आईसीयू नपाउँदा नवलपरासीमा एक कोरोना संक्रमित मृत्यु – Nepal Press

आईसीयू नपाउँदा नवलपरासीमा एक कोरोना संक्रमित मृत्यु

कोरोनाका कारण दुई दिनको अन्तरमा बाबु–छोराको निधन

रुपन्देही । कोरोना विशेष अस्पतालमा आईसीयूसहितको शय्या नभएकै कारण पश्चिम नवलपरासीमा एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ ।

पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वास फेर्न कठिन भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेको थियो ।

थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि शय्या अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए ।

डा. होदाले भने, ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभावमै उनको ज्यान गयो । बिरामीको अवस्था कमजोर भएकाले सोमबार नै भैरहवा र बुटवलको कोभिड अस्पतालमा अनुरोध गरे पनि ठाउँ पाइएन,’ उनले भने ।

दुई दिनअघि मात्र उनका बाबुको पनि कोरोनाका कारण घरैमा मृत्यु भएको थियो । नवलपरासीमा दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर