को हुन् टपिन्द्र तिम्सिना ? जसको घर बन्यो प्रचण्ड-माधवको बिसौनी – Nepal Press

को हुन् टपिन्द्र तिम्सिना ? जसको घर बन्यो प्रचण्ड-माधवको बिसौनी

काठमाडौं । एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जानुअघि माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच लगातार बैठक चलिरहेका थिए ।

तर, दुई नेताबीच कोटेश्वरका एकजना व्यवसायीको घरमा भएको बैठक भने चर्चितमात्र भएन, एमालेले माधव नेपाल र भीम रावलमाथि कारवाही गर्नुको एउटा कारण प्रचण्डसँगको साँठगाँठ पनि भनेको छ ।

एमालेले नेपाल र रावलमाथि कारवाहीको पत्र तयार पार्दै गर्दा यी दुवै नेता कोटेश्वरको महादेवस्थाननजिक व्यवसायी टपिन्द्र तिम्सिनाको घरमा प्रचण्डसँगै बसिरहेका थिए । यसअघि पनि प्रचण्ड र माधव नेपाल, झलनाथ खनालहरुबीच वार्ता गराउने घर यही थियो ।

प्रचण्ड र माधव नेपालको रणनीतिक बैठक लगातार उनकै घरमा गरेपछि एकाएक घरधनी टपिन्द्र तिमिल्सिना चर्चामा छन् । बाहिर चर्चा भएजस्तै घरधनी तिमिल्सिना व्यापारी नै हुन् वा पार्टीको नेता त्यो भने धेरै ओझेलमा नै छ ।

हामीले टपिन्द्र तिमिल्सिना को हुन् ? र, उनको घरमा नेताहरू कसरी पुगे भन्ने केही तथ्यहरू फेला पारेका छौं ।

को हुन टपिन्द्र ?

खासाको व्यापारमा संलग्न टपिन्द्र तिमिल्सिना नाम चलेका र कहलिएका व्यापारी/व्यावसायी भने होइनन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ का उनी काठमाडौंको महाबौद्धमा चिनियाँ सामग्रीको होलसेल व्यापार गर्छन् ।

विशेषगरी बच्चाहरूको कपडालगायत चीनबाट आयात हुने अन्य सामग्रीको होलसेल व्यापार गर्दे आएका छन् तिमिल्सिनाले ।

तिमिल्सिना व्यापारीमात्रै भन्दा पनि राजनीतिक रुपमा आफ्नो परिचय गराउन चाहन्छन् । आफू कहलिएको उद्योगपति र व्यापारी केही नभएको भन्दै उनले नेताहरूले छलफल गर्न आफ्नो घर छानेपछि मिडिया (नेपाल प्रेस) ले चर्चामा ल्याइदिएको बताउँछन् उनी ।

तिमिल्सिनाको महाबौद्धमा होलसेल छ ।

२०४६ सालदेखि तत्कालीन नेकपा मालेमा संगठित भएका तिमिल्सिना एमालेमा लामो समयदेखि आवद्ध भएपनि उनले २०६६ सालमा मात्रै संगठित सदस्यता प्राप्त गरेका थिए ।

पार्टीमा सक्रिय नभएपनि एमालेनिकट व्यापारिक संगठनमा भने उनी सक्रिय थिए । व्यापारिक क्षेत्रबाट एमालेको राजनीतिमा सक्रिय भएपछि तिमिल्सिनालाई तत्कालीन नेकपा एमालेले २०७४ सालमा जिल्ला कमिटी सदस्यमा मनोनित गरेको थियो ।

२०६४ र २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचन परिचालन कमिटीमा रहेर सक्रिय राजनीतिमा आएपछि भने तिमिल्सिना त्यसयता व्यापारभन्दा पनि एमाले र त्यसपछि नेकपा सिन्धुपाल्चोकको राजनीतिमा थिए ।

अहिले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारी निर्वाह गरिरहेको र व्यापारभन्दा पनि एमालेको राजनीतिमा नै सक्रिय भएर लागेको उनले नेपाल प्रेससँग बताए ।

सुनकोशी गाउँपालिकाका तीन वडामा मात्रै एमालेले वडा अध्यक्षमा चुनाव जित्दा उनको वडा सुनकोशी-७ मा समेत वडामा चुनाव जिताउनका लागि सक्रिय भएर लागेका थिए । एमाले र माओवादी केन्द्र एक भएपछि उनी जिल्ला कमिटीमा मनोनीत नभइ बागमति प्रदेश कमिटीमा सिफारिस भएका थिए ।

माधव नेपालसँगको चिनजान

एमाले नेता माधव नेपालको कोटेश्वरमा रहेको घर र तिमिल्सिनाको भाइको घरसँगै रहेको छ । नेपालको र उनको भाइको घरसँगै भएपछि २०६५ सालदेखि नेपालसँग तिमिल्सिनाको चिनजान र घरमा आउने जाने क्रम चलेको बताए । नेपालका स्वकीय सचिव पौडेल थरको भएको र आफ्नो ससुराली पनि पौडेलहरू नै भएकाले त्यसपछि नेपालसँग झन निकटता भएको तिमिल्सिनाले बताए ।

केही महिनाअघि तिमिल्सिनाको छोराको मोटरसाइकल दुर्घटनामा निधन भएपछि शोकमा रहेका उनलाई भेटघाट गर्नका लागि नेता नेपाल घरमा आएका थिए ।

त्यही बेला नै नेपालले ‘ल हामी यसो कहिले काँही बस्नु पर्दा तपाँइको घरमा आउछौं है’ भनेर निस्केका थिए ।

‘त्यसपछि उहाँहरु मेरो घरमा आउनु भएको हो’ तिमिल्सिनाले नेताहरु आफ्नो घरमा आउनुको भित्री रहस्य खोले ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भने सिन्धुपाल्चोकमा जाने क्रममा सामान्य चिनजान भएको र पछि आफ्नै घरमा आएपछि मात्रै निकटता भएको उनले बताए ।

क्याम्प चेन्ज

तिमिल्सिना व्यापार व्यावसाय सँगै राजनीतिमा संलग्गन भएपनि उनी शुरूदेखि नै सिन्धुपाल्चोकका एमाले नेता सरेश नेपालसँग निकट थिए । नेपाल सुरुदेखि नै एमाले अध्यक्ष केपी शर्माओलीसँग निकट थिए ।

पाग्रेटारकै अर्का नेता अरुण नेपाल शुरूदेखि नै माधव नेपालसँग निकट थिए । आफ्नै गाउँका दुइ नेता र एउटै पँधेरोको पानी खाएकाहरू फरक-फरक क्याम्पमा हुँदा तिमिल्सिनालाई पनि समस्या नभएको होइन तर पछिल्लो निर्वाचनमा तिमिल्सिना अरुण नेपालसँग निकट भए ।

आर्थिक होइन पारीवारिक सम्बन्ध

आफ्नो घरमा आएर नेताहरु बैठक बस्न थालेपछि धेरैले नेताहरुसँगको सम्बन्धलाई लिएर नकारत्मक चर्चा गरेकोमा तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् ।

उनले भने–मलाई नेताहरुसँग निकट भएर आर्थिक लाभ लिनु छैन र म ठेक्कापट्टा लगायत अन्य कारोबारमा संलग्न नै छैन । नेताहरुसँगको सम्बन्ध आर्थिक भन्दा पनि पारिवारीक रुपमा मात्रै हो । मेरो पसल छ,अरुको पसल अलि सानो होला,मेरो अलि ठुलो छ फरक यती मात्रै हो ।

स्वागतमा कालो चियामात्र

एक साताबीचमा माधव नेपाल, पुष्पकमल दाहाल सहितका नेताहरु दुई पटक तिमिल्सिनाको घर  पुगेका थिए । उनीहरुला मा आएपनि तिमिल्सिना भने दुवै पटक घरमा थिएनन् । उनीहरुलाई आफूले घरमा कालो चिया मात्रै खुवाएको तिमल्सिनाले बताए ।

‘मेरो श्रीमतीले उहाँहरुलाई चिया दिनुहुन्छ, त्यो बाहेक केही खानु भएको छैन’, तिमिल्सिनाले भने ।

माधव नेपालसँगको व्यक्तिगत भेटघाटमा भने आफूले पार्टीका नेताहरु एक हुनुपर्ने सुझाव दिने गरेको उनले बताए ।

यो पनि पढ्नुहोस् :-

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर