कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन: उपाध्यक्ष पौडेल – Nepal Press

कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन: उपाध्यक्ष पौडेल

रामेछाप । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन् ।

नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताए ।

‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ । नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, पौडेलले भने ।

उनले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउँदै संविधानले निर्देश गरेको दिशातर्फ समाजलाई लैजानुपर्नेमा जोड दिए ।

नेकपा एमालेलाई भित्तोमा पुर्‍याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको उपाध्यक्ष पौडेलको भनाइ थियो ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको तर, एमालेलाई दुई महिनाको बीचमै सरकाबाट हटाउने काम भएको उनले बताए ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमालेलगायत सम्मिलित सरकार बनेको उनको भनाइ छ ।

‘अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको छ । अहिले पनि यो सरकार भत्काउन विभिन्न कोसिस भइरहेको छ’, उनले भने, ‘यो सरकारविरुद्ध कस्ता षड्यन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षड्यन्त्रलाई हामी एकएक गरेर तोडेर अघि बढ्नेछौं, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहनेछौं ।’

उपाध्यक्ष पौडेलले यो सरकारविरुद्ध खेलिएका विभिन्न प्रयास एक झड्कामै टुटेको बताए ।

‘यो सरकार तोड्नुपर्छ भन्दै समीकरणमा नै रहेर भाषण गर्दै हिँड्नेहरू अहिले हामी यही सरकारमा रहन्छौं भनेर विज्ञप्ति निकाल्ने तहमा पुगेका छन्’, उनले भने, ‘यो सरकार २०८४ सालसम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन ।’

उनले एमाले–कांग्रेस मिलेर सरकार बनाउन नहुनेसमेत बताए । कांग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने उनले स्पष्ट पारे ।

‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’, उनले भने, ‘२०८४ सम्म अहिलेकै सरकार जान्छ र २०८४ को निर्वाचनपछि नेकपा एमाले एकल बहुमत प्राप्त पार्टी बन्नेछ । नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनताको लागि चाहिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर