एनपी साउद भन्छन्- मुद्दा मिले एमालेसँग सत्ता साझेदारी हुनसक्छ – Nepal Press

एनपी साउद भन्छन्- मुद्दा मिले एमालेसँग सत्ता साझेदारी हुनसक्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले एमालेसँग मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्ता साझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने बताए ।

उनले भने, ‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन । कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुइटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुंयाउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्ता साझेदारी गर्न सकिन्छ । त्योभन्दा बाहेक सत्ता साझेदारी गर्ने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्नसक्छ ।’

हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिन नै आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाँती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ ।

उनले थपे, ‘हामीले मुलुकभित्र रहेका अस्थिरता मच्चाउन खोज्ने शक्तिलाई पनि लोकतन्त्रको परिधिभित्र ल्याउने जुन प्रयास गरिरहेका छौं । यदि प्रमुख राजनीतिक पार्टीबीच नै सत्ता र शक्तिका लागि गठबन्धन भयो भने यसको फाइदा लिएर अस्थिरतामा खेल्न खोज्नेले राजनीतिक लाभ वा फाइदा उठाउन सक्नेछन् । कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ । जहाँसम्म विभिन्न समीकरणका कुराहरु छन् ।’

नेता सायदले कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण नगर्ने बताए । वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढङ्गले निभाएको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर