युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड – Nepal Press

युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

एजेन्सी । युरोपा लिगको अन्तिम–१६ अन्तर्गतका खेलहरुमा इंग्लिस टोलीहरु टोटनह्याम र आर्सनलले पहिलो लेगमा आरामदायी जित हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड भने इटलीको एसी मिलानसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

टोटनह्यामले आफ्नै मैदानमा क्रोएसियाको डाइनामो जग्रेवलाई २-० ले हराएको हो । उसका लागि दुवै गोल ह्यारी केनले गरे । केनले हरेक हाफमा एक एक गोल गरे । दुईबीचको दोस्रो लेग अर्को साता हुनेछ ।

आर्सनलले भने ग्रीसको ओलम्पियाकोस पियरुसलाई उसकै मैदानमा ३-१ गोलले हरायो । यो अवे जितले आर्सनलको क्वाटरफाइनल प्रवेश निश्चितजस्तै बनेको छ ।

पाहुना टोलीका लागि मार्टिन ओडेगार्डे ३४ औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो । ५८औं मिनेटमा ओलम्पियाकोसका लागि युसुफ एल अरेबीले बराबरी गोल फर्काएका थिए ।

तर ७९ औं मिनेटमा गाव्रियल मागालेस र ८५ औं मिनेटमा मोहम्मद एनलीले सानदार अवे गोल गरेपछि आर्सनलले आरामदायी जित निकाल्यो । दोस्रो लेग अर्को साता हुनेछ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै मैदान ओल्ड ट्राफोटमा इटलीको एसी मिलानसँग बराबरी खेलेपछि युरोपा लिगको क्वाटरफाइनल प्रवेश कठिन बन्ने देखिएको छ ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको सुरुमै अमाद डियाल्लोको गोलमार्फत घरेलु टोलीले अग्रता बनाएको थियो ।

जिततर्फ उन्मुख म्यानचेस्टरलाई स्तब्ध पार्दै खेलको इन्जूरी समयमा सिमोन जारले एसी मिलानका लागि महत्वपूर्ण अवे तथा बराबरी गोल फर्काए । यी दुईले पनि दोस्रो लेग अर्को साता खेल्नेछन् ।

गएराति भएका खेलहरुमा नेदरल्याण्ड्सको आयाक्सले स्वीटजरल्याण्ड्सको योङ ब्वाइजलाई ३-०, स्पेनको भिल्लारियलले युक्रेनको डाइनामो किभलाई २-०, इटलीको रोमाले युक्रेनको शख्तर डोनेस्कलाई ३-०, स्पेनको ग्रेनाडाले नर्वेको मोल्डेलाई २-० गोलले हरायो । चेल रिपब्लिकको साल्भिया प्राहा र स्कटल्याण्डको रेन्जर्सले १-१ गोलको बराबरी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर