जुरे पहिरोपीडित आन्दोनलमा, कोषमा जम्मा भएको रकम पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन – Nepal Press

जुरे पहिरोपीडित आन्दोनलमा, कोषमा जम्मा भएको रकम पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । आफूहरुको नाममा जनस्तरबाट संकलन भएको रकम तत्काल पाउनु पर्ने माग राख्दै सिन्धुपाल्चोकका जुरे पहिरोपीडित आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्वरुप उनीहरु शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

बलेफी गाउँपालिकाको आयोजनामा भएको विरोध प्रर्दशन र धर्ना कार्यक्रममा जुरे पहिरोपीडितहरु बस रिर्जभ गरेरै राजधानी आएका थिए । २०७१ साउन १७ गते साविकको मांखा गाविसको इटनी भिरबाट झरेको पहिरोले १ सय ४५ को मृत्यु भएको थियो भने सयौं विस्थापित भएका थिए । जुरे पहिरो पीडितका लागिस्वदेश र विदेशबाट २ करोड २४ लाख रुपियाँ सहयोग जम्मा भएको थियो ।

आफूहरुको नाममा जम्मा भएको रकम सात वर्षसम्म पनि नआएपछि आन्दोलन गर्न बाध्य भएको जुरे पहिरोपीडित कृष्ण तामाङले बताए ।

माइतीघरको धर्ना कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसहित जनप्रतिनिधिहरुको सहभागीता थियो । बलेफी गाउँपलिकाको कार्यपालिका बैठकले जुरे पहिरोपीडितको नाममा संकलन भएको रकम पीडितहरुलाई प्रदान गर्नका लागि भन्दै केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

माइतीघरको धर्ना कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अबको तीन साता भित्र केन्द्र सरकारले पीडितको नाममा जम्मा भएको रकम फुकुवा गरेर नदिए केन्द्र सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।

‘हामीले सरकारको पैसा मागेको होइन, पीडितहरुको नाममा जम्मा भएको रकम मात्रै दिनुहोस् भनेर भन्दा पनि नदिएपछि बाध्य भएर गाउँपालिकाको अगुवाइमा नै आन्दोलन सुरु गरिए हो’, क्षेत्रीले भने ।

धर्ना कार्यक्रममा डाक्टर गोविन्द केसीले समेत सहभागिता जनाएका थिए । एक महिना अघि सिन्धुपाल्चोक आएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक साता भित्र रकम फुकुवा गरी पीडितलाई वितरण गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर