ट्राफिक आइल्यान्ड बिगारेको भन्दै राप्रपालाई दण्डित गर्ने बालेनको प्रयास, २२२ रुपैयाँको क्षति पुगेको दाबी – Nepal Press

ट्राफिक आइल्यान्ड बिगारेको भन्दै राप्रपालाई दण्डित गर्ने बालेनको प्रयास, २२२ रुपैयाँको क्षति पुगेको दाबी

आरोप अस्वीकार गर्दै राप्रपाले दियो लिखित र मौखिक जवाफ, कारबाहीको निर्णय भए अदालत जाने

काठमाडौं । गत चैत २७ गरेको जनप्रदर्शनलाई लिएर काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीमाथि ‘एक्सन’ लिने तयारी गरेको छ । जनप्रदर्शनका क्रममा भृकुटीमण्डपमा फोहोर गरेको र ट्राफिक आइल्यान्ड भत्काएको भन्दै महानगर प्रमुख बालेनले ‘कारबाही’ गर्न खोजेका हुन् ।

राप्रपाले गणतन्त्र खारेजी लगायतका मागहरू राख्दै काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शनलगत्तै मेयर बालेन्द्र साहको निर्देशनमा महानगरले राप्रपालाई चिठी काट्यो । उक्त पत्रमा भृकुटीमण्डपबाहिर फोहोर गरिएको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको आरोप लगाइएको छ । यस विषयमा तीन दिनभित्र महानगर कार्यालयमै उपस्थित भएर जवाफ दिन भनिएको थियो ।

उक्त पत्रको जवाफ समेत लिएर कानून व्यवसायीसमेत रहेका राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत हिजो महानगर पुगेका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, वातावरण विभाग प्रमुख रवीन्द्रमान श्रेष्ठ, कानून तथा मानवअधिकार विभाग प्रमुख वसन्त आचार्य र नगर प्रहरी प्रमुख राजु पाण्डेले उनीसँग छलफल गरे । छलफलका क्रममा आफूले आरोप अस्वीकार गरेको बस्नेतले बताए ।

‘राप्रपाले आन्दोलनका क्रममा भएको फोहोर भोलिपल्ट आफैँले सफा गरेको हो । ट्राफिक आइल्यान्डमा खासै क्षति केही भएको छैन । अरु पार्टीले आन्दोलन गर्दा केही नगर्ने र राप्रपालाई मात्रै निशाना बनाउन खोज्नु पूर्वाग्रह हो,’ उनले छलफलमा भनेका थिए ।

बस्नेतका अनुसार छलफलका क्रममा महानगरका कर्मचारीहरूले ट्राफिक आइल्यान्डको तीनवटा ईंट्टा निस्किएको र २२२ रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरेका छन् । यसबापत राप्रपाले जरिवाना तिर्नुपर्ने बताएपछि बस्नेतले अस्वीकार गरेका थिए ।

‘उहाँहरूकै भनाइबाट पनि नगण्य क्षति पुगेको देखिन्छ । तर, जरिवाना तिराएर राप्रपालाई तर्साउन खोजिएको छ । यो हामी मान्दैनौँ । यदि कुनै पनि खाले कारबाहीको निर्णय भयो भने अदालत जानेछौँ,’ बस्नेतले नेपाल प्रेससँग भने ।

महानगरका वातावरण प्रमुख रविनमान श्रेष्ठले राप्रपामाथि कारबाहीको निर्णय हुन सक्ने बताए ।

उनले भने, ‘उहाँहरूले फोहोर गरेको छैनौँ भन्नुभएको छ । तर कारबाही प्रक्रिया अगाडि बढ्दैछ । माथिबाट निर्णय हुन्छ । मैले फाइल उठाएर पठाइसकेँ ।’

ट्राफिक आइल्यान्डमा के कति क्षति भएको हो भन्ने उनले बताउन चाहेनन् । साथै, राप्रपाले कति रकम जरीविना तिर्नुपर्छ भन्ने प्रश्नमा पनि उनी तर्किए ।

‘जरिवाना मैले तोक्न मिल्दैन, माथिबाटै तोकिन्छ । निर्णय भएपछि आफैँ थाहा पाउनुहुन्छ,’ उनले भने ।

महानगर र राप्रपाको टसल यो पहिलो होइन । बालेनले राप्रपाको केन्द्रीय कार्यालय भवन मापदण्ड विपरीत बनेको भन्दै भत्काउनका लागि पटक–पटक प्रयास गरेका थिए । तर, अदालतले स्टे अर्डर दिएपछि उनी रोकिन बाध्य हुनुपरेको थियो । त्यसैको रिस साँध्न सानो कुरालाई इस्यू बनाउन खोजिएको राप्रपा नेताहरुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर