केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वकाे सरकारकै पक्षमा (भिडिओ) – Nepal Press

केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वकाे सरकारकै पक्षमा (भिडिओ)

कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ ।

संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं । हामीले यही सरकारलाई सघाउने निर्णय गरेका छौं’, संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन् ।

आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने यसअघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिएकी थिइन् ।

यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताए ।

केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनलाई सघाउने निर्णय गरेपछि पार्टीभित्र थप किचलो पैदा हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर