मास्क नलगाउने ४५ हजार भन्दा बढी कारवाहीमा, ८ हजार २४ जनालाई जरिवाना – Nepal Press

मास्क नलगाउने ४५ हजार भन्दा बढी कारवाहीमा, ८ हजार २४ जनालाई जरिवाना

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७ सय ७७ जनालाई केहि सयम होल्डिङ गरेर सम्झाई बुझाई छोडेको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ८ हजार २४ जनालाई भने संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको नेपाल प्रहरी प्रधान नक्सालले जनाएको हो ।

यस अवधिमा नै १६ हजार ६ सय ६४ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले यस अवधिमा नै ५ सय १८ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभर गरी ६८ हजार ५ सय ६७ जना सहभागी भएका छन् ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण रोक्न नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम मार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर