प्रदेश १ मा यस वर्ष मात्रै १६ स्थानमा बिओपी स्थापना – Nepal Press

प्रदेश १ मा यस वर्ष मात्रै १६ स्थानमा बिओपी स्थापना

यसै वर्षभित्र २६ वटा वीओपी स्थापना गर्ने लक्ष्य

विराटनगर । सशस्त्र प्रहरी बलले प्रदेश १ सँग सिमाना जोडिएका चीन र भारतका सिमावर्ती क्षेत्रमा बोर्डर अब्जर्भेसन पोष्ट (बिओपी) स्थापना गर्ने कार्यलाई तिब्रता दिएको छ ।
दुई देशबीचको खुला सीमानामा नेपालतर्फ सुरक्षा पोष्ट कमी महशुस गरिएपछि सशस्त्र प्रहरी बल नेपालले प्रदेशको चीन र भारततर्फको सिमावर्ती क्षेत्रमा बिओपी स्थापनाको कामलाई तिब्रता दिएको हो ।

खुला सीमानालगायत स्तम्भको सुरक्षा र निगरानीका लागि भारतको विहार, पश्चिम बंगाल र चिनतर्फको सिमावर्ती क्षेत्रमा चालु आर्थिक बर्षभित्र २६ वटा वीओपी थप्ने कार्य भईरहेको छ ।

सकारको योजना अनुसार प्रदेशका पहाडी र हिमाली जिल्लामा विओपी थप्ने काम भइरहेको शसस्त्र प्रहरी बल नेपाल १ नं प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआईजी) बंशीराज दाहालले बताए । उनले प्रदेशमा स्वीकृत सबै स्थानमा यसै वर्ष भित्र बिओपी स्थापना गरिसक्ने लक्ष्यका साथ कामले तिव्रता पाएको बताए ।

‘उत्तरी छिमेकी देश चिनतर्फको हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा यही बर्ष विओपी थप्ने काम सम्पन्न भएको छ ’डिआईजी दाहालले भने, ‘हामी चालू आर्थिक वर्षभित्रै प्रदेशभरीमा स्वीकृत केन्द्रमा बिओपी स्थापना गरिसक्ने छौ । ’विओपी थप्ने कामले सीमा स्तम्भ र दशगजा क्षेत्रको नियमित रेखदेख र सुरक्षा गर्ने कामलाई मद्दत पुग्नेछ ।’

डिआईजी दाहालका अनुसार १ नं प्रदेशमा स्वीकृत २६ स्थानमध्ये अहिलेसम्म १६ स्थानमा बिओपी स्थापना भईसकेको छ । २ वटा भन्सार गुल्मलाई विओपीमा रुपान्तरण गरिएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतको पश्चिम बंगाल राज्यसग सिमाना जोडिएको पहाडी जिल्ला इलाममा पाँच, पाचँथरमा चार, पश्चिम बंगाल र विहार राज्यसंग सिमा जोडिएको झापामा चार र विहार राज्यसंग सिमा जोडिएको मोरङ र सुनसरीमा एक-एक तथा चिनसंग सिमा जोडिएको हिमाली जिल्ला ताप्लेजुङमा एक विओपी स्थापना भएको छ ।

यही वर्षभित्र इलाममा एक झापामा पाँच र मोरङका दुई स्थानमा विओपी थप्ने काम पुरा हुने सशस्त्र प्रहरीका १ नं प्रदेश प्रमुख दाहालले जानकारी दिए ।

शसस्त्र प्रहरी बल नेपाल १ नं प्रदेश बराह बाहिनीका अनुसार पाँचथरको याङ्वरक गाउँपालिकास्थित चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकास्थित भैंसे सुर्केथाम तथा इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकास्थित सलकपुरमा बिओपी स्थापना भईसकेको छ ।

यसै वर्षभित्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित मौवाटार, पाँचथरको फालेलुङ गाउँपालिकास्थित चारराते र गोरुवाले भञ्ज्याङ, इलामको सन्दकपुर गाउँपालिकास्थित कालपोखरी तथा जौवारी, सूर्योदय नगरपालिकाको छब्बिसे र माने भञ्ज्याङमा बिओपी स्थापना हुनेछन् ।

यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी, झापा गाउँपालिकाको पन्थपाडा, मेचीनगर नगरपालिकाको तिरीङ र नकलबन्दा र ज्यामिरगढी, गौरीगञ्ज गाउँपालिकाको आमगाछी, भद्रपुर नगरपालिकाको छोटी भन्सार कार्यालय र महेशपुर किच्चकवधमा बिओपी स्थापना गर्ने योजना छ ।

सरकारले भारत र चिनसंग सिमा जोडिएका नेपाली भू–भागमा हुने सीमा स्तम्भ र दशगजा क्षेत्रको नियमित रेखदेख र सुरक्षाका साथै अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरी तस्करी नियन्त्रणका लागि विओपी थप्ने योजना सारेको थियो ।

प्रदेशमा हाल चीनतर्फ दुई र भारततर्फ ४० गरी जम्मा ४२ स्थानमा विओपी स्थापना गरी सशस्त्र प्रहरीले आवश्य सुरक्षा दिदै आएको छ । प्रदेशमा ४ सय २७ र चीनतर्फ २ सय ४३ किलो मिटर सिमा जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर