शान्त लिङदेनको ‘विद्रोही’ अवतार : आफैं प्रहरी ब्यारिकेडमा पसेर निषेधाज्ञा पार (भिडिओ) – Nepal Press

शान्त लिङदेनको ‘विद्रोही’ अवतार : आफैं प्रहरी ब्यारिकेडमा पसेर निषेधाज्ञा पार (भिडिओ)

‘पुरातनवादी’ पार्टीको बदलिँदो चरित्र र अनुहार

काठमाडौं । पुरातनवादी वा पश्चगामी भनेर चिनिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको छवि पछिल्ला दिनहरुमा फेरिँदै गएको छ । राजेन्द्र लिङदेन नेतृत्वमा आएसँगै राप्रपाभित्र युवाहरु हावी हुँदै गएका छन् भने ‘पुराना’ हरु किनारा लाग्न थालेका छन् ।

रवीन्द्र मिश्रदेखि ज्ञानेन्द्र शाही र खुश्बु ओलीसम्मको प्रवेशले राप्रपाको अनुहार बदलिएको हो । अनुहारमात्र होइन, पार्टीको चरित्र पनि फेरिँदै गएको महसुस हुन्छ । राप्रपाले अहिले अहिलेसम्म कुनै पनि ठूलो आन्दोलनमा भाग लिएको छैन । तर, अहिले राप्रपा आन्दोलनकारी शक्तिका रुपमा उदाउने प्रयासमा छ ।

हिजो राप्रपाले काठमाडौंमा जनप्रदर्शन गर्‍यो, जहाँ पार्टीको प्रस्तुति परम्परागतभन्दा निकै भिन्न थियो । राप्रपाको जुलुस सरकारको निषेधाज्ञा तोडेर अघि बढ्यो, त्यो पनि अध्यक्ष लिङदेनकै नेतृत्वमा । कार्यकर्तालाई प्रहरीसँग भिड्न अगाडि सारेर आफू सुरक्षित तरिकाले प्रदर्शन गर्ने अन्य दलका प्रमुख नेताहरुभन्दा फरक देखिँदै लिङदेन आफैं निषेधाज्ञा तोड्न अघि बढे । यस क्रममा प्रहरीसँग उनको प्रत्यक्ष घम्साघम्सी पनि भएको थियो ।

त्यसो त लिङदेनले अघिल्लो दिन नै पत्रकार सम्मेलन गर्दै आन्दोलनमा निषेधाज्ञा नमान्ने घोषणा गरेका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न संविधानले नै अधिकार दिएको र प्रहरीले अवरोध वा दमन गरेको खण्डमा प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए । त्यही घोषणाअनुसार उनी आफैं निषेधाज्ञा तोड्न अगाडि देखिए ।

भद्रकालीमा ब्यारियर लगाएर प्रहरीले राप्रपाको जुलुसलाई सिंहदरबारतर्फ जान रोकिरहेको थियो । जुलुसको सबैभन्दा अग्रभागमा रहेका लिङदेन आफैं प्रहरीको ब्यारिकेडमा रहेको तारमुनि घुस्रिए । कार्यकर्ताहरु पछि लागे । प्रहरीले रोक्न खोज्यो । लिङदेनलाई झांगलझुंगल पनि गरियो । तर, उनी पछि हटेनन् । बरु पछाडि रहेको जुलुसलाई पनि आफू सँगसँगै आउन इशारा गरे । लिङदेनको यो भिडियो फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

लिङदेनसँगै जुलुसमा पार्टीका अरु सिनियर नेताहरु पनि थिए । तर, अरुलाई छोडेर लिङदेन प्रहरीको ब्यारिकेडतर्फ बढेका थिए । उनको पछि पछि राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल आए । प्रहरीले लिङदेनलाई धकेल्दै गर्दा कटुवालले छेकेका थिए ।

लिङदेनले निषेधाज्ञा तोडेपछि दबाबमा परेको प्रहरीले पानीको फोहोरा फ्याँकेर राप्रपाको भीडलाई तितरबितर पार्‍यो । अँश्रुग्यास प्रहार र लाठीचार्ज पनि गरियो । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीमाथि पनि प्रहरीले बल प्रयोग गर्‍यो । शाहीको कोट च्यातिएको थियो । उनले गृहमन्त्रीकै आदेशमा आफूलाई डीएसपीले लाठी हानेको आज संसदमा दाबी गरेका छन् ।

प्रहरी दमनका बीच हिजोको जनप्रदर्शन पूर्ण रुपमा सफल भएको राप्रपाको निष्कर्ष छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शनमा भएको जनसहभागिताले आफूहरुलाई उत्साहित बनाएको बताए । तर, शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्दै सरकारले अलोकतान्त्रिक चरित्र देखाएको उनको टिप्पणी छ ।

‘राप्रपा हिंसाको पक्षधर होइन र छैन । हामीले शान्तिपूर्ण रुपमा कार्यक्रम आयोजना गरेका हौं । तर, प्रहरीले बल प्रयोग गर्दा पार्टीका ३६ जना कार्यकर्ता घाइते भएका छन्’, श्रेष्ठले भने ।

यो आन्दोलनमा देशभरबाट स्वःस्फुर्त रुपमा कार्यकर्ताहरु काठमाडौं आएका थिए । प्रवक्ता श्रेष्ठका अनुसार कार्यकर्ता ओसार्न पार्टीले एक रुपैयाँ पनि खर्च गरेन ।

‘सबै जना आफ्नै हिसाबले आउनुभयो । खानपिन बसोबासको प्रवन्ध आफैंले मिलाउनुभयो । पार्टीले आह्वानमात्रै गरेको हो’, उनले भने ।

निषेधाज्ञा तोडिएको विषयमा पनि श्रेष्ठले प्रतिरक्षा गरे । उनले एउटा विशेष परिस्थितिमा लगाइएको निषेधाज्ञा अनन्तकालसम्म लागू हुन नसक्ने जिकिर गरे ।

‘त्यो नारायणकाजी श्रेष्ठको पालामा लगाइएको निषेधाज्ञा हो । अहिले काठमाडौंमा निषेधाज्ञा लगाउनुपर्ने कुनै पनि परिस्थिति छैन । यसले शान्तिपूर्ण आन्दोलनको अधिकारलाई खण्डित गर्छ । त्यसैले हामीले निषेधाज्ञा तोड्ने रणनीति लिएका हौं’, उनले भने । यसैलाई लिएर राप्रपाको चरित्र फेरिएको भनेर निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ ।

‘हामी आज पनि शान्तिपूर्ण राजनीतिमै विश्वास गर्छौं । हिजो पनि मुठभेड चाहेका थिएनौं । सरकारले अनावश्यक बल प्रयोग गरेर तनाव निम्त्याएको हो’, उनले भने ।

राप्रपामा बढ्दो लिङदेनको वर्चश्व

राप्रपा अध्यक्ष लिङदने हिजोको जनप्रदर्शनमार्फत पार्टीमा आफ्नो वर्चश्व थप बलियो बनाउन सफल भएका छन् । अहिलेसम्म काठमाडौंमा राप्रपाले यो स्तरको आन्दोलन गर्न सकेको थिएन, जुन लिङदेनले गरेर देखाए ।

उनी निकट स्रोत भन्छ, ‘राप्रपामा लिङदेनको चुनौतीविहीन नेतृत्व स्थापित भएको सन्देश हिजोको प्रदर्शनले दिएको छ ।’

राप्रपाभित्र कडा र नरम राजावादीहरुको दुई धार रहेको बताइन्छ । कडा राजावादीको धारको नेतृत्व डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रले गर्दै आएका छन् । लिङदेनसहितको संस्थापन समूहलाई नरम राजावादी बताउने गरिन्छ । यद्यपि, हिजोको प्रदर्शनमा राप्रपा एकजुट भएर उत्रिएको थियो । डा. लोहनी र मिश्र पनि लिङदेनको नेतृत्वमा गोलबन्द भएका थिए ।

राप्रपामा लामो समयसम्म पुराना पञ्चहरुको राज थियो । लिङदेनले झापामै बसेर लो प्रोफाइलमा राजनीति गर्दै आएका थिए । उनी २०७४ सालको चुनावमा राप्रपाको एक्लो विजयी उम्मेदार बनेपछि हाइलाइटमा आएका हुन् । त्यसपछि बल्ल उनको काठमाडौं बसाइ सुरु भएको थियो । यो छोटो समयमा उनले लामै छलाङ मारिसकेका छन् । निर्विकल्प मानिएका अध्यक्ष कमल थापालाई महाधिवेशनमा पराजित गर्न लिङदेन सफल भए । अहिले उनी आफैं राप्रपामा निर्विकल्प बनेको निकटस्थहरुको दाबी छ ।

‘हिजोको प्रदर्शनको सन्देश यतिमात्र होइन’, लिङदेन निकट स्रोत भन्छ, ‘पार्टी बाहिर राष्ट्रिय राजनीतिमा पनि उहाँले आफूलाई उपेक्षा गर्न नसकिने नेताको रुपमा स्थापित गर्न सफल हुनुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर