मधेश कृषि विश्वविद्यालय शिलान्यासमा जसपा र जनमत आमने-सामने – Nepal Press

मधेश कृषि विश्वविद्यालय शिलान्यासमा जसपा र जनमत आमने-सामने

जनकपुरधाम । सप्तरीको राजविराज नगरपालिकाका १३ स्थित मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास समारोहमा जसपा र जनमत पार्टी आमने-सामनेको स्थिति बनेको छ ।

शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउन लागेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरू विश्वविद्यालयको कार्यालयमा आइतबार तालाबन्दी गरे । जसपा अध्यक्ष यादवबाट शिलान्यास हुन नदिन नै जनमतले विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेको हो ।

तर तालाबन्दीका बाबजुद विश्वविद्यालयको शिलान्यास कार्यक्रम गर्न लागेको छ । जसपा अध्यक्ष यादव र मुख्यमन्त्री सरोज कुमार यादव राजविराज पुग्दैछन् । जनमत पार्टीले भने विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । विरोधका बाबजुद शिलान्यास कार्यक्रम जसरी पनि गराउन जसपा नेता कार्यकर्ताहरू तम्सिएका छन् ।

विश्वविद्यालयको भवन शिलान्यास गर्न लागेको राजविराज १३ सप्तरी क्षेत्र २ मा पर्छ । यो क्षेत्रबाट जसपा अध्यक्ष यादवलाई पराजित गर्दै जनमतका अध्यक्ष डा. सीके राउत निर्वाचित भएका छन् ।

आफ्नो क्षेत्रमा विश्वविद्यालयको शिलान्यास जसपा अध्यक्ष यादवबाट गराउन लागेकाले जनमतका अध्यक्ष डा. राउतले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । त्यसैले उनले नेता कार्यकर्तालाई विरोधमा उतारेका छन् ।

विश्वविद्यालयका सहकुलपति शिक्षा मन्त्री महेश यादव छन् । उनीसँग पनि शिलान्यासबारे सल्लाह नगरी कार्यक्रम गर्न लागेको जनमतको आरोप छ । यादव जनमत पार्टीबाट मन्त्री बनेका हुन् ।

तर विश्वविद्यालयका रजिष्टार भगवान् ठाकुरले शिक्षामन्त्री यादवलाई पनि आमन्त्रण गरेको दाबी गरे ‌। मन्त्री यादवले भने विश्वविद्यालयको शिलान्यास कार्यक्रम सहभागी नहुने बताए । उनले भने, ‘हामी विरोध गर्छौँ ।’

विरोधका बाबजुद शिलान्यास कार्यक्रम गर्न लागेको भन्दै सीके राउत आफ्नो सचिवालय फेसबुक पेजमार्फत् आक्रोश पोखेका छन् ‌। उनले भनेका छन्, ‘राष्ट्रियसभाको मुखमा निर्वाचन आचारसंहिता र मधेश सरकारको शिक्षा मन्त्रालयको आधिकारिक निर्णय विपरीत सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउने षड्यन्त्र रच्नु हो ।’

‘सप्तरीका जनतामाथि दमन गर्नु, सप्तरीको शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण रहेको आभाष हुन्छ’, उनले भनेका छन्, ‘सप्तरीमा दंगा फैलाउनका लागि नै यो सब भइरहेको स्पष्ट भइराखेको छ ।’

उनले प्रहरी प्रशासनमाथि प्रश्न गरेका छन्, ‘एउटा सानो घटना देखाएर कार्यक्रम गर्न अनुमति नदिने प्रहरी प्रशासन सप्तरी जिल्लाको शान्ति सुरक्षा खलल हुँदा पनि किन जबरजस्ती कार्यक्रम गर्न खोज्दैछ ?’

उनले वैधानिक तरिकाले मन्त्रालय र विश्वविद्यालय सिनेटबाट निर्णय गरी अर्को मितिमा शिलान्यास गर्दा नरोक्ने बताएका छन् । उनले भने, ‘मुख्यमन्त्रीले गरोस् न तैपनि हामीले फूल माला लिएर स्वागत गर्नेछौं । भ्रम नफैलाऔँ । शान्ति सुरक्षा कायम गरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर