गण्डकीमा माधव पक्षका एक्ला सांसद भन्छन्- मबाट फ्लोर क्रस हुँदैन – Nepal Press

गण्डकीमा माधव पक्षका एक्ला सांसद भन्छन्- मबाट फ्लोर क्रस हुँदैन

पोखरा । कर्णाली प्रदेशमा माधव नेपालपक्षीय नेकपा एमालेको साथ पाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद सुरक्षित गरे । यता गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा छ । कर्णालीमा जस्तै गण्डकीमा पनि फ्लोर क्रस हुन्छ कि भन्ने संशय दुवै पक्षमा देखिन्छ ।

गण्डकीमा माधव पक्षका एक मात्र सांसद हुन् ईन्द्रलाल सापकोटा । उनको एक भोट पनि यतिबेला निकै महत्वपूर्ण छ । यदि उनले फ्लोर क्रस गरेको खण्डमा सरकारलाई समस्यामा पर्न सक्छ । जनमोर्चाका तीनमध्ये एक सांसदले मुख्यमन्त्री गुरुङलाई साथ दिए भने इन्द्रलालको एक भोट निर्णायक बन्न सक्छ ।

नेपाल प्रेससँगको कुराकानीमा भने सांसद सापकोटाले भने आफूले फ्लोर क्रस नगर्ने बताए । आफू नेकपा एमालेको संसदीय दलको सदस्य भएकाले राजनीतिक इमान्दारिता तोडेर अर्को पार्टीलाई साथ नदिनेले उनले प्रष्ट पारेका छन् । प्रस्तुत छ- सापकोटासँग गरिएको कुराकानीः

प्रदेशमा अहिले जुन राजनीतिक घटनाक्रम विकसित भइरहेको छ यसलाई कसरी हेरिराख्नुभएको छ ?

यसमा दुईवटा कुरा हुन्छ । यतिबेला संसदमा अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढिराखेको छ । संसदीय अभ्यासमा यसलाई स्वभाविक ढंगले लिनुपर्‍यो ।

अस्ति (बुधबार) देखि संसदमा ठीकै पद्धतिमा प्रक्रिया अघि बढिराखेको थियो । त्यसलाई त्यही प्रक्रियामा टुंग्याउन सक्नुपर्थ्यो । त्यहाँ कहीं न कहीं समस्या रहे । कसरी उत्पन्न भए भन्ने कुरा तपाईंहरू आफैं विश्लेषण गर्न सक्नुहुन्छ ।

फेरि पनि यसले हाम्रो संसदीय मर्यादालाई बढाउने काम भने गर्दैन । यसलाई दलहरूका बीचमा अर्को सहमति, समझदारी गरेर अघि जान सकिन्थ्यो । संसदलाई कन्टिन्यू गरिनुपर्छ ।

हिजो सभामुखले संसद जसरी स्थगित गरिदिनुभो, उहाँको भूमिकालाई कसरी हेर्नु भएको छ ?

ठ्याक्कै अहिलेचाहिँ केही नभनौं । हिजो संसदमा केही समस्या आयो । त्यसलाई हामी छलफल र संवाद गर्दै दलहरूको बीचमा एउटा सहमति गरेर, कुराकानी गरेर अगाडि बढ्नुको विकल्प छैन । संसद, मतदान स्थगन गर्ने अधिकार सभामुखलाई होला । तर, पनि दलहरूको बीचमा अन्डरस्ट्यान्डिङ गरेको भए त्यसको ओज अझ बढ्थ्यो । तर, त्यसो हुन सकेन ।

संसदीय व्यवस्थाभित्र कहिलेकाहीँ पेचिलो अवस्थामा यस्ता निर्णय हुन्छन् । फेरि पनि, यसलाई अगाडि बढ्न दिनुहुँदैन । बसेर सहमतिका साथ संसद सुचारु गर्ने, एउटा टुंगोमा जानका लागि पहलकदमी लिनुपर्छ भन्ने मेरो मान्यता हो ।

जनमोर्चाका एक सांसदले अविश्वास प्रस्तावलाई ‘धोका’ दिएको खण्डमा तपाईंको एक भोट नै निर्णायक हुने देखियो । तपाईंले फ्लोर क्रस गर्ने सम्भावना के छ ?

नबुझ्या कुरा, मेरो एक भोट कसरी निर्णायक हुन सक्छ ? आजका मितिसम्म म नेकपा एमालेकै संसदीय दलको सदस्य हो नि !

उहाँले धोका दिएको भन्दा पनि संसदमा जे गरिन्छ, सबै पारदर्शी हिसाबले गरिनुपर्छ । चाहे त्यो सहमतिका विषय हुन्, या असहमतिका विषय । मलाई पार्टीका निर्णयहरू चित्त बुझेन भने विद्रोह गर्छु भन्न पनि त पाइन्छ नि ? पार्टीको कारबाही सहन्छु, संसद पद गए पनि जावस् भन्नु पर्दैन
र ?

अब गलत तरिकाले अस्पतालको आईसीयूमा (जनमोर्चा सांसद खिमविक्रम शाही) जानु भा’छ भन्ने त सुनें, भेट्या छैन । उहाँलाई सीघ्र स्वास्थ्य लाभकै कामना गरें । तर, यो विरामी भन्ने कुराचाहिँ राम्रो हाइन ।

उहाँले मेरो पार्टी जनमोर्चाको निर्णय चित्त बुझेन भनेर अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्न सक्नुहुन्थ्यो नि त । त्यसो हुँदा दलले कारबाही गर्छ, संसद पद त्याग्नुपर्‍यो नि त । चिचि पनि पापा पनि गर्नुभएन नि ।

आफ्नै कुरा भनिदिनु न त, तपाईं फ्लोर क्रस गरेर अविश्वास प्रस्तावको पक्षमा भोट हाल्नुहुन्छ कि हाल्नुहुन्न ?

होइन, अहिले म नयाँ सरकारको पक्षमा छैन । अहिले फ्लोर क्रस गर्दिन । म त्यो ठाउँमा पुग्या पनि छैन । अहिलेलाई फ्लोर क्रस गर्दिनँ । कसको पार्टी कारबाही, गतिविधिभन्दा पनि आजका दिनसम्म म एमाले संसदीय दलको सदस्य हो । संसदीय दलकै सदस्यले फ्लोर क्रस गर्न हुन्छ कि हुँदैन भन्ने त बुझिहाल्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर