टेलिभिजन हेर्ने उपभोक्तालाई राहत-सशुल्क च्यानलमा फागुनदेखि आलाकार्टा मूल्य प्रणाली लागू – Nepal Press

टेलिभिजन हेर्ने उपभोक्तालाई राहत-सशुल्क च्यानलमा फागुनदेखि आलाकार्टा मूल्य प्रणाली लागू

काठमाडौं । नेपालमा विदेशी टेलिभिजन च्यानल हेर्ने दर्शकले अब आफूले चाहेको च्यानलको मात्र पैसा तिरे हुने नियम लागू भएको छ ।

उपभोक्ताले जति वटा च्यानलको ग्राहक बनेको हो त्यतिको मात्र शुल्क लिनेगरी आलाकार्टा प्रणाली कार्यान्वयनमा आएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी टेलिभिजन वितरक संस्थाहरु एमएसओ, डीटीएचलगायत सेवा प्रदायकलाई यसअघि नै फागुन २ गतेभित्र आलाकार्टा मूल्य प्रणाली लागू गर्न भनी सकिएको जनाएको छ ।

उपभोक्तालाई खाए खा नखाए घिचको शैलीमा च्यानल वितरण गरेर मनपरी शुल्क उठाउन नपाइने निर्णय सञ्चारमन्त्री रेखा शर्माले यसअघि नै गरिसकेकी छन् । आला कार्टा मूल्य प्रणाली लागू नगर्नेमाथि कारबाही हुने विभागले जनाएको छ ।

फागुन १ गतेभन्दा पहिले नै अग्रिम भुक्तानी गरेका ग्राहकको पैसा अबको भुक्तानीमा समायोजन गर्नुपर्ने विभागले जनाएको छ । विदेशी सशुल्क च्यानलहरुले नेपालमा आधिकारिक विक्रेता खडा गर्नुपर्ने र उसले विभागसँग सम्झौता गर्नुपर्ने नियममा उल्लेख छ ।

टेलिभिजन हेर्ने दर्शकहरूलाई सहुलियत दिन र इन्टरनेट सेवाप्रदायकको मनपरी रोक्न आलाकार्ट प्रणाली लागू गर्न लागिएको हो । यसअनुसार आफूले हेर्ने टीभी च्यानलको संख्याका आधारमा शुल्क तिर्न सकिनेछ । दर्शकले आफ्नो रोजाइका च्यानलमात्रै खरिद गर्न र सीमित शुल्क तिर्नसक्ने गरी व्यवस्था मिलाइँदैछ ।

अहिले तयार गरिएको प्रस्तावमा टीभी च्यानल खरिदका लागि आधारभूत २५० रुपैयाँ र अधिकतम ५०० रुपैयाँ शुल्क तय गरिएको छ । सिग्नल वितरकले प्रत्येक उपभोक्ताबाट न्यूनतम मासिक २५० रुपैयाँ असुल गर्न सक्छन् । अधिकतम च्यानल खरिद गर्ने उपभोक्ताले मासिक ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त रकमभन्दा माथि जति च्यानल हेरे पनि शुल्क लिन पाइँदैन ।

के हो आलाकार्ट ?

आलाकार्ट भन्नाले ‘एकर्डिङ टु द कार्ड’ भन्ने बुझिन्छ । यो फ्रेन्च भाषाको शब्द हो र हाल विश्वव्यापी प्रयोगमा छ । विगतमा यो शब्द रेस्टुरेन्ट तथा होटलमा उपभोक्ताले खाने वा पिउने कुरा तथा अन्य सेवा९सुविधाहरुको छनोट गर्न प्रयोगमा ल्याएको देखिन्छ ।

डिजिटल टेलिभिजन वितरण प्रणालीको सन्दर्भमा आलाकार्ट भन्नाले उपभोक्ताहरुले उपलब्ध टेलिभिजनका सूची तथा प्याकेजहरूबाट आफूले चाहेको बखतमा चाहेजस्तो टेलिभिजन कार्यक्रम वा च्यानल हेर्ने प्राविधिक प्रबन्ध सहितको व्यवस्थालाई बुझाउँछ । यसमा उपभोक्ताले आफ्नो रोजाइका टेलिभिजन च्यानल वा च्यानलको प्याकेज छनौट गर्न पाउँछन् र सोही बमोजिम मात्र शुल्क तिर्ने गर्दछन् ।

यसअनुसार थोरै च्यानल हेर्ने उपभोक्ताले थोरै मात्र शुल्क तिरे पुग्छ भने धेरै च्यानल हेर्ने उपभोक्ताले धेरै शुल्क तिर्नुपर्ने हुन्छ । अहिले उपभोक्तासँग सम्पूर्ण टेलिभिजन च्यानलहरूको शुल्क उठाउने गरिएको छ, चाहे उनीहरुले हेरुन् वा नहेरुन् । यसबाट थोरै संख्यामा टेलिभिजन च्यानल हेर्ने उपभोक्ताहरुको प्रत्यक्ष शोषण हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर