सुदूरपश्चिममा नाउपा विभाजित: संसदीय दलको निर्णयको विपक्षमा उभिए सांसद – Nepal Press

सुदूरपश्चिममा नाउपा विभाजित: संसदीय दलको निर्णयको विपक्षमा उभिए सांसद

कैलाली । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टी संसदीय दलको निर्णयमा नागरिक उन्मुक्ति पार्टीकै सांसद कैलाश चौधरीले असहमति जनाएका छन् । उनले उक्त निर्णय नमान्ने घोषणा गरेका छन् ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको पार्टीले प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई सघाउने निर्णय गरेको हो । यस सन्दर्भमा नाउपाका सांसद चौधरीले आफू स्वास्थ्योपचारको लागि काठमाडौं रहेका बेला कैलालीमा दलको बैठक आह्वान गरेर गरिएको निर्णयमा असहमति रहेको नेपाल प्रेसलाई बताए ।

‘म हिजै स्वास्थ्योपचारको लागि काठमाडौं आएको थिएँ, कैलालीमा सरकारलाई समर्थन गरेको निर्णय गरिएको जानकारी पाएँ’ उनले भने, ‘त्यसमा मेरो सहमति छैन ।’

उनले विधि र पद्धतिअनुसार पार्टी संसदीय दल चल्नु र्ने बताए ।

‘विधि र पद्धतिअनुसार पार्टी चल्नुपर्छ । हामी दुईचार जना व्यक्ति बनेर हुँदैन, पार्टी बन्नुपर्छ’, उनले भने, ‘त्यसो नहुँदा समस्या हुन्छ ।’

सांसद चौधरीले विधि र पद्धतिअनुसार पार्टी र संसदीय दल नचल्ने अवस्थामा आफूले उक्त दलको निर्णय नमान्ने बताए । उनले आफू सांसद नरहने अवस्था आए पनि विधि र पद्धतिको लागि वकालत गर्ने बताए ।

यसअघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीसँग समन्वय नगरी मन्त्री पठाएको भन्दै फिर्ता हुन निर्देशन दिएकी थिइन् । त्यसपछि पनि मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका थप एक सांसदलाई मन्त्री नियुक्त गरेका थिए ।

अहिले सुदूरपश्चिममा नाउपाका ७ जना सांसद छन् । तीमध्ये पाँच मन्त्री भइसकेका छन् । मुख्यमन्त्री शाह अन्य दुई जनालाई पनि मन्त्री वा समिति सभापति दिएर सरकार जोगाउने रणनीतिमा छन् ।

नाउपाका सबै सांसदको साथ पाउँदा पनि मुख्यमन्त्रीलाई सरकार टिकाउन राप्रपा र स्वतन्त्र सांसद समेट्नुपर्ने बाध्यता छ ।

याे पनि पढ्नुस् : केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वकाे सरकारकै पक्षमा (भिडिओ)


प्रतिक्रिया

One thought on “सुदूरपश्चिममा नाउपा विभाजित: संसदीय दलको निर्णयको विपक्षमा उभिए सांसद

  1. यस्तै यस्तै कारणहरूले गर्दा जनताले प्रदेश तहकाे सरकारकाे खारेजी गन्नै पर्ने कठीन कदम चाल्नु पर्ने कुरा उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *