मरेका व्यक्तिको नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ – Nepal Press

मरेका व्यक्तिको नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ

झापा । सम्पत्तिको लागि मान्छे मारेको त सुनिएको हो तर झापामा भने सम्पत्तिकै लागि मरेका व्यक्तिलाई जिउँदो बनाइएको घटना बाहिर आएको  छ ।

झापा बिर्तामोडका मृत्यु भइसकेका एक व्यक्तिलाई जिउँदो बनाएर सम्पत्ति आफ्नो बनाउने गिरोह नै प्रहरी फन्दामा परेको हो ।

केही वर्षअघि मृत्यु भएका बिर्तामोडका टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा हत्याउन संलग्न १० जनालाई प्रहरीले पक्राउ गरि आज सार्बजनिक गरेकोछ ।

उनीहरुको समूहले झापा बिर्तामोड १ स्थित पूर्व-पश्चिम राजमार्गमा जोडिएको मृतक टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर  ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा आफ्नो बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जग्गा ठगी गर्नको लागी बिर्तामोड १० का ७१ बर्षीय देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा झापा बाह्रदशी ३ का मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ नवीन कोइराला, झापा बाह्रदशी ५ का लिलाधर राजवंशी, झापा गौरीगंज १ का बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का भुपदेव कटुवाल रहेका छन् ।

त्यस्तै झापा अर्जुनधारा ५ का लेखनाथ खनाल, झापा बिर्तामोड ४ का गोविन्द वान्तवा, बिर्तामोड १० का देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की रञ्जु राई र मोरङ उर्लाबारी ४ का राजन विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।

उनीहरुले २०७७ असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट बाह्रदशीका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशना बनाइ बिर्तामोड ४ की रञ्जु राईको नाममा माघ २१ गते जग्गा पास गरेको खुल्न आएको छ ।

पक्राउ परेकाहरुलाई ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर