मधेस सभा : मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतका सांसदद्वारा बेल घेराउ – Nepal Press

मधेस सभा : मुख्यमन्त्रीको राजीनामा माग्दै जनमतका सांसदद्वारा बेल घेराउ

जनकपुरधाम । मधेस प्रदेशसभा बैठकमा जनमत पार्टीका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग्दै बेल घेरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न लाग्दा जनमतका सांसदहरू उठेर गत माघ ८ मा सप्तरीमा तत्कालीन शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवमाथि भएको आक्रमणको विषयमा संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरे ।

संसद अवरुद्ध नगर्न सभामुख मण्डलले पटकपटक गरेको आग्रह उनीहरूले बेवास्ता गरे ।

जनमतका सांसद चन्दन सिंहले भने, ‘फागुन ६ मा मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा छानबिन समिति गठन गर्ने सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन हुनुपर्छ ।’

सहमतिअनुसार सप्तरी घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अगाडि नबढाउन उनले सभामुख मण्डलसँग आग्रह गरे । त्यसपछि सभामुख मण्डलले सामान्य कुरामा सदन अवरुद्ध गर्न नहुने भन्दै खेलकुद तथा समाज कल्याणमन्त्री सुनिता साहलाई प्रदेश बालअधिकार ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

मन्त्री साह रोस्टममा जान नपाउँदै जनमतका सांसदहरू घेर्न पुगे । सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर