सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्री शाहसँग अब दुई विकल्प – Nepal Press

सुदूरपश्चिम सरकार अल्पमतमा, मुख्यमन्त्री शाहसँग अब दुई विकल्प

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको हो ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । मुख्यमन्त्री शाहलाई अहिले सम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्दैनन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन् उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुन सक्छन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म नयाँ गठबन्धनमा जाने वा पुरानैमा रहने भन्ने विषयमा कुनै टुङ्गो लगाएको छैन । नागरिक उन्मुक्तिले एमाले माओवादीको गठबन्धनमा सहभागी हुने निर्णय गर्दा मुख्यमन्त्री शाहले राजीनामा दिनु वा राजीनामा दिने गरी विश्वासको मत लिनु बाहेकको अन्य कुनै विकल्प पाउने छैनन् ।

तर, अहिले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयासमा मुख्यमन्त्री शाह लागेका छन् ।

‘उहाँ (मुख्यमन्त्री)मा अझै विश्वास देखिन्छ’ मुख्यमन्त्री शाह निकट स्रोतले भन्यो ‘नाउपा, राप्रपा र स्वतन्त्र मिलाउन सक्दा सरकार ढल्दैन ।’

मुख्यमन्त्री निकट स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी पनि छलफल सुरु भएको दाबी गरेको छ । ‘उहाँबाट केही ठोस निष्कर्ष आएको छैन’ स्रोतले भन्यो ‘पुरानै गठबन्धन जोगाउन सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिन सकिने समझदारी बनेको छ ।’

तर, नाउपाले काङ्ग्रेससँग सहकार्य नगर्ने निर्णय गरेपछि मुख्यमन्त्रीका सबै बाटो बन्द हुने छन् । त्यो अवस्थामा उनले एक महिना अल्पमतमै रहेर विश्वासको मत लिँदा सम्मको राजनैतिक समीकरण कुर्न वा त्यो भन्दा अघि नै राजीनामा दिने बाहेकका विकल्प छैनन् । नाउपाले समर्थन कांग्रेसलाई नहुँदा उनले विश्वासको मत नपाउने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर