मुख्यमन्त्रीको बार्गेनिङमा उपेन्द्र यादव, सीके राउत र रेशम चौधरी – Nepal Press

मुख्यमन्त्रीको बार्गेनिङमा उपेन्द्र यादव, सीके राउत र रेशम चौधरी

जनकपुरधाम । नेपाली काँग्रेस छाडेर नेकपा एमालेसहितका दलसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्ड नयाँ गठबन्धन बनाएपछि साना तीन दल मुख्यमन्त्रीको बार्गेनिङ गरिरहेका छन् ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच मुख्यमन्त्रीका लागि टसल परेको छ । यो प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री छन् । उनलाई हटाए मात्र नयाँ गठबन्धनमा सहभागी हुने जनमतको मुख्य बदमलाइन छ ।

जसपा भने मुख्यमन्त्रीलाई बाँकी ४ वर्षको पुरा कार्यकाल सुरक्षित चाहेका छन् । नयाँ गठबन्धन बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवको भूमिका पनि छ । आठ बुदैं सहमतिमा अध्यक्ष यादले पनि हस्ताक्षर गरे । तर प्रदेश सरकार असुरक्षित देखेपछि जसपा पछाडि हटेको छ ।

सरकारमा जाने/नजाने निर्णय गर्न आज विहान जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । तर बैठक अनिर्णित बन्यो । जसपा प्रवक्ता मनिष सुमनले भने, ‘मधेश सरकार सुरक्षाको ग्यारेन्टी नभएसम्म नयाँ गठबन्धन वा संघ सरकारमा जाँदैनौं ।’

मधेशमा जनमत र जसपाबीच प्रतिस्पर्धा छ । मुख्यमन्त्री यादवले जसपा अध्यक्षबाट राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गराउन जनमतका तत्कालिन मन्त्री र नेता कार्यकर्तामाथि बल प्रयोग गर्न लगाएका थिए । सोही कारण जनमत सरकार छाड्यो ।

राजविराज घटनाभन्दा पनि पहिलेदेखि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत एक अर्कालाई हेर्न सक्दैनन् । त्यसैले जनमत मधेशबाट जसरी पनि जसपालाई सत्ताच्यूत पार्न चाहेका छन् ।

मधेशका मुख्यमन्त्रीलाई नै बार्गेनिङ पोइन्ट बनाएका जनमत पनि अहिलेसम्म सरकारमा जाने/नजाने केहि गर्न गरेका छैन । जनमतका सचिव विपी साहले मधेशको मुख्यमन्त्री दिएपछि मात्र वर्तमान गठबन्धनमा सहभागी हुने बताए ।

नयाँ गठबन्धनमा नेकपा एस सहभागी भएकाे छ । यद्दपी गठबन्धनमा जनमत वा जसपा सहभागी नभए मधेशमा नयाँ सरकार गठन गर्न सकस पर्नेछ । त्यसैले मधेशमा जनमत वा जसपामध्ये कुनै एक दललाई गठबन्धनमा ल्याएर मुख्यमन्त्री दिने सम्भावना छ ।

यता, नागरिक उन्मुक्ति पार्टी पनि नयाँ गठबन्धनमा सहभागी हुने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको छ । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीबिना नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन । त्यसैपनि सो पार्टीका अध्यक्ष रेशम चौधरी मुख्यमन्त्रीलाई बटमलाइन बनाएका छन् ।

नयाँ गठबन्धन बनेलगत्तै मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमती पनि भएको थियो । तर जसपा मधेशमा चार वर्षकै लागि मुख्यमन्त्री सुनिश्चित गराउन खोज्दा गठबन्धनमा कुरा मिलेन ।

जसपाले आलोपालोमा सहमती नगरे जनमतलाई गठबन्धनमा सहभागी गराउन सक्ने सम्भावना छ । नागरिक उन्मुक्तिले पनि चार वर्षकै लागि मुख्यमन्त्री खोजेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर