जन्मदिनकै दिन जटिल शल्यक्रिया, होश खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ ! – Nepal Press

जन्मदिनकै दिन जटिल शल्यक्रिया, होश खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

काठमाडौं । जब बुटवलकी १८ वर्षीया विमलाको होश खुल्यो, शय्या वरिपरिका दृश्यले उनी चकित परिन् । उनका आँखामा रंगीबिरंगी बेलुन, क्यान्डल लाइट, आफन्त, शुभेच्छुकसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले चमक ल्याइदिए ।

उनलाई के थाहा मृत्युसँग लडिरहेको शय्यामा जन्मदिनकै दिन पुनर्जीवन पाउँछु भनेर । संयोग पनि कस्तो ! जन्मदिनकै दिन ब्रेनट्युमरको जटिल अप्रेसन हुनु, होश आउनु र सरप्राइज बर्थडे अस्पतालले मनाइदिनु ।

घटना नर्भिक अस्पतालको हो ।

विमला केही दिनअघि ब्रेनमा ट्यूमर पलाएर शल्यक्रियाका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । अप्रेसन थिएटरमा पस्दै गरेकी विमलालाई लागेको थिएन, फर्केर आउँछु भनेर ।

‘अपरेसन थिएटरमा जानुअघि बिरामी केही आत्तिएको र निराश बनेको देख्यौं । मेरो करिअरकै पहिलो र दुर्लभ क्षण थियो यो,’ नर्भिक इन्टरनेशनल अस्पतालका सिनियर यूरो सर्जन प्रा.डा. राजीव झा भन्छन्, ‘सोही दिन उनको जन्मदिन परेको रहेछ । जन्मदिनको दिन नै जटिल शल्यक्रियाको निर्णय लिएका कारण केही अशुभ पो हुने हो कि भन्ने चिन्ता समेत रहेछ ।’

शल्यक्रिया सफल भएपछि झा नेतृत्वको टिमले शल्यक्रियापछि उनको जन्मदिनलाई उत्सवको रुपमा त्यहीं मनाइदिने निर्णय गर्यो । ६ घण्टा लामो अथक् प्रयासपछि उनको शल्यक्रिया सफल भयो । बिहान ८ बजेदेखि सुरु भएको शल्यक्रिया सफल भएको ३ घण्टाभित्रै बिरामीको होश खुलिसकेको थियो । जब होश खुल्यो, त्यसबेला स्वास्थ्यकर्मीहरूले बिरामीको कोठा सिंगारिसकेका थिए । अपरेसनको पीडाबाट उठ्दै गर्दा विमलाका लागि नर्भिक टिमले सरप्राइज दिएको थियो– बर्थ डे गिफ्ट !

विमलाका आफन्त र नर्भिकका स्वास्थ्यकर्मीहरुले सुरक्षित ढंगले आईसीयूमै विमलाको जन्मदिन मनाइदिए ।

अस्पतालमा शल्यक्रिया गर्न आएकी विमला पनि नर्भिकका सरप्राइज गिफ्टका कारण दंग थिइन् । ‘बिरामीहरूको यो किसिमको केयरिङ हुने अस्पताल पनि नेपालमा रहेछ भन्ने महसूस भयो ।’

डा. झाका अनुसार विमलाको ब्रेनको ट्यूमर जटिल प्रकारको थियो । जुनसुकै खालको जोखिम आउन सक्थ्यो । तर, अशुभ भएन । अहिलेसम्म १५ हजार बढी अप्रेसन गरिसकेका डा. झाले अपरेसनपछि होश खुलेलगत्तै बिरामीको बर्थ डे मनाइदिएको क्षण आफ्ना लागि स्मरणीय रहने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर