माधव कमरेड, क्षति मात्रै हुने टक्कर किन गर्नुहुन्छ ?

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेकपा त यतिबेला अस्तित्वमा छैन तर नेकपाभित्र रोपिएको विभाजन, अविश्वास र तिक्तताको बाछिटा एमालेभित्र सघनरुपमा पर्ने देखिन्छ । केही दिनअघि मात्र बुटवलमा एक कार्यक्रममा बोल्दै प्रचण्डले माधव नेपाल समूहलाई असहज हुने गरी गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

सोही कार्यक्रममा उनले माधव नेपाल समूहले एमालेभित्र विद्रोह गर्ने बताए । त्यसअघि नेपाल समूहले आफू निकट केन्द्रीय र स्थायी कमिटीको बैठक बोलाइ ओली प्रवृत्तिविरुद्ध सामूहिक रुपमा लड्ने उद्घोष गरेका थिए । साथै नेपाल पक्षले पार्टी बैठकको समेत माग गर्ने निर्णय गरेको थियो । पूर्ववतः अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल समूह पेरिसडाँडाबाट भारी मनका साथ विदावारी भएका थिए ।

एमाले अस्तित्वमा आएपछि बहुमतसहित पार्टी संस्थापनको भूमिकामा रहेको ओली समूह अर्को खेमाका नेताहरू विगतका तिक्तता छोडेर पार्टीमा क्रियाशील रहने अपेक्षामो थियो । तर आफू निकट केन्द्रीय सदस्य र स्थायी कमिटीको बैठक राखी नेपाल समूहले एमालेमा नेकपाको विवाद रहन सक्ने सन्देश मात्र दिएनन्, आफ्नो हैसियत समेत देखाउने गरी राजनीतिक सन्देश प्रवाह गर्न खोजे । यसले निश्चय नै ओली पक्षलाई सशंकित बनायो ।

त्यसै पनि सर्वोच्चको २०७७ फागुन २३ गतेको निर्णयपश्चात् विजय र उत्साहको अनुभूति गरेका ओली पक्ष पेरिसडाँडाबाट विदावारी भएका नेपाल समूहप्रति सकारात्मक थिएन । देशभर एमाले पार्टी कार्यालय खोल्नमा ओली पक्षले गरेको हतारो, नेकपामा जस्तै आधिकारिक बैठक अगावै अन्यत्रै गुटको बैठक गरी पार्टी एजेण्डा सेट गर्ने र त्यसलाई लागू गर्ने अभ्यासमा अभ्यस्त माधव समूहले राखेको गुटको बैठक दुवैले सकारात्मक संकेत गरेको थिएन । तथापि ओली पक्षले संस्थापनको हैसियतमा ब्यूँतिएको पार्टीको बोर्ड, ब्यानर र पार्टी कार्यालय खोल्नु अन्यथा थिएन ।

लामो समयको घेराबन्दी, संसद पुनःस्थापना भएपछि भोग्नुपरेको पराजयले सिर्जना गरेको असहजता र लघुताभाषमा रहेका ओली समूहका कार्यकर्तालाई अदालतको निर्णयले विजय भाव पैदा गरेको थियो । प्रचण्ड–माधव समूहको बहुमतको आडमा झण्डै पार्टीविहीन अवस्थामा पुगेका ओलीको पार्टी संस्थापनको भूमिकामा भएको उदयले नेपाल समूहलाई असमाञ्जस्य अवस्थामा पु¥याएको थियो ।

त्यसअघि नेपाल समूह एमालेको ठुलो हिस्सालाई बाहिरै राखेर प्रचण्डसँग मिलेर एकता बचाउने अभियानमा थिए । यद्यपि एकताको एउटा प्रमुख व्यक्ति, हस्ताक्षरकर्ता, एमाले अध्यक्ष ओली र उनको समूहलाई बाहिरै राखेर हुने एकता सम्पूर्णतामा नभई अंशमा हुने एकता नै थियो ।

एमाले विभाजन गरी माओवादीमा मिलाउन माधव समूह तयार थियो । त्यसक्रममा आफ्नै सहयोद्धा र कार्यकर्ताहरूको एउटा ठुलो हिस्सा बाहिर परेकोमा नेपाल समूहलाई कुनै अफसोच थिएन ।

प्रचण्डसँग मिलेर नेपाल समूहले ओली र उनको समूहलाई लगाएको लाञ्छना अब ओली सकिने र बहुमतको आडमा सक्काउछौं भन्ने कुन्ठित मनसायबाट अभिप्ररित थियो । यस्तो पृष्ठभूमिमा अदालतले माओवादी केन्द्र र एमाले व्यूँताइदियो । जसको पहिलो झड्का नेपाल समूहमै लाग्यो । किनकि ओलीकै नेतृत्व स्वीकार गरी हिँड्नुको विकल्प थिएन ।

पहिलो गाँसमै ढुङ्गा

नेकपा एमाले अस्तित्वमा आएपश्चात कैलालीमा लेखराज भट्ट र भीम रावल समूहको कार्यकर्ताबीच झडप भयो । २०७३ जेठ ३ अघि पार्टी प्रदेश इञ्चार्जको भूमिकामा रहेका रावलको सट्टा भट्टको ‘नेम प्लेट’ राख्ने विषयमा कार्यकर्ताबीच भएको विवाद झडपमा परिणत भएको थियो ।

उता नेपाल समूहले काठमाडौंमा गरेको गुटको भेलाले सकारात्मक संकेत गरेको थिएन । साबिक नेकपामा दुई अध्यक्षको सहमतिमा मात्र पार्टी निर्णय हुने व्यवस्था विपरीत बहुमतको आडमा पेलानमा पारिएका ओलीले दुवै सन्दर्भमा कुनै प्रतिकृया दिएका थिएनन् । एमाले केन्द्रीय कमिटी र पार्टी संसदीय दलमा समेट स्पष्ट बहुमतमा रहेका ओलीले केही न केही कदम चाल्ने अनुमान थियो ।

नेपाल समूहको कदम हेरेर बसेका ओलीले यसैबीच माओवादी केन्द्रका २३ जनालाई पार्टी केन्द्रीय सदस्य मनोनित मात्र गरेका छैनन्, माधव समूहका नेताको जिम्मेवारी खोसेका छन् ।

नेपाल र ओलीको रणनीति

ओलीले एकतर्फी रुपमा जिम्मेवारी खोसेपछि नेपाल समूहको बैठकले समानान्तर कमिटी निर्माणमा जोड दिने भएको छ । समानान्तर गतिविधिमार्फत् ओलीलाई दबाब श्रृजना गर्ने नेपाल समूहको प्रष्ट उद्देश्य देखिन्छ । यद्यपि, समानान्तर गतिविधि स्वयम् नेपाल समूहका लागि प्रत्युपादक हुनसक्छ ।

पार्टीभित्रको वर्तमान शक्ति सन्तुलनमा कमजोर रहेको नेपाल समूहलाई आफ्नै बोली गलपासो हुने सम्भावना बढेको छ । ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्यसमेत बाट हटाएका नेपाल–खनालहरूलाई ओलीले पार्टीविरुद्ध गतिविधि गरेको अभियोगमा कारबाही गरेमा कुनै आश्चर्य नहोला ।

पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा आवश्यक ४० प्रतिशत मत नेपाल समूहसँग छैन । यसआधारमा नेपाल समूहको गतिविधि जति चर्को हुँदै जान्छ, ओलीले क्रियाको प्रतिकृया सोहीअनुसार दिने निश्चित छ ।

एमालेमा कसको शक्ति कति ?

ओलीले नेपाल समूहले नेतृत्व गरेका जिल्लाहरूमा आफूअनुकूल पार्टी कमिटी निर्माण गरिसकेका छन् । साबिक नेकपामा रहँदा ओली समूहसँग माओवादीको सानो हिस्सा मात्र साथमा थियो भने बहुसंख्यक एमाले पृष्ठभूमिका थिए । ओलीले पनि एमाले पंक्तिनै आफूसँग धू्र्रविकृत गर्न खोजेका थिए ।

नेपाल समूह भने प्रचण्डसँग एकाकार भएकोले उनको स्ट्रेन्थ माओवादीको मूल हिस्सा थियो । यसर्थ ओलीको स्ट्रेन्थ मूलभुतरुपमा एमाले पंक्ति नै थियो । यति हुदाँहुँदै ओली एक्लैले अर्कोतिर तीनतीन जना पूर्वप्रधानमन्त्री र बहुमत हुदाँहुँदै आफ्नो आमसभाहरूमा व्यापक जनसमर्थक प्राप्त गरेको थियो ।

त्यो मत र समर्थनको अद्यावधि छँदैछ तर माधव नेपालको स्टेन्थको रुपमा रहेको माओवादी पंक्ति नेपालसँग छैन । यसर्थ ओली पार्टीभित्रको अंक गणितको आधारमा मात्र होइन, राजनीतिकरुपमा समेत बलियो छन् ।

माओवादी नरुचाउने र सम्मानजनक एकता नभएको टिप्पणी गर्ने कार्यकर्ता समेत यतिबेला ओलीसँग छन् भने माओवादीबाट आएका बादल–लेखराजहरूको समूह पनि ओलीसँग छ । पार्टीभित्र र संसदीय दल दुवैतिर प्रष्ट बहुमतमा रहेका ओलीको पक्षमा नेपाल समूहका केही संसद र केन्द्रीय सदस्यहरू समेत थपिने छन् । संसदहरूको लागि पनि ओलीविरुद्ध उभिँदा जनप्रतिनिधिको हैसियत गुमाउनुपर्ने अवस्था भन्दा मिलेर जाने विषय नै रुचिकर हुनसक्छ ।

सहमतिको संम्भावना कति ?

नेपाल समूहले २०७३ जेठ ३ पूर्वको पार्टी कमिटीहरू यथावत रहनुपर्ने बटमलाइन अघि सारेको छ । नयाँ सरकार निर्माणको सन्दर्भमा एमालेले माओवादीलाई समर्थन गर्नसक्ने देखिँदैन । उता प्रधानमन्त्रीबाट ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउन तत्पर भएको माओवादीले समर्थन गर्ने अवस्था छैन ।

संसदीय दलमा बहुमतमा रहेका ओलीले आफूलाई साबिक नेकपाको अध्यक्ष र पार्टी साधारण सदस्यबाटै हटाएका नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने सम्भावना पनि छैन । यसर्थ नेपाल समूहले उठाएको बामपन्थी सरकार र अन्य प्राविधिक विषयहरू फेस सेभिङका लागि मात्र उठाइएका हुन् । यो नेपाल समूहको अडान र प्राथमिकताका विषय होइन ।

अर्कोतर्फ ओली समूहले विगतका तिक्ततालाई बिर्सिएर नयाँ ढंगबाट अघि बढ्न नेपाल समूहले आत्मआलोचना गर्नुपर्ने विषय प्रधान बनाएको देखिन्छ । आत्मालोचना गरे विश्वासको वातावरण बन्ने र जिम्मेवारीको विषय सोच्न सकिने ओली समूहको आशय बुझ्न सकिन्छ ।

साबिक नेकपामा प्रचण्ड–नेपाल समूहले अभ्यास गरेको पार्टी बैठक अगावै गुटको बैठक बसी ऐजेण्डा सेट गर्ने र त्यसै ऐजेण्डालाई पार्टी ऐजेण्डाकोरुपमा अगाडि सार्ने प्रवृत्ति अब एमालेमा दोहोरिनु हुँदैन भन्ने ओली सचेत छन् । माओवादीसँगको अति निकटता पनि स्वभाविक रुपमा ओली समूहका लागि प्रियकर छैन ।

पुरानै अवस्थामा पार्टी आएपछि नेपाल पक्षको कदम गहिरोसँग नियाली रहेका ओलीले नेपाल लगायतका नेताहरूको जिम्मेवारी खोस्ने निर्णयमा पुग्नुमा पेरिसडाँडाबाट विदावारी हुनु र फर्किएर आफ्नो गुटको बैठक राख्नुनै तत्कालिक कारक भए पनि साबिक नेकपा रहँदा बहुमतका नाममा ओलीको हुर्मत लिन गरिएका सम्पुर्ण गतिविधि र त्यसबाट र्सिर्जित अविश्वास नै हो । नेपाल समूहले आत्मालोचना गरे परिस्थिति सहज बन्ने र पार्टी अध्यक्षको रुपमा ओलीले पनि साबिक अवस्थामै एमालेका पार्टी कमिटीलाई फर्काउने निर्णय गरेमा पार्टी सहमतिका साथ अघि बढ्ने देखिन्छ ।

आगामी परिदृश्य

फागुन २९ गते अनेमसंघको कार्यक्रममा ओलीले चैत्र ७ गतेको बैठकमा आउन नेपाल समूहलाई आह्वान गरे । उता नेपाल समूहले त्यसअगावै आफ्नो रणनीति बनाउन राष्ट्रिय भेला राख्ने निर्णय गरेको छ । त्यसअघि नेपाल समूहले देशभरि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरेको थियो ।

यदि नेपाल समुहले समानान्तर कमिटी बनाएमा र ७ गतेको बैठकमा पनि अनुपस्थित भएको अवस्थामा पार्टीले स्पष्टीकरण माग्न सक्छ र आवश्यक कारबाही अगाडि बढाउन सक्छ । ठ्याक्कै साबिक नेकपामा ओलीलाई अध्यक्ष र साधारण सदस्यबाट हटाइएकै जस्तो अवस्थामा नेपाल–खनाल पुग्न सक्छन् ।

पार्टीको वैधानिकता र बहुमत समेत आफूसँग रहेकोले यो कदम चाल्न ओलीलाई त्यति असहज हुने छैन । अनेमसंघको भेलामा पार्टी बैठकमा नआउनेलाई विधान बमोजिम गरिने भन्दै ओलीले यसैतर्फ संकेत गरे । त्यसो त दुवै पक्ष आगो–आगो भएर नेकपा एमालेभित्र गहिरिँदो संकट र अविश्वास टर्ने देखिँदैन ।

त्यसो हुदाँ पार्टी विभाजनको तहसम्म पुग्न सक्छ तर यो विभाजनले सबैभन्दा बढी क्षति नेपाल समूहलाई हुने देखिन्छ । विभाजित हुने अवस्थामा नेपाल समूहले अर्को पार्टी खोल्नुपर्ने वा अर्को पार्टीसँग मिल्नुपर्ने हुनसक्छ । यसतर्फ मध्यनजर गर्दै तत्कालको लागि जेजस्तो परिस्थिति आइपरे पनि समानान्तर गतिविधिमार्फत् दबाब सिर्जना गर्ने नेपाल पक्षको रणनीति बाहिर आइसकेको छ ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आधार मान्ने हो भने पार्टी विभाजित हुने अवस्थामा नेपाल समूहको रोजाइ प्रचण्डसँगै रहने हुनसक्छ । स्मरणीय छ, प्रचण्डले बुटवलको एक कार्यक्रममा माधव समूहलाई पिन्च नगर्न र उक्त समूहले एमालेमा विद्रोह गर्ने बताएका थिए ।

अन्त्यमा,
नेकपा बदर भएता पनि नेताहरुबीचको तिक्तता नमेटिएको अवस्थामा दुवै पक्ष संयमित भएर अगाडि बढ्न जरुरी छ । सग्लो एमालेका लागि दुवै पक्ष आगो भएर होइन, एउटा आगो हुदाँ अर्को पानी हुनुपर्ने आवस्था छ । नेपाली कम्युनिष्ट आन्दोलन र स्वयम् एमालेकै उज्यालो भविष्यका लागि को आगो बन्ने ? को पानी बन्ने ? आम जनता र कार्यकर्ताले हेरिरहेका छन् । यसको इतिहासले हिसाबकिताब गर्ने नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *