भारतसँग सीमावर्ती प्रदेश १ का नाका खुकुलो – Nepal Press

भारतसँग सीमावर्ती प्रदेश १ का नाका खुकुलो

विराटनगर –भारतसँग सीमाना जोडिएका प्रदेश १ का नाकाहरुबाट हुने आवागमन खुकुलो बनाइएको छ । प्रदेश १ का विहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो ।

इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीबाट अब कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा राखिएको अनलाइन फर्म भरेर सीमा नाकाबाट आवागमन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागी भन्दै सरकारले गत चैत ११ देखि नाका बन्द गरेको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले नेपाल र भारतका आम नागरिकहरुले अति आवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाईटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउने बताए ।

उनका अनुसार अनलाइन फर्म भरेपछि प्राप्त हुने बारकोडसहितको रसिद देखाएर सम्बन्धित भन्सारबाट आम नागरिकले आवागमन गर्न पाउने छन् ।

सरकारले सोही अनुसारको परिपत्र जिल्ला प्रशासन कार्यालयमा पठाएको खड्काले बताए । तर सामान्य अवस्थामा जस्तो किनमेल र घुमफिरकै लागी भने नाका नखोेलिएको जानकारी दिए ।

गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको सहायक प्रजिअ खड्काले जानकारी दिए ।

कोरोना महामारीका कारण गत चैतको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमा नाकाहरु सहित आन्तरिक तथा बाह्य हवाई उडान समेत बन्द गरेको थियो ।

दुई महिनायता हवाई सेवा सञ्चालनमा आइसकेपनि सीमा नाका बन्द थिए । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।जसका कारण ती क्षेत्रका स्थानीयले नाका क्षेत्रमा दिनहूँ जस्तो जनस्तरबाट सीमानाका खोल्न दबाबमूलक कार्यक्रम गदै आएको थियो ।

जिल्ला प्रशासन कार्यलय मोरङका अनुसार सीमानाकाबाट आवतजावत गर्ने नेपाली नागरिकहरुको हकमा भने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल भित्रिन दिने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य परिक्षणमा केही लक्षण देखिए उनीहरुलाई तत्कालै क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ । भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेर मात्र नेपाल प्रवेश दिने व्यवस्था रहेको स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर