‘विद्यार्थीलाई देशमै पढ्ने उत्साह जगाउन विद्यार्थी महोत्सव गरेका हौँ’ – Nepal Press

‘विद्यार्थीलाई देशमै पढ्ने उत्साह जगाउन विद्यार्थी महोत्सव गरेका हौँ’

अनेरास्ववियुले जेठ १, २ र ३ गते विद्यार्थी महोत्सव आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने विद्यार्थी महोत्सवमा नेपालका सबै विश्वविद्यालयदेखि विदेशका केही विश्वविद्यालयका विद्यार्थीहरु आउनेछन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवको सञ्चालनको प्रमुख खम्बाहरुमा एक खम्बा हुन नरेश रोकाया । अनेरास्ववियुका महासचिव हुन् रोकाया । उनैले औपचारिक कार्यक्रम संचालन गर्नेछन् ।

र कार्यक्रमको मुख्य पक्ष जनपरिचालनदेखि स्टलसम्मको प्राविधिक जिम्मेवारी उनकै काँधमा छ । बाजुरामा जन्मेका, पोखराबाट विद्यार्थी राजनीतिमा चिनिएका र अनेरास्ववियुको महाधिवेशनबाट सर्वाधिक मत ल्याएर महासचिव भएका हुन रोकाया ।

नेपाल प्रेसकर्मी विराट अनुपमसँग विद्यार्थी महोत्सवको सवालमा कुराकानी गर्नु अगाडि उनी त्रिचन्द्र क्याम्पसमा व्यस्त थिए । काठमाडौं भित्रका अनेरास्ववियुका विभिन्न कमिटीका अध्यक्षहरुसँगको छलफल गरिरहेका थिए । अन्तरवार्ता सकिएर पनि उनी अर्को यस्तै जमघटमा पुगेका थिए । उनै रोकायासँग गरिएको कुराकानीको सम्पादित अंश नेपाल टकमा ।

कार्यक्रम तयारीको धपेडी कतिको छ ? कतिलाई छ ?

सबैलाई छ । अध्यक्ष समिक बडाल, महासचिव मदेखि सबै अनेरास्ववियुका कमरेडहरु सबैलाई व्यस्तता छ । आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्न सबै दत्तचित्त भएर लाग्नु भएको छ । यो सामूहिक काम भएकोले सामूहिक जिम्मेवारी सबैको छ ।

करोड बढी बजेटको कार्यक्रम छ । एक विशाल ईभेन्ट म्यानेजमेन्टले गर्नुपर्ने जस्तो कार्यक्रम संगठनले गर्दा कतिको सफल वा असफल होला ?

हामीसँग सबैखाले जनशक्ति छन् । चाहे विज्ञानका कार्यक्रम होस् चाहे सांस्कृतिक प्रस्तुति सबैमा हामी आत्मनिर्भर छौँ । लाइभ गेमिङ जस्ता विभिन्न कार्यक्रममा प्राविधिक सहयोगीहरुलाई लिएका छौँ । बाँकी सबै हाम्रा आफ्नै जनशक्ति छन् । मेडिकल क्याम्प चलाउने हाम्रा साथीहरु हुनेछन् । इन्जिनियरिङ क्षेत्र हेर्ने हाम्रा साथीहरु हुनेछन् । व्यवस्थापनदेखि सूचना प्रविधिका काममा हाम्रै साथीहरु छन् । यो गौरवको कुरा हो ।

औपचारिक कार्यक्रमको संचालन त छँदैछ, कार्यक्रममा देखाउने जनशक्ति र स्टलको नेतृत्वको जिम्मा पनि तपाइँकै छ । दलका कार्यक्रममा त गाडीका गाडी मान्छे लगेर भेला गरिन्छ । तीन दिनमा एक लाख मान्छे भेला गर्ने लक्ष्यको तयारी कस्तो छ ?

स्वतस्फुर्त विद्यार्थी आउँछन् । काठमाडौं विश्वविद्यालयका मेधावी विद्यार्थीले लाइभ प्रोजेक्ट ल्याउँछन् । अरु हेर्न आइहाल्ने भए । भक्तपुरको दुवाकोटको नेपाल इन्जिनियरिङ कलेजको चार पाँच लाइभ प्रोजेक्ट छ । त्यहाँबाट केही गाडी आइहाल्ने भए । त्रिविको आठदेखि ११ सम्म विभागका प्रोजेक्ट छन् । हाम्रो विद्यार्थी महोत्सवमा १५० हाराहारी स्टल हुनेछन् । नेपालका सबै विश्वविद्यालयहरु अट्नेछन् ।

देशका सार्वजनिक र नीजि सबै विद्यालयको मानक उपस्थिति हुन्छ । काठमाडौं बाहिरका पोखरा विश्वविद्यालय, पूर्वान्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्व विद्यालय आदि सबैबाट विश्वविद्यालयका सूचनाका स्टल हुनेछन् । हामीले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुलाई बोलाएका छौँ । उहाँहरु आउनुहुन्छ ।

अनेरास्ववियुका पुरानो तरिकामा चन्दा रसिद देखिन्थ्यो । यहाँ परियोजना प्रस्ताव छ । पहिले अभिवादन सहित भनेर संगठनको बढाइचढाइ गरिन्थ्यो । के-के गने कसरी गर्ने विषय राखेर वृहत प्रस्ताव पुस्तिका देखियो । कम्युनिष्ट जार्गनभन्दा प्राविधिक कुरामा ध्यान दिएको पाइयो । प्रस्ताव पुस्तिकाको भाषा अंग्रेजीमा छ । सबैलाई समेटेर निम्ताे गरेको देखिन्छ । मिनेन्द्र रिजालदेखि सिके राउतसम्म, मानुसी यमी भट्टराईदेखि प्रदीप पौडेलसम्मलाई विभिन्न प्यानलमा राखिएको छ । अनेरास्ववियुको कार्यक्रमकको पुरानो तौरतरिका भन्दा यो त पुरै डिपार्चर भएको देखियो । किन यस्तो भइरहेको छ ?

व्यवस्था परिवर्तनको लागि विद्यार्थी आन्दोलनले नेतृत्व गर्यो । अब अवस्था परिवर्तनको लागि पनि नेतृत्व आवश्यक छ । तुलनात्मक रुपमा अवस्था पनि परिवर्तन भएको छ । अब गुणत्मक बनाउनु छ । समयको पदचाप पछ्याउँदै अबको विद्यार्थी आन्दोलन अगाडि बढ्नु पर्छ । नयाँ पुस्ताका विद्यार्थीले चाहेको कुरा नयाँ तरिकाले दिनुपर्छ । निरंकुशतन्त्रसँग लड्दाको युगको एक तरिका थियो । लोकतन्त्र बलियो नुहुँदाको युगको एक तरिका थियो । अब बदलिएको समय अनुहार संगठन तथा नेताहरुले आफू र आफ्नो कार्यशैली बदल्ने कुरा प्रमुख हो । अनेरास्ववियुको अहिलेको कमिटीले गरेको यही हो ।

विद्यार्थी महोत्वसका सरोकारवालाहरु विद्यार्थी हुन् । अभिभावकहरु हुन । शैक्षिक संस्था सञ्चालकहरु हुन् । विद्यालय तथा विश्वविद्यालयहरु हुन् । उनीहरुलाई कस्ता कार्यक्रमले तान्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थीहरुलाई देशमै पढ्ने उत्साह जगाउन विद्यार्थी महोत्सव गरेका हौँ । रोजगार र स्वरोजगार बढाउने अर्को मुद्दा छ । विश्वविद्यालयका लेक्चरहरु भेन्टिलेसनबाट होइन राजमार्गबाट प्रतिस्पर्धाबाट आउनु पर्यो । विद्यालयमा त्यही हुनुपर्यो । के बन्छस् भन्दा डाक्टर, इन्जिनियर र पाइलट भन्छ । शिक्षक बन्छु, लेक्चरर बन्छु, प्राध्यापक बन्छु भन्दैन । त्यो भन्ने मनोवैज्ञानिक र वैधानिक व्यवस्था ल्याउन पनि यो कार्यक्रम हो ।

कक्षा १२ पास गरेका विद्यार्थीहरुले कृषि पढ्न पनि भारत तथा अरु देश गएको पाइयो जबकि देशमै यहाँ राम्रा कलेज छन् । आज भारतबाट मेडिकल पढ्न कर्णालीदेखि पोखरासम्म विद्यार्थी आएका छन् । नेपालबाट बाहिर जानेभन्दा नेपालमै पनि पढ्ने अवसर छन् है भन्ने एकद्वार सूचना दिने काम महोत्सवबाट हुन्छ । नेपालमै बसेर विदेशी मल्टिनेसनल कम्पनीमा काम गर्ने आईटी जनशक्ति नेपालमा छन् । त्यो सूचना दिएर हामी विद्याथीहरुलाई प्रेरणा दिन्छौँ । अभिभावकहरुलाई उत्साह दिन्छौँ ।

नेपाली विश्वविद्यालयका कक्षाहरुमा कोटा तोकिएका छन् । नेपालमै पढाइ हुने विदेशी सम्बन्धनमा त्यो छैन । यस्ता कुरालाई बहसमा ल्याउन हामी सक्रिय छौँ । यसले विद्यालय तथा विश्वविद्यालय नेतृत्वहरुमा उर्जा दिनेछ । अहिले कतिपय विश्वविद्यालयका कतिपय विभाग र कक्षाकोठाहरु खाली छन् । अब त्यस्तो हुन नदिन हामी लाग्नेछौँ ।

शहीद दशरथचन्द राष्ट्रिय स्वाथ्य विज्ञान प्रतिष्ठान बन्ने कुरा भएको दशकौँ भयो । यो बनेको भए आज कर्णालीमा, पोरखामा, विराटनगरमा आएर पढ्ने विद्यार्थीहरु जस्तै त्यहाँ पढ्न आउँथे । पढ्ने माहोल बढाउने मुद्दा प्रवर्द्धन गरेर नेपाललाई दक्षिण एसियाको राम्रो शैक्षिक गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामीले वृहत्तर लक्ष्य राख्नुपर्छ । यसको लागि सरकार तयार हुनुपर्छ ।

तपाइँहरुको स्टलको नियम रोचक देखियो– सामुदायिकलाई ‘फ्रि’ अर्थात निःशुल्क र निजीलाई ‘फि’ अर्थात सःशुल्क । किन ?

शुल्कको सवालमा नीजिज विद्यालय सामुदायिक भन्दा अब्बल छन् । शिक्षा त सामुदायिकहरुले पनि राम्रो दिएका छन् । सबै नभए पनि केही अब्बल नमुना विद्यालयहरु छन् । हामी सामुदायिकलाई त्यही भएर फ्रि र नीजिलाई फि मोेडेलमा स्टल राख्दैछौँ । विश्वनिकेतन, रत्नराज्य, ज्ञानेदय, बोडे मावि, आदर्श मावि आदि आउँदैछन् । हामी उनीहरुलाई शुल्क लिन्नौँ ।

अनेरास्ववियुकै नेतृत्वमा हुनु भएका अनुहारहरु नेकपा एमालेको सचेतक, प्रमुख सचेतकदेखि मन्त्रीहरुसमेत हुनुहुन्छ । उहाँहरुबाट सहयोग कस्तो छ ?

उहाँहरु सबैको सहयोग छ । उहाँहरुसँग हाम्रो विशाल अपेक्षा पनि छ । विद्यालय शिक्षा विधेयक संसदमा अलपत्र भएको छ । लुकेर बसेको छ । ५२ वर्ष अगाडि नेपालमा पहिलो शिक्षा ऐन आयो । त्यो परिवर्तन हुनुपर्छ । धेरै परिमार्जन हुनुपर्छ । उहाँहरुलाई हामीले अवधारणापत्र नै दिएका छौँ । दफावार छलफल सुरु होला । भएपछि हामी नयाँ ढंगले संगठनको तर्फबाट दबाब सिर्जना चै गछौँ ।

कार्यक्रम भएपछि कार्यक्रममा जोडिएका मान्छेहरु रहँदासम्म मात्रै इतिहास रहने हाम्रा नेपाली संगठनहरुको परम्परा छ । विद्यार्थी महोत्सवको कार्यक्रमको संस्थागत स्मृति राख्ने तयारी कस्तो छ ?

यसमा सबै तयारी छ । हामीसँग शब्द, अडिओ र भिडिओ सबै हुनेछ । अब बन्ने प्रपोजलमा हामीले कार्यक्रम नै क्यूआर गरेर हेर्न मिल्ने बनाउँछौँ । संस्थागत स्मृतिमा हाम्रो बलियो तयारी छ ।

नेपालबाहिरबाट बोलाइएका अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका नवनिर्वाचित सभापति धनन्जय आउँदैछन् । अरु देशबाट बोलाइएको छैन । यसो किन गरियो ?

जवाहरलाल नेहरु विश्वविद्यालयका स्ववियू सभापति धनन्जय राम्रो विद्यार्थी नेता हो । उहाँ दलित समुदायको पनि हुनुहुन्छ । त्यो अर्को सुन्दर पक्ष हो विद्यार्थी आन्दोलनलाई । अगाडि दिनमा गर्ने विद्यार्थी महोत्सवमा हामी सार्क हुँदै एसियास्तरको निम्तो गर्ने तयारीबारेमा सोच्नेछौँ । कम्तिमा बीबीआइएन अर्थात बंगलादेश, भुटान, भारत र नेपालका विद्यार्थी भेला हुने स्तरको विद्यार्थी महोत्सव गर्ने हाम्रो सपना छ । यो हुन्छ ।

२०५७ सालमा हिक्मत कार्की अनेरास्ववियुको नेतृत्वमा हुँदा विद्यार्थी महोत्सव भएको थियो । अहिले २४ वर्षपछि दोस्रो पटक अझ खारिएर व्यापक भएको विद्यार्थी महोत्सव आयोजना हुँदैछ । अब तेस्रो संस्करण हुन कत्ति दशक कुर्नुपर्ला ?

अब नियमित हुन्छ । यो हाम्रो क्यालेन्डर ईभेन्ट हुनेछ । यसमा तलमाथि हुन्न । बरु यो राष्ट्रिय कार्यक्रमसँगै प्रदेश-प्रदेशमा प्रादेशिक मोडेलका अरु कार्यक्रमहरु हुन सक्छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर