महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ? – Nepal Press

महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई थाहै नदिई केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट तयार पारेको खुलासा भएको छ ।

लुम्बिनी प्रदेशसभाका चारजना सांसदलाई पदमुक्त गर्न भनी बाबुराम उपेन्द्र पक्षका नेता सहसराम यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा महन्थ पक्ष बाहेकका २६ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर भेटिएको छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २६ जनालाई खाली कागजमा हस्ताक्षर गराएको जसपा स्रोतले जनाएको छ । महन्थ ठाकुरले निषेधाज्ञाको बेला कार्यकारिणी समिति बैठक बस्न नमानेपछि बाबुराम उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर जुटाएर कारवाही गरेको बताइएको छ ।

सोही हस्ताक्षरलाई माइन्यूटमा परिणत गरी अनुशासनको कारवाही र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक अहिलेसम्म नबसेको र बैठक बोलाउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई रहेको बताएका छन् । उनले जसपाको नाममा गरिएको लुम्बिनीको कारवाही फर्जी भएको भन्दै त्यसले कानुनी मान्यता नपाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर