ज्ञानेन्द्र शाहीदेखि खुस्बु ओलीसम्मलाई लिएर मधेश झर्दै लिङ्देन, यस्तो छ पाँच दिनको कार्यक्रम – Nepal Press

ज्ञानेन्द्र शाहीदेखि खुस्बु ओलीसम्मलाई लिएर मधेश झर्दै लिङ्देन, यस्तो छ पाँच दिनको कार्यक्रम

काठमाडौं । सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलनमा होमिएको राप्रपाले आउँदो चैत २७ गते काठमाडौंमा वृहद जनप्रदर्शन गर्दैछ ।

उक्त जनप्रदर्शनलाई भव्य र प्रभावकारी बनाउने उद्देश्यले राप्रपाका नेताहरू पाँच दिन तराइ यात्रामा निस्किने भएका छन् ।

आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना नेताहरूको मधेश यात्रा तय गरिएको हो ।

चैत ५ गतेदेखि ८ गतेसम्म तराई–मधेशका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराई–मधेशस्तरीय अभियानमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरू रहनेछन् ।

चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेश प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरू सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन् ।

राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगन्जमा आमसभा गर्नेछ भने साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा वीरगन्जका उद्योगी–व्यवसायीसँग छलफल र अन्तरक्रिया राखिएको छ ।

चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ ।

यसै गरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर