अझै सम्पन्न भएन इमाडोल–लामाटार सडक – Nepal Press

अझै सम्पन्न भएन इमाडोल–लामाटार सडक

काठमाडौं । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाँघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन ।

सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण सुस्त रहेको छ ।

काठमाडौं उपत्यकाका अरु स्थानमा जस्तै सडक छेउमा घर भएका स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरिरहेकाले निर्माणमा ढिलाइ भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

अहिले सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने गरी काम अघि बढाइएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले जानकारी दिए । उनले भने, ‘विस्तार सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार नै काम भइरहेको छ ।’

पहिले कम चौडाइ रहेको सो सडकलाई २० मिटर चौडा गर्ने र सडकमा ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गर्ने भनी विसं २०७३ र २०७४ मा ठेक्का सम्झौता भएको थियो ।

स्थानीयवासीले घर भत्काउन नमानेर सङ्गठितरुपमा अवरोध गर्दा लामो समयसम्म काम ठप्प भएको आयोजनाले जनाएको छ ।

सडकको अधिकार क्षेत्रमा रहेका रुख र बिजुलीका खम्बा हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको आयोजनाले जनाएको छ । अहिले अवरोध हटाएर उपलब्ध चौडाइका काम अघि बढाइएको सूचना अधिकारी देवकोटाले बताए । उनले भने, ‘जेठसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

तीन खण्डमा विभाजित सो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी, लामा समानान्तर जेभीलाई दिइएको थियो ।

तीन फरकफरक ठेक्कामध्ये डाँफे/समानान्तर जेभीले काम गरिरहेको तीन दशमलव १२ किमी सडकको प्रगति ७५ प्रतिशत छ भने आशिष सिए/ड्रागन जेभीको प्रगति ९५ प्रतिशत छ ।

लामा/समानान्तर जेभीले काम गरिरहेको चार किमी सडकको प्रगति ८० प्रतिशत छ । तीनमध्ये एउटा ठेक्काको अवधि गत पुसमा सकिएको छ ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर