जिल्ला अदालतकै रोग उच्चमा: समयाभावको बहानामा सन्दीपको मुद्दा सुनुवाइ गर्न न्यायाधीशद्वारा इन्कार – Nepal Press

जिल्ला अदालतकै रोग उच्चमा: समयाभावको बहानामा सन्दीपको मुद्दा सुनुवाइ गर्न न्यायाधीशद्वारा इन्कार

हेर्दाहेर्दैमा राख्नेगरी सुनुवाइ नगर्ने न्यायाधीशको अडान, अर्को पेशी २३ गतेलाई तोकेर अग्राधिकार दिन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण भन्दै न्यायाधीशले मुद्दालाई नभ्याइनेमा राखेका थिए ।

अदालतले एउटा विज्ञप्ति जस्तो आदेश जारी गरेर मुद्दा सुनुवाइ नहुनुको ‘जस्टिफिकेसन’ पनि दिन खोजेको छ, जुन सामान्यतया गरिँदैन ।

आदेशमा भनिएको छ, ‘यसमा पक्षहरूको तर्फबाट रहनुभएका कानून व्यवसायीहरुको संख्या र निजहरुलाई बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौं नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइएको हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाइ नियमानुसार पेश गर्नु ।’

समय अभावको बहाना गरिए पनि अदालतलाई सुनुवाइ सुरु गर्नै समयाभाव भने थिएन । न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको मुद्दा ६ नम्बरमा थियो । मुद्दाको पालो लञ्च अगाडि नै आएको थियो । न्यायाधीशद्वयले लञ्चपछि सुरु गर्ने भने ।

लञ्चपछि बसेको इजलासमा सुरुमै न्यायाधीश चन्दले सोधे, ‘केही आदेश गर्नुपर्ने छ कि ?’

यो प्रश्नमै आशय स्पष्ट थियो कि उनी सुनुवाइ सुरु गर्ने पक्षमा छैनन् । तर, न्यायाधीश चन्द यतिमा रोकिएनन् ।

आदेश गर्नुपर्ने केही नभएको बताइएपछि उनले आज सुनुवाइ गर्न नभ्याइने बताए । उनको तर्क थियो, ‘सुनुवाइ सुरु गरेपछि हेर्दाहेर्दैमा राख्नुपर्छ । हेर्दाहेर्दैमा राखियो भने हामी प्रभावमा पर्न सक्छौं ।’

न्यायाधीश चन्दको अचम्मको तर्क सुनेर दुवै पक्षका कानून व्यवसायी जिल्लिएका थिए । प्रायःजसो ठूला मुद्दाहरु आज सुनुवाइ थालेर आजै फैसला हुँदैनन् । कुनै कुनै मुद्दाको फैसला पेशी हप्तौंसम्म हेर्दाहेर्दैमा चढिरहेका हुन्छन् । तर, सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा नराख्ने न्यायाधीशको अडान न्यायिक प्रक्रियाकै खिलाफमा रहेको मुद्दामा संलग्न एक कानून व्यवसायीले बताए ।

‘अझ म प्रभावमा पर्नसक्छु भनेर आफैंले स्वीकारोक्ति गर्नु भनेको गम्भीर नैतिक विचलनसमेत हो’, ती कानून व्यवसायीले भने ।

सन्दीपको मुद्दा यसअघि जिल्ला अदालतमा चल्दाखेरि पनि न्यायाधीशहरु भागाभाग बनेका थिए । सबै न्यायाधीशले आफूबाट पन्छाउने होड गर्दा मुद्दा लामो समय लम्बिएको थियो । यही रोग उच्च अदालतमा पनि सरेको छ ।

यसअघि गत १० वैशाखका लागि तोकिएको पेशी पनि हेर्न नभ्याइनेमा परेको थियो । उच्च अदालतले सन्दीपको मुद्दामा अर्को पेसी वैशाख २३ मा तोकेको छ र सो दिन प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश गरेको छ ।


प्रतिक्रिया

One thought on “जिल्ला अदालतकै रोग उच्चमा: समयाभावको बहानामा सन्दीपको मुद्दा सुनुवाइ गर्न न्यायाधीशद्वारा इन्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर