उपचुनावमा ‘जमानत जफत’ हुँदै गर्दा ओलीप्रति माधव किन आक्रोशित ? यस्तो छ कारण – Nepal Press

उपचुनावमा ‘जमानत जफत’ हुँदै गर्दा ओलीप्रति माधव किन आक्रोशित ? यस्तो छ कारण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेसँगै सत्ता सहकार्यमा रहे पनि पछिल्ला केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश र असन्तुष्टि पोखिरहेका छन् ।

शनिबार इलाम र बझाङमा मतदान भइरहदा एक कार्यक्रममा एमाले तथा ओलीविरुद्ध बोलेका नेपालले सोमबार मत परिणाम आइरहँदा थप आक्रोश पोखे । बझाङमा नेकपा एसका केन्द्रीय सदस्य दीलबहादुर सिंहको जमानत जफत भइसकेको थियो भने इलाममा जीतबहादुर राईको कन्तबिजोग ।

नेपालले केपी ओलीको नाम नलिई दुईवटा कुरा सोमबार काठमाडौं जिल्ला महिला संघको कार्यक्रममा उठाए । एकः केपी ओली विगतमा भएका गल्ती स्वीकार गर्न तयार छैनन् र संसद विघटन ठीक थियो भनिरहेका छन् । दुईः कतै माधव नेपाल प्रधानमन्त्री हुने हो कि भनेर भतभती पोलिरहेको छ उनलाई ।

नेपालले सोमबार आफ्ना उम्मेदवारको जमानत जफत भएर दुवैतिर एमालेको जित भइरहँदा ओलीप्रति थप आक्रोश व्यक्त गरे । अझ उनी पार्टी सदस्य संख्या ३ लाख पुर्‍याएर ती सदस्य सबैको परिवारलाई पार्टीमा आबद्ध गरेर भोट बढाउनुपर्ने बताइरहेका थिए । तर, उनीभित्र ओलीका कारण आफूले चाहेजस्तो परिस्थिति नबन्ने भय छ भन्ने कुरा उनको भाषणबाट प्रष्ट बुझिन्छ ।

उनले भने, ‘७४ सालमा हामीले सरकार बनाउने मौका पायौं । तर, त्यसबेला सरकार पनि राम्रो चलेन, पार्टी पनि राम्रोसँग चलेन । यसको समीक्षा अहिलेसम्म पनि गर्ने हामीमा जाँगर छैन । गल्ती महसुस गर्नु पर्दैन ? अत्मालोचना गर्नुपर्छ कि भनेर त्राहीमाम भएको छ । अहिले पनि विघटन गरेको ठीक गरियो भन्ने, संविधान मिचेर ठीक गरियो भन्दिने । यसरी कसरी हुन्छ ?’

नेपाल अहिले प्रचण्ड र ओलीसँग सकेसम्म बार्गेनिङ पावर बढाउने र शेरबहादुर देउवासँग पनि समानान्तर संवादमा रहने नीतिबाट अघि बढिरहेका छन् । तर, एमाले नेतृत्वले पनि माधव नेपाल अहिलेको सत्ता समीकरणबाट बाहिरिए बाहिरिउन् भन्ने सोच निर्माण गरिसकेको छ । उनको सरकारको गणितमा तलमाथि पर्न नदिन वैकल्पिक जुगाड पनि एमालेले नै गरिरहेको छ ।

अहिलेको सत्ता गठबन्धन (ओलीको भनाइमा सत्ता समीकरण) माधव नेपालका लागि ‘खाए खा नखाए घीच’ जस्तो भएको छ । ओली र प्रचण्ड मिलेर नयाँ समीकरण बनाइहाले । माधव नेपाल नयाँ समीकरणमा सहभागी हुनुपर्ने बाध्यतामा पुगे तर आफ्नो पाइन् देखाउन पनि छाडेनन् ।

आफू अपमान सहन जन्मिएको होइन भनेर बारम्बार भनिरहने माधव नेपाल अरुबाट सम्मान खोज्छन् । अरुको घरमा आफू होइन, आफ्नो घरमा अरु आइदिउन् भन्ने चाहना राख्छन् र त्यसलाई उनले आफू अपरिहार्य भएको सन्देशका रूपमा बाहिर सार्वजनिक पनि गर्न चाहन्छन् ।

यसपटक ओली र प्रचण्ड उनको घरमा गए । कुराकानी पनि भए । माधव नेपालले आफ्ना गुनासा र असन्तुष्टिहरू पनि राखे । कांग्रेससहितको गठबन्धनमा भएको सहमतिबमोजिमको आलोपालो प्रधानमन्त्रीको ग्यारेन्टी पनि खोजे । तत्काल ओली र प्रचण्डले ठीक छ भने पनि उनको माग पूरा हुने लक्षण देखिएन ।

एमालेका जिम्मेवार नेताहरूले माधव नेपाल संसदको यो कार्यकालमा मात्र होइन अब कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने कुरा नेकपा एसकै कतिपय नेताहरूसँग भनेपछि उनी थप चिन्तित बने । नेकपा एसकै झलनाथ खनाललगायत अधिकांश नेता नेपालले प्रधानमन्त्रीको दाबी गरेकोमा सहमत छैनन् ।

संसदको यसै कार्यकालमा १० सीट भएको बेलामा प्रधानमन्त्री बन्न नपाए कहिल्यै पाइँदैन भन्ने कुराले उनको मनमा गहिरो छाप पारेको छ । एक्लै चुनावमा जाँदा नेकपा एसको हालत के हुन्छ भन्ने इलाम र बझाङको उपचुनावले देखाइसकेको छ । त्यसैले उनले आफू प्रधानमन्त्री बन्ने लिखित ग्यारेन्टी चाहान्छन् । तर, यसमा ओली नै तगारो बन्ने भएकाले उनले आक्रोश बढाइरहेका छन् ।

नेपालले सोमबार ओलीलाई लक्षित गर्दै भने, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।’

यी सबै घटनाक्रमबारे जानकार माधव नेपाल कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनका लागि पनि छलफलमा छन् । तर, गणित सहज नभएकाले उनी एमालेसँगै समीकरणमा भाग पनि खोजिरहेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री प्राप्त गरेको विषयलाई उनले आफ्नो पार्टीको शक्ति र आवश्यकतासँग जोडेर गर्व गरेका छन् ।

नेपाल अहिले प्रचण्ड र ओलीसँग सकेसम्म बार्गेनिङ पावर बढाउने र शेरबहादुर देउवासँग पनि समानान्तर संवादमा रहने नीतिबाट अघि बढिरहेका छन् । तर, एमाले नेतृत्वले पनि माधव नेपाल अहिलेको सत्ता समीकरणबाट बाहिरिए बाहिरिउन् भन्ने सोच निर्माण गरिसकेको छ । उनको सरकारको गणितमा तलमाथि पर्न नदिन वैकल्पिक जुगाड पनि एमालेले नै गरिरहेको छ ।

प्रचण्डले पनि पछिल्लोपटकको छलफलमा माधव नेपालको गनगनबाट आफू वाक्क दिक्क भइसकेको भन्दै जाने भए जाउन् भनेर दिक्दारी प्रकट गरेको नेताहरू बताउँछन् । ओलीको नीति नेकपा एससँग एकता गर्ने वा माधव नेपाललाई सम्मान दिने भन्दा पनि त्यो पार्टी नै विघटन र विलय गराइदिने खालको बुझे पछि उनी थप आक्रामक बनेको अनुमान छ ।

नेकपा एसका जिम्मेवार नेताहरूले नै अब यो पार्टी अलग अस्तित्वमा राखेर गरी नखाने र भविष्य भएका युवा नेता कार्यकर्ताको राजनीतिक जीवन बिग्रने भन्दै माधव नेपालको प्रधानमन्त्री बन्ने लालसासँग हजारौं कार्यकर्ताको भविष्य बिगार्न नहुने भनेर लबिङ चलाइरहेका छन् ।


प्रतिक्रिया

One thought on “उपचुनावमा ‘जमानत जफत’ हुँदै गर्दा ओलीप्रति माधव किन आक्रोशित ? यस्तो छ कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर