कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न – Nepal Press

कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिम सम्पन्न भएको छ । वैशाख २६ देखि २८ गतेसम्म भक्तपुर बोडेमा आयोजित तालिम सम्पन्न भएको हो ।

परियोजनाबाट अनुदान प्राप्त गरेका अगुवा कृषक, व्यवसायी र उद्यमीहरुको सहभागिता रहेको सो तालिममा झापा, मोरङ्ग, धनुषा, नुवाकोट, चितवन, गोरखा, कपिलवस्तु, प्यूठान, लमजुङ्ग, स्याङ्गजा, दाङ्ग, बाँके, सुर्खेत, रुपन्देही र नवलपरासी पूर्वका गरि २७ जिल्लाहरुबाट सहभागिता थियो ।

तालिमको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले तालिमबाट क्षमता अभिवृद्धिमा सहयोग पुगेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत आशा शर्माले तालिम प्रभावकारी र परिणाममुखी रहेको र कृषि उद्यम केन्द्रको राम्रो व्यवस्थापनका साथै सम्बन्धित विषय विज्ञहरुलाई आमन्त्रण गरि सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा केन्द्र सफल भएको बताइन् ।

कृषि उद्यम केन्द्रका बोर्ड सदस्य सुनिता न्हेमाफुकीले सिकेको ज्ञान सिपलाई व्यवहारमा उतार्नु पर्ने र कृषकहरुको हकहितको सवालमा आफू निरन्तर रुपमा सरोकारवालाहरुको पक्षमा वहस पैरवी गर्दै सचेतना बढाउने कार्यमा लागेको जानकारी गराउँदे कृषि उद्यम केन्द्र उपयुक्त मन्च रहेकोले केन्द्रसँग जोडिन सहभागिहरुलाई आह्वान गरेकी छिन् ।

सहभागीहरुलाई फिल्ड अवलोकन भ्रमण र उद्यमीसँग अन्तरक्रियात्मक छलफलको लागि चांगुनारायणको चम्पक पाउ उद्योगका महिला उद्यमी देवकी श्रेष्ठसँग अनुभव आदान प्रदान गर्ने कार्यक्रम राखिएको थियो । सो अवसरमा महिला उद्यमी श्रेष्ठले आफुले हजारौ हन्डर ठक्कर खादै व्यापारमा घाटा भएता पनि व्यवसायबाट पलायन नभई निरन्तर संघर्ष गरेको सुनाइन् ।

झापादेखि कञ्चनपुरका २७ जिल्लाबाट आएका कृषि उद्यमीहरुले कृषि क्षेत्रको विकास, नीति नियम संशोधन, मल, वीउ विजन, माटो परिक्षण, बढ्दो आयात, घट्दो निर्यात, युवा पलायन आदिको समस्या समाधानको लागि परियोजना मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हस्तान्तरणको लागि सुझाव पत्र तयार गरि परियोजनाका बरिष्ठ कृषि अधिकृत आशा शर्मालाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *