नागरिक उन्मुक्तिको भर नदेखिएपछि सरकार छाड्ने मूडमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह ! – Nepal Press

नागरिक उन्मुक्तिको भर नदेखिएपछि सरकार छाड्ने मूडमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह !

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीसँग मिलेर सरकार बनाउन आफू मुख्यमन्त्री छोड्नसम्म तयार रहेको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेसका सांसदहरूलाई बोलाएर उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक विक्रमसिंह धामीले सांसदहरूलाई मुख्यमन्त्रीले बोलाएको खबर गरेका थिए । साँझ ५ बजेदेखि करिब २ घण्टा मुख्यमन्त्री कार्यालयमा शाहले आफ्ना सांसदहरूसँग सरकार अल्पमतमा परेको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

छलफलमा कांग्रेस प्रमुख सचेतक धामीसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, मानबहादुर रावल, प्रकाश बम, गीता चौधरी, तुलसी देवकोटा र मेघराज खड्का उपस्थित थिए ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई ल्याउँदा पनि सरकार जोगिने सम्भावना कम रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । निरन्तरको छलफल र वार्तापछि नागरिक उन्मुक्तिका ४ जना सरकारमा सहभागी भएको उनले जानकारी दिएका थिए ।

‘सरकार जोगाउन मैले धेरै गरें । तर, नागरिक उन्मुक्ति पार्टीकै भर भएन’, मुख्यमन्त्री शाहले भने, ‘आज केन्द्रमा नयाँ सत्ता गठबन्धनको पक्षमा सबैले विश्वासको मत दिएपछि प्रदेशमा पनि हामीसँग रहने सम्भावना निकै कम भयो ।’

केन्द्रमा नयाँ सत्ता गठबन्धन भएपछि मुख्यमन्त्री शाहले माओवादीका तीन र नेकपा एकीकृत समाजवादीका एक मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि ती दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए ।

माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले सरकार जोगाउन नागरिक उन्मुक्तिका नेता रेशम चौधरीसँग संवाद थालेर नाउपाका ४ जनालाई मन्त्री बनाएका थिए ।

५२ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमत पुर्‍याउन २७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री शाहले नाउपाका ७, स्वतन्त्र र राप्रपा मिलाएर २७ पुर्‍याउने प्रयास गरेका थिए । तर, नाउपाले केन्द्रमा एमाले-माओवादीको सरकारलाई समर्थन गरेपछि प्रदेशमा त्यो सम्भावना नरहेको बुझाइ मुख्यमन्त्री शाहले आफ्ना सांसदहरूलाई सुनाएका छन् ।

मुख्यमन्त्री कार्यालयमा जम्मा भएका सबैजसो सांसदले जसरी पनि नाउपालाई मनाउन र सत्ता जोगाउन सुझाव दिएका थिए ।

‘त्यहाँ उपस्थित सबैले सत्ता जोगाउन र नागरिक उन्मुक्तिलाई मनाउन सुझाव दियौं’, एक सांसदले भने, ‘मुख्यमन्त्रीले पनि सरकार जोगाउन कसरत गर्ने बताउनुभएको छ ।’

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने सम्भावना कम भएको भन्दै राजीनामा दिने विषयमा पनि आफ्ना सांसदहरूसँग सल्लाह मागेका थिए । तर, सांसदहरूले भने तत्काल राजीनामा नदिन बरु मुख्यमन्त्री नै नाउपालाई दिएर भए पनि गठबन्धन जोगाउन सुझाव दिएका थिए ।

मङ्गलबार नागरिक उन्मुक्ति पार्टीको बैठकमा प्रदेश सांसद कैलाश चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भन्दै बैठक बहिस्कार गरेका थिए । त्यसपछि सरकारलाई बहुमत पु¥याउन सकस हुने सम्भावना बढेको थियो । बुधबार केन्द्रमा सत्ता गठबन्धनमै मतदान गरेपछि त्यो सम्भावना अझै बढेर गएको कांग्रेसको बुझाइ छ ।

तर, कांग्रेस भने मुख्यमन्त्री छोडेरै भए पनि सत्ता जोगाउने पक्षमा देखिएको छ ।

‘कति दिने कति लिने ? यो सबै निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई दिएका छौं’, बैठकमा रहेका एक सांसदले भने, ‘मुख्यमन्त्री छोडेरै भए पनि सत्ता जोगाउन उहाँ नै प्रयत्नशील भएको देखिएको छ ।’

यसअघि मंगलबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशको अङ्कगणितअनुसार सरकार बनाउन आवश्यक पहल गर्न प्रदेश सभापतिहरूलाई निर्देशन दिएका थिए ।

कांग्रेसका प्रदेश सभापति र मुख्यमन्त्रीहरू सभापति देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । सभापतिले प्रदेशगत जानकारी सभापतिहरूसँग लिएका थिए ।

‘आआफ्नो तर्फबाट सरकार बनाउन प्रयास गर्न सभापतिले भन्नुभएको छ’, सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले भने, ‘माथिबाट के गर्नुपर्छ भन भन्नुभएको छ ।’

सुदूरपश्चिम र गण्डकीमा सरकार बनाउन सकिने सम्भावना रहेको त्यहाँका मुख्यमन्त्रीले सभापति देउवालाई जानकारी गराएका थिए । देउवाले सरकार बनाउन आवश्यक पहल गर्ने भनेपछि प्रदेशमा पनि नाउपासँग छलफल गर्ने र सरकार जोगाउने गृहकार्य सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *