आईसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु, बेड नपाउँदा बिरामीको बिचल्ली – Nepal Press

आईसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु, बेड नपाउँदा बिरामीको बिचल्ली

रुपन्देही । आईसीयू बेड नपाएर शुक्रबार बिहान रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एक दिनदेखि अस्पतालको इमर्जेन्सीमा बसेर आईसीयू बेडको प्रतीक्षा गरे पनि बेड खाली नभएपछि आज बिहान उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल पुर्याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएसँगै बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतमा राखिएको उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमासमेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए ।

कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनिक र इमरर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको हो ।

अघिल्लो साता पनि देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमतीको आईसीयू नपाएर फिबर क्लिनिकमा मृत्यु भएको थियो ।

बेड नपाउँदा बिरामीको बिचल्ली

संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपनि आइशोलेसन अस्पतालमा बेड नहुँदा विरामीको विचल्ली हुन थालेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई आईसियूमा राखी उपचार गर्नुपर्ने भएपनि बेड नभएपछि ज्वरो क्लिनिकमा अक्सिजनको सहारामा राख्न बाध्य भएको विरामीका आफन्तको गुनासो छ ।

बुटवलमा कहीँ कतै बेड नपाएपछि भैरहवाको भीम अस्पतालमा श्रीमतीलाई लगेको गुल्मीका केशव मरासिनीले बताए । ‘यस्तो समयमा पनि सरकारले स्वास्थ्यमा ध्यान नदिए कहिले दिने ?’ उनको प्रश्न छ ।

तीन दिनदेखि दिदीलाई ज्वरो क्लिनिकमा भर्ना गरेका बुटवल बेलबासका गम्भीर लामिछानेले चिकित्सकले आईसियूमा भर्ना गर्न भन्दै दुई दिनअघि नै रिफर गरिदिए पनि बेड नभएपछि क्लिनिकमै राखिएको बताए । श्वास फेर्न गाह्रो भएपछि अस्पताल आउँदा उनको अक्सिजन लेबल घटेर ७६ पुगेको थियो । सोर्स लगाएर भएपनि बल्लतल्ल ज्वरो क्लिनिकमा एउटा बेड पाएर भर्ना गरिएकी उनलाई अहिले अक्सिजन दिएर राखिएको छ ।

कपिलवस्तुका सन्तोष आचार्यले आफ्नो बुवालाई कोरोना पोजेटिभ देखिएपनि अस्पतालमा बेड नपाएका कारण बाध्य भएर घरमा राख्नुपरेको बताए । बुटवलकै शंकर विश्वकर्माले पनि कोरोना संक्रमित दिदी सासुलाई ज्वरो क्लिनिकमा भर्ना गरेका छन् ।

कोरोना संक्रमितको संख्या थपिदै गएपछि लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि नै आकस्मिक कक्ष र स्वाव परिक्षण केन्द्रसंगै रहेको दुईवटा कोठामा ज्वरो क्लिनिकको व्यवस्था गरेको थियो ।

स्थान अभावको कारण सातवटा मात्रै बेड राखिएको ज्वरो क्लिनिकमा अहिले सबै बेड भरिएका छन् । कुनै दिन त एउटै बेडमा दुई जनासम्म संक्रमितलाई राखेर उपचार गर्न बाध्य भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

ज्वरो क्लिनिकका स्वास्थ्यकर्मी इन्द्र राईले कोरोना अस्पतालमा बेड खाली नभएपछि दुईजनालाई एउटै बेडमा राखेर भएपनि उपचार गरिएको बताए । यहां रहेका अधिकांशलाई फोक्सोमा निमोनिया देखिएकोले तत्काल आईसियूमा राखी उपचार गर्नुपर्ने अवस्था रहेको राईले बताए ।

वैशाख महिना लागेसंगै कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ । प्रादेशिक अस्पतालमा दैनिक १ सय जनाको पिसिआर परीक्षण गर्दा ९० जनासम्ममा कोरोना पोजेटिभ रिपोर्ट आउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर