व्यावसायिक बन्न अझै सकेनन् क्लब – Nepal Press
महँगिदै नेपाली फूटबल

व्यावसायिक बन्न अझै सकेनन् क्लब

नेपालीहरूको लोकप्रिय खेल फूटबल बिस्तारै महँगो हुँदै गएको छ । हिजोसम्म नेपाली फूटबल इच्छापूर्तिका लागि मात्र खेलिन्थ्यो भने आज व्यावसायिक रूपमा खेलिन थालिएको छ ।

युवा माझमा बढ्दो फूटबल क्रेजले पनि नेपाली फूटबललाई महँगो बनाउँदै लगेको बताउँछन् मछिन्द्र फूटबल क्लबका अध्यक्ष प्रबोध कंसाकार । फूटबल महँगिएसँगै नेपाली राष्ट्रिय फूटबल क्लबहरूको बजेट पनि बढेको छ । केही वर्ष अघिसम्म ४०-५० लाखको हाराहारीमा वार्षिक बजेट निर्माण गर्ने क्लबहरू अहिले करोडमाथि उक्लिएका छन् ।

‘ए’ डिभिजन बाट खेल्दै आएका १४ वटा क्लबहरूको वार्षिक कारोबार २५ कारोडमाथि पुगेको छ । “हामीले यो वर्ष एक करोड ५० लाख रुपैयाँ वार्षिक बजेट छुट्याएका छौं”, अध्यक्ष कंसाकारले भने ।
‘ए’ डिभिजन क्लब मछिन्द्रले एक करोड ५० लाखमा एक करोड रुपैयाँ फूटबल खेलाडीको तलबका लागि मात्र छुट्याएको छ ।

आन्तरिक खर्चका लागि बाँकी रकम रहेको छ । मछिन्द्रको मुख्य आम्दानीको स्रोत घरभाडा हो । घरभाडाबाट मात्र मछिन्द्रले वार्षिक ५१ लाख रुपैयाँ उठाउँदै आएको छ । राम्रो आयस्रोत भएको मछिन्द्रले फूटबल खेलाडीलाई पनि उत्तिकै राम्रो तलब दिने गरेको बताएको छ ।

यो वर्षको लिग विजेता मछिन्द्रले मासिक ५० हजारदेखि एकलाखमाथि तलबमा खेलाडी अनुबन्धित गरेको छ । “हाम्रो क्लबमा केही राम्रा खेलाडीको तलब एक लाखभन्दामाथि छ । केहीलाई भने हामीले ५० हजारसम्म दिएका छौं”, कंसाकार भन्छन् ।

पछिल्लो समय फूटबल खेलाडीले व्यावसायिक रूपमा खेल्न थालेकाले पनि फूटबल महँगो हुँदै गएको क्लबहरू बताउँछन् । अहिले क्लबहरूमा राम्रा खेलाडीको मासिक तलब एक लाखभन्दा माथि पुगेको छ ।

विदेशी खेलाडीलाई क्लबमा अनुबन्धित गर्दा पनि मासिक एक लाखभन्दा बढी नै रकम तिर्नुपर्ने हुन्छ । “केही वर्षयता हामीले राम्रा खेलाडीलाई व्यावसायिक रूपमा नै मासिक एक लाख बढी तलबमा अनुबन्धित गर्दै आएका छौं”, फ्रेन्डस् क्लबका अध्यक्ष राजीवराज पौडेलले बताए ।

फ्रेन्डस्ले पनि आफ्नो बजेटलाई बृहत् बनाउन ध्यान दिएको छ । उसले यो वर्षका लागि डेढ करोड माथि बजेट छुट्याएको छ । फ्रेन्डस्लाई नबिल बैंकले १२ लाख र कृषि विकास बैंकले ५ लाखमा प्रायोजन गरेका छन् ।

फ्रेन्डस्ले डेढ कारोडमाथि बजेट छुट्याए पनि ‘कोभिड–१९’ का कारण खेलाडीलाई यो वर्ष ३० प्रतिशत मात्र तलब दिन सकेकोे उसको भनाइ छ । अन्य रकम भने ‘होम ग्राउण्ड’ निर्माणमा खर्चिने फ्रेन्डस्ले जानकारी दिएको छ ।

आफ्नो ‘होम ग्राउण्ड’ नभएको फ्रेन्डस्ले भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको सहयोगमा चाँगुमा ‘होम ग्राउण्ड’ बनाउने भएको छ । क्लबले १२ खेलाडीलाई मासिक एक लाखभन्दा माथि तलब दिंदै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा ठूलो बजेट संकटा क्लबको रहेको छ । संकटाले फूटबल खर्चका लागि यो आवमा दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । संकटाको मुख्य आम्दानीको स्रोत घरभाडा हो । न्यूरोडमा रहेका तीन वटा घरबाट संकटाले वार्षिक करोडभन्दा माथि भाडा उठाउँदै आएको छ । यसैगरी संकटाले अन्य विभिन्न व्यवसाय पनि गर्दै आएको बताएको छ ।

फूटबलमा लगानी बढ्दै गएको देखिए पनि क्लबहरूको नियमित आम्दानी स्रोत भने न्यून रहेको छ । नियमित आम्दानीको स्रोत फराकिलो नहुँदा राष्ट्रिय फूटबल खेल अझै पनि व्यावसायिक बन्न सकेको छैन ।

क्लबहरू लिगका लागि समेत एन्फाको भर पर्ने गरेका छन् । एन्फाले लिगका लागि प्रत्येक क्लबलाई २० लाख रुपैयाँ दिंदै आएको छ । क्लबले दरिलो प्रायोजक ल्याउनुपर्ने एन्फाका पदाधिकारी बताउँछन् ।

क्लबको मुख्य आम्दानी विभिन्न कर्पोरेट क्षेत्रले गरेको प्रायोजन, घरभाडा, एन्फाको सहयोगलगायत शुभेच्छुकहरूले गर्ने आर्थिक भरथेगले नै नेपाली फूटबल क्लबहरू चल्ने गरेका छन् । खासगरी, फूटबल ‘प्यासन’ ले मात्र चलेको भन्दा फरक नपर्ने बताउँछन् मनाङमस्र्याङ्दी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ ।

मनाङमस्र्याङ्दी क्लबको फण्ड सृजना गर्ने शैली अन्य क्लबको भन्दा अलिक फरक छ । गुरुङका अनुसार क्लबको निश्चित आम्दानीको स्रोत यही हो भन्ने छैन । प्रायोजक कहिले भेटिन्छन्, कहिले भेटिंदैनन् । मनाङलाई सबैभन्दा धेरै माया गर्ने भनेको मनाङका स्थानीयवासी हुन् ।

लिग वा अन्य टुर्नामेन्टहरूमा क्लबले ‘फन्ड सृजना’ का लागि स्थानीयवासी माझ ‘पार्टी’ आयोजना गर्ने गर्छ । त्यहाँ उपस्थित शुभेच्छुकहरूले नै मनाङ क्लबलाई हृदयदेखि नै आर्थिक सहयोग गर्ने गरेका छन् । मनाङमस्र्याङ्दी क्लबको वार्षिक बजेट एक करोड ३० लाख छ । ७५ लाख रुपैयाँ खेलाडीको तलबका लागि छुट्याएको गुरुङको भनाइ छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा चर्चित फूटबल नेपालमा भने परम्परागत ढाँचामै खेलिने गरिएको छ । अन्तर्राष्ट्रिय जगतमा फूटबल खेल व्यावसायिक भएको कैयौं वर्ष बिते पनि हामी कछुवा गतिमै छौं । खेलाडी व्यावसायिक बन्दै गए पनि क्लबहरू अझै आर्थिक रूपमा दरिलो बन्न सकेका छैनन् ।

‘ए’ डभिजन क्लबमा रहेका पुलिस, आर्मी तथा पुलिस फोर्स क्लबको बजेट अन्य क्लबको जस्तो छैन । फूटबलमा मात्र छुट्याएर बजेट आउने नभएर प्रायोजक र आन्तरिक रूपमा नै उनीहरूले आफ्नो क्लब चलाउने गरेका छन् ।

अझै व्यावसायिक बन्न सकेन फूटबल क्लब
नेपाली फूटबल क्लबहरू विगतको तुलनामा केही सबल बन्दै गए पनि अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति अझै बनिसकेको छैन । नेपालका क्लबहरू एशियन फूटबल क्लब (एफसी) मा समेत जान सकेनन् ।

एशिया मुलुकका लिग च्याम्पियन क्लबहरूसँग हुने ‘क्लब च्याम्पियन कम्पिटिशन २०२१’ (एसीसी) मा खेल्नका लागि नेपालका राष्ट्रिय क्लबहरू यो वर्ष पनि चुकेका छन् । एसीसीमा खेल्नका लागि नेपाली क्लबले एन्फाबाट ‘लाइसेन्स’ (अनुमति पत्र) प्राप्त गर्नुपर्छ ।

तर, यो वर्ष नेपालका ‘ए’ डिभिजनका कुनै पनि क्लबहरूले ‘लाइसेन्स’ प्राप्त गर्न सकेनन् । एसीसीमा खेल्नलाई एफसीले नेपाललाई एउटा कोटा दिएको छ ।

‘लाइसेन्स’ का लागि ‘एशियन फूटबल संघ’ (एफसी) ले एन्फालाई दबाब दिइरहेको छ– नेपालका क्लबहरू ‘लाइसेन्सिङ’ सिष्टममा छिटो लैजाऊ भनेर । एन्फाले यसका लागि पहल पनि गर्‍ यो तर, सफलता हासिल गर्न नसकेको क्लबका कम्युनिकेशन, लाइसेन्सिङ तथा कमर्सियल विभागका प्रमुख युजल श्रेष्ठ बताउँछन् ।

उनका अनुसार ‘लाइसेन्सिङ’ मा जानलाई क्लबहरूले १८ वटा ‘क्राइटेरिया’ पूरा गर्नुपर्छ । यसका लागि क्लबको आफ्नै फूटबल ग्राउण्ड हुनुपर्ने, एफसीको सीमा रेखाभित्र रहेर क्लबको पूर्वधार निर्माण हुनुपर्ने ।

क्लबमा डाक्टर, कोच, पूर्ण खेलाडी सबैको व्यवस्था गर्नुपर्छ । क्लबको आफ्नै सचिवालय हुनुपर्ने जस्ता विभिन्न ‘क्राइटेरिया’ पूरा गर्नुपर्ने हुन्छ । तर, ‘लाइसेन्सिङ’ मा जानलाई अहिलेको अवस्थामा सम्भव नभएको क्लबका पदाधिकारी बताउँछन् । “हाल केही क्लब छाड्ने हो भने, अधिकांश क्लबहरूको ‘ग्राउण्ड’ शहीद स्मारक दशरथ रंगशाला नै हो”, जाउलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री भन्छन् ।

क्लबहरूलाई ‘लाइसेन्सिङ’ मा लैजानका लागि एन्फाले यो वर्ष क्लबहरूमा पत्राचार गरेर ‘लाइसेन्सिङ’ फारम पठायो । तर, कुनै पनि क्लबले ‘लाइसेन्सिङ’ प्राप्त गर्न सकेनन् । कारण एउटै थियो, ‘लाइसेन्सिङ’ को ‘क्राइटेरिया’ पार गर्न नसक्नु ।

क्लबहरू आफैं पनि ‘लाइसेन्सिङ’ मा जान चाहन्छन् । तर, क्लब धान्न धौ–धौ भइरहेको अवस्थामा ‘लाइसेन्सिङ’ मा जानु ढुङ्गा चपाउनु सरह भएको अध्यक्ष क्षेत्रीको भनाइ छ । यसका लागि ठूलो रकम आवश्यक पर्ने र एन्फालगायत राज्यले यसको पहल गर्नुपर्ने उनको बुझाइ छ । “लाइसेन्सिङमा जानै पर्नेछ । हामी पनि यसका लागि आतुर छौं । नत्र भने हामी फूटबल जगतमा धेरैपछि पर्छौं” उनले भने ।

फूटबल सुधारका लागि एन्फाले छुट्टा–छुट्टै विभाग निर्माण गर्दै
क्लबहरूको स्तरोन्नति तथा अन्तर्राष्ट्रिय जगतमा नै प्रतिस्पर्धी बनाउनका लागि एन्फाले विभिन्न काम गर्दै रहेको बताए पनि क्लबको समस्या ज्यूँकात्यूँ छ ।

एन्फाले हाल आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै विभाग निर्माणको थालनी गरेको छ । फिजियोथेरापी विभाग, रेफ्री विभाग, कमर्सियल विभाग, महिला फूटबल विभाग, प्रतिस्पर्धी विभाग, टेक्निकल विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण विभाग तथा ‘लाइसेन्सिङ’ विभाग आदि निर्माण गरिएको छ । यस्ता विभाग निर्माणले नेपाल फूटबललाई अझ माथि पुर्‍ याउने एन्फाको भनाइ छ । विगतमा फूटबल सम्बन्धित सबै काम एउटै व्यक्ति र एकै ठाउँबाट हुने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ