व्यवसायीमाथि गोली प्रहारपछि सुरक्षाको माग्दै प्रशासन पुगे व्यवसायिक संस्थाहरु – Nepal Press

व्यवसायीमाथि गोली प्रहारपछि सुरक्षाको माग्दै प्रशासन पुगे व्यवसायिक संस्थाहरु

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाटका एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि व्यवसायीहरुले शान्ति र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई ज्ञापनपत्र बुझाएका छ्न् ।

सुनचाँदी व्यवसायी गजेन्द्र बिकमाथि शनिबार साँझ सुस्ता १ बरुवामा रहेको पसल बन्द गरी बर्दघाट घर फर्कने समयमा लुटेरा समूहले बर्दघाट १६ को केराबारीमा गोली प्रहार गरेका थिए । उनको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।

नवलपरासीका उद्योग वाणिज्य संघ, सुनचाँदी व्यवसायी नवलपरासी, उद्योग वाणिज्य संघ बर्दघाट, सुनवल उद्योग वाणिज्य संघलगायत व्यसायिक संस्थाका प्रतिनिधिहरुले संयुक्तरुपमा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।

व्यवसायीहरुले पछिल्लो घटनाहरुले जिल्लाको शान्ति सुरक्षाको स्थिति बिग्रिएको बताउँदै सुरक्षा चिन्ता व्यक्त गरेका छन् । सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीका अध्यक्ष अर्जुन सुनारले पछिल्लो समय सुनचाँदी व्यवसायीहरु असुरक्षित हुने घटना बढेको र जिल्ला प्रशासनलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए ।

ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी देवकोटाले व्यवसायीहरुको सुरक्षालाई गम्भीर रुपमा लिएको बताउँँदै सुरक्षा व्यवस्थालाई थप कडाई बनाइने बताउँदै प्रहरीले घटनामा संलग्नको खोजीकार्य तीव्र बनाएको बताए । घटनाको थप अनुसन्धान भइरहेको बताउँदै उनले जिल्लाको शान्ति सुरक्षा कायम गरिने विषयमा ढुक्क रहन आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले अनुसन्धान जारी रहेको बताउँदै छिट्टै गोली प्रहार गर्ने समूह नियन्त्रणमा आउने दाबी गरे । प्रहरीको प्राविधिकसहितको टोलीमार्फत थप अनुसन्धानको काम सुरु भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर