संघीय निर्वाचनमा ह्याट्रिक गरेका भण्डारीको सिंहदरबारमा तेस्रो पाइला – Nepal Press

संघीय निर्वाचनमा ह्याट्रिक गरेका भण्डारीको सिंहदरबारमा तेस्रो पाइला

कैलाली । २०७० सालको निर्वाचनमा माओवादीका उम्मेदवार नरेन्द्र कुँवरसँग एमालेका उम्मेदवार दामोदर भण्डारी दोस्रो पटक निर्वाचनमा होमिँदै थिए । अघिल्लो पटक भण्डारीलाई हराएर पहिलो संविधानसभा सदस्य भएका कुँवर दोस्रो पटक पनि भण्डारीलाई नै हराएर दोस्रो संविधानसभा सदस्य बन्ने दाउमा थिए ।

यता भण्डारी भने इतिहासमा कहिल्यै एमाले विजयी नभएको जिल्लामा पार्टीको झन्डा फरफराउने रणनीतिमा थिए । एमाले र माओवादीको चुनावी प्रतिस्पर्धामा कांग्रेस आफ्नो पुरानो विरासत फर्काउने लयमा थियो ।

२०७० को निर्वाचनको नतिजाले बैतडीमा एमालेले इतिहास रच्यो । २०४८ देखि जीतविहीन रहेको बैतडीमा भण्डारीले एमालेको लागि एक क्षेत्र जिताए । पहिलो संविधानसभा सदस्यलाई हराएर पहिलो पटक दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भण्डारीले बुधवार तेस्रो पटक सिंहदरबारको यात्रा तय गरे ।

तेस्रो पटक एमालेबाट मन्त्री नियुक्त भण्डारी बैतडीमा तेस्रो पटक एमालेको तर्फबाट लगातार जित्ने एक मात्र नेता हुन् । २०७० सालका एउटा क्षेत्रमा जीत निकालेको एमालेले त्यसपछि २०७४ र २०७९ मा जिल्ला कब्जा गर्‍यो ।

दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुँदा राज्यमन्त्रीको जिम्मेवारी पाएका भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फुल मन्त्रीमा नियुक्त भए । अर्थ राज्यमन्त्री भएका भण्डारी अघिल्लो पुस १० मा थोरै समयका लागि मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भए ।

एमाले माओवादी एक ठाउँमा हुँदा मन्त्री भएका भण्डारी एमालेले समर्थन फिर्ता लिएपछि बाहिरिएका थिए । त्यसको करिब १५ महिना पछि एमाले माओवादी सरकार गठन हुँदा सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सकारात्मक रिजल्ट आउने गरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिइसकेका छन् । बुधवार साँझ राष्ट्रपति कार्यालयबाट शपथग्रहण पश्चात् मन्त्रालयमा आयोजित परिचयात्मक कार्यक्रममा उनले उक्त निर्देशन दिएका हुन्।

‘म फेरि अर्को पटक झन्डै एक बर्सपछि यो जिम्मेवारीमा फर्किएको छु। मैले पाएको यो जिम्मेवारीलाई सही ढङ्गले काममा प्रयोग गर्नेछु । हाम्रा अघि धेरै चुनौतीहरू छन्,ती चुनौतीलाई सम्भावनामा बदल्ने हामी सबैको दायित्व हो। हामी सबैले आम जनतामा रहेको निराशालाई आशामा बदल्नु छ त्यसैले सबैको साथ सहयोगको अपेक्षा गर्दछु।’मन्त्री भण्डारीले भनेका थिए ।

भण्डारीले त्यसपछि जितिरहे…

बैतडीमा २०४८ सालमा विनयध्वज चन्द, कृष्णकुमार जोशी र नरेन्द्र बम विजयी भएका थिए । यी तीनै नेता कांग्रेसका हुन् । २०५१ मा बैतडीलाई दुई क्षेत्रमा विभाजन गरियो । दुवै क्षेत्रबाट राप्रपाका लोकेन्द्रबहादुर चन्द विजयी भए । २०५३ मा क्षेत्र नम्बर १ चन्दले छोड्दा भएको उपनिर्वाचनमा कांग्रेसका केशवबहादुर चन्द विजयी भए ।

२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका नरेन्द्र कुँवर २७ हजार १३० मतसहित विजयी हुँदा एमालेका भण्डारीले ९ हजार ५९ मत मात्रै पाएका थिए । अर्को क्षेत्रमा पनि माओवादीकै रेणु चन्द विजयी भइन् ।

त्यसको ६ वर्षपछि भएको दोस्रो संविधानसभा निर्वाचनमा साढे ११ हजार बढी ल्याएर भण्डारीले परिणाम उल्ट्याए । निर्वाचन क्षेत्र नम्बर १ बाट भण्डारीसँगै कांग्रेसका लोकराज अवस्थी प्रतिस्पर्धामा थिए । अवस्थीले १० हजार ३ सय मत पाए ।

२०७४ सालको निर्वाचनमा उनलाई जीत निकाल्न त्यति कठिन भएन । पहिलो प्रतिस्पर्धामा तेब्बर मतले पराजित गरेका विजय सुन्दर संलग्न पार्टी माओवादी केन्द्रसँगको तालमेलमा उनले दोस्रो जीत निकाले । देश संघीय संरचनामा गएपछि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा भण्डारीले त्यति वेला साढे ३९ हजार मत पाएका थिए । कांग्रेसका उम्मेदवारसँग भण्डारीको मतान्तर ११ हजार २३३ थियो ।

भण्डारीको ह्याट्रिक जीत निकै गौरवमय छ । पाँच दलीय गठबन्धनलाई बैतडीमा पराजित मात्रै गरेनन्, उनी सुदूरपश्चिमबाट एमालेका लागि संघीय संसदमा प्रतिनिधित्व गराउने दोस्रो नेता बने । १६ संघीय निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा एमालेले दुइटा मात्रै क्षेत्र जित्न सक्यो । भण्डारीले यो पटक विजय सुन्दरलाई पराजित गरे । यति मात्रै होइन जुन पार्टीको उम्मेदवारलाई पराजित गरे सोही पार्टीको नेतृत्वमा सरकारमा दोस्रो पटक सहभागी भए ।

को हुन् भण्डारी ?

बैतडीको पाटन नगरपालिका–६ मा बुवा उदयसिंह र आमा कमलाका सुपुत्र भण्डारी २०३० साल कात्तिक २० गते जन्मिएका थिए । भण्डारीले १६ वर्षको उमेरबाट राजनीति सुरु गरेका हुन् ।

२०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष हुँदै २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने ।

२०५४ सालमा जिल्ला कमिटी उपसचिव भएका भण्डारी २०५६ देखि २०६४ सम्म बैतडीको पार्टी प्रमुख (सचिव)हुँदै एमाले बैतडीका अध्यक्ष बने । २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

अघिल्लो पटक सुदूरपश्चिममा ११ क्षेत्र जितेको एमाले अहिले २ क्षेत्रमा सीमित भएको छ । भण्डारीको काँधमा पार्टी बलियो बनाउने मात्रै होइन सरकार दरिलो बनाउने जिम्मेवारी पनि आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *