भएको गुनासो आउन थालेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताएका छन् । उनका अनुसार अत्यावश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्था सहज बनाई बजारमा अभाव तथा कालोबजारी हुन नदिन जनकपुरधाम उद्योग बाणिज्य संघलाई प्रभावकारी कदम चाल्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।

सोमवार दिउँसो ४ बजेसम्मको तथ्यांक अनुसार नै धनुषामा १४ सय २७ जना सक्रिय संक्रमित छन् । जसमध्ये अधिकांस सक्रिय संक्रमित होम आइसोलेशनमै छन् । अवस्था गम्भीर भएपछि मात्र कोभिड अस्पतालमा राख्ने गरिएको प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर