इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत – Nepal Press

इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत

काठमाडौं । गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका छन् ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उनले वार्ताका लागि सहमति जनाएका हुन् ।

वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिन पछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो ।

इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो आदेशमा भनेको छ, “गाजामा प्यालेस्टाइनीहरूले अब अनिकालको मात्र सामना गर्नु परेको नभई भोकमरी सुरू भइसकेको छ ।”

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेखेका छन्, “यो फैसलाले गाजा पट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ ।”

अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो ।

आइसिजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल–शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर दर्जनौँ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ ।

एएफपी टिभीका तस्बिरहरूले देखाएअनुसार हवाई आक्रमणपछि भग्नावशेषमा फसेका मानिसहरूलाई मुक्त गर्न पुरुषहरूले मोबाइल फोनको उज्यालोमा काम गरिरहेका देखिन्छ ।

आईसीजेले इजरायललाई ‘तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताको आपूर्ति सुनिश्चित गर्नका लागि सबै आवश्यक र प्रभावकारी उपायहरू’ अपनाउन आदेश दिएको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले हमासको विनाशका लागि इजरायलले चलाएको प्रतिशोधात्मक कारबाहीमा कम्तीमा ३२ हजार ६२३ जनाको मृत्यु भएको जनाएको छ ।

यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ र गाजाको अधिकांश जनसङ्ख्याले अहिले राफामा आश्रय लिइरहेको छ ।

सोमबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा ‘तत्काल युद्धविराम’, लडाकूले बन्धक बनाएकाहरूलाई रिहा गर्न र ‘मानवीय पहुँच सुनिश्चित गर्न’ माग गरेको थियो ।

सदस्य राष्ट्रहरू यस्ता प्रस्तावहरूको पालना गर्न बाध्य छन्, तर ‘डक्टर्स विदाउट बोर्डर्स ९एमएसएफ०’ ले जमीनमा केही पनि परिवर्तन नभएको बताएको छ ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गत अक्टोबरदेखि आवश्यक सामग्रीको केही अंश मात्र भित्राउने अनुमति दिइएको सहायता समूहहरूले बताएका छन् ।

इजरायलले प्यालेस्टिनी पक्षलाई सहायता वितरण गर्ने क्षमताको कमीलाई दोष दिएको छ, मानवतावादीहरूले राहत सहयोग आपूर्ति गर्न पर्याप्त ट्रकहरूलाई अनुमति नभएको बताएका छन् ।

जमिनको सीमित पहुँचका कारण धेरै देशहरूले हवाई अवतरण गरेका छन् र साइप्रसको समुद्री करिडोरले गाजामा आवश्यक न्यूनतम खाद्य सहायता प्रदान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर