‘चिट्टी’ देखेर ‘लत’ बनाएका ललित (भिडिओ) – Nepal Press

‘चिट्टी’ देखेर ‘लत’ बनाएका ललित (भिडिओ)

कैलाली । २०७२ साल जेठको अन्तिम सातातिर बझाङबाट धनगढी झर्दै गर्दा ललित बोहराको मनामा धेरै कुरा खेलेन । ९ वर्षको कलिलो उमेरमा राम्रो ठाउँमा पढ्न पाउने उत्साह भन्दा ठुलो ठाउँमा बस्न पाइने खुसीले उनी प्रफुल्लित थिए ।

अहिले पनि बुंगलसम्म राम्रो बाटो पुगेको छैन। राम्रो विद्यालय पनि छैनन् । नामको नगरपालिका भए पनि गाउँपालिका भन्दा फरक छैन सेवा सुविधा । यहाँका अधिकांश अभिभावहरूले राम्रो शिक्षाको लागि बालबालिकालाई अन्तै पढाउँछन् । राम्रोसँग राम्रो विद्यालय पढाउने भन्दै ललितलाई पनि दाजुले धनगढी ल्याए । नजिकैको हरिहर उच्च माध्यमिक विद्यालयमा कक्षा २ देखी ललितले अध्ययन सुरु गरे ।

धनगढी ल्याएकै दाजुको आर्थिक अवस्था कमजोर भएपछि धेरै समय ललितलाई आफूसँग राख्न नसक्ने भए । ललित फेरी बझाङ फर्किनु पर्ने भयो । यस्तो अवस्थामा २०७७ सालमा गेटाको सरस्वती उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तर्कराज जोशीको परिवारसँग उनको भेट भयो ।

२०७२ सालमै जोशीको निधन भइसकेको थियो । उनको श्रीमतीलाई एउटा बालक पढ्न नपाएर फेरी पहाड फर्किन थालेको कुरा थाहा पाएपछि अहिले तीन वर्ष देखी ललित जोशी सरको घरको साहाराम बनेर बसिरहेका छन् । उनलाई अहिले जोशी परिवारले पढाइरहेको छ । उनी पनि त्यो घरको काममा सहयोग गर्दै परिवारको सदस्य जस्तो भएर बसेका छन् ।

कसरी बन्यो रोवर्ट

भारतीय चलचित्र रोवर्ट बजारमा आइसकेको थियो । उक्त फिल्म हेरेर ललितको मनमा रोवर्ट बनाउने उपाय पुर्‍यो । खेलौना जस्ता गाडी, सामान्य रकेट, रोवर्ट कार, सामान्य लाइट र ब्याट्री बनाउँदै आएका ललितको लागि रोवर्ट बनाउने उपाय फुर्न जति सहज भयो त्यो भन्दा कठिन उनलाई त्यसका लागि आवश्यक उपकरणको जोहो गर्नु थियो ।

आर्थिक अवस्थाले सङ्कटमा परेर पढाइ छाड्नु पर्ने बाध्यतामा पुगिसकेकाका ललितलाई रोबटको लागि थप पैसा जोहो गर्न सहज थिएन उनी भन्छन्, ‘तर, मेरो उद्देश्य सुनेर धेरैले सहयोग गर्नु भयो । ’

करिब ६ महिना लगाएर ललितले रोवर्ट बनाए । करिब ६० हजार त्यसमा उनले खर्च गरेका छन् । रोवर्टमा प्रयोग भएका केही चिप्सहरू मात्रै उनले खरिद गरेका हुन् अन्य उपकरण पनि उनले आफै तयार गरेको बताउँछन् । त्यही भएर सस्तोमा रोवर्ट तयार भएको उनलाई लाग्छ ।

‘रोवर्ट तयार गर्न केही रकम आमाले बझाङबाट पठाइदिनु भयो, भिनाजु, डिल्लीराज जोशी सरले सहयोग गर्नु भयो’ उनले भने, ‘ अन्य विद्यालयहरूमा पनि विज्ञानका कुरा गर्न जान्थे त्यहाँबाट पनि पैसा आयो । ’

प्रमोद ओझा र गोविन्द राज धिक्तले रोवर्ट तयार गर्न निकै सहयोग गरेको उनी बताउँछन् । उनले भने, ‘अमेरिकाका हेमराज सरले पनि मलाई धेरै सहयोग गर्नु भएको छ ।’

‘रोवर्ट फिल्म हेरेपछि मैले बनाउनु पर्छ भन्ने लाग्यो त्यसपछि युटयुब गुगलबाट हेरेर प्रक्रिया सुरु गरे । अहिले तयार भयो’ उनी भन्छन् ‘तीन भाषामा कुरा गर्छ तापक्रम प्रेसर मापन गर्छ , ग्यास लिक भएमा त्यो पत्ता लगाउँछ । आलाराम दिन्छ । ’

आगामी दिनमा लगानी भएमा यसलाई अझै परिष्कृत रोवर्ट बनाउने सोचमा उनी छन् ।

‘अहिले तीन भाषामा बोल्दै छ अब कुरा गर्दा गर्दै हाउभाउ पनि गर्ने गरी रोवर्ट बनाउने योजना छ’ उनले भने ‘त्यसको लागि अल्लि बढी पैसा लाग्छ जो मसँग अहिले छैन ।’

आफूले तयार गरेको रोवर्टको नाम उनले तल राखेका छन् । तलको अर्थ ललित र तर्कराज हो । आफूले देख्दै नदेखेको सरको परिवारबाट ठुलो सहयोग पाएको र आफूले पढ्न पाएको उनलाई लाग्छ ।

‘त्यो बेला तर्कराज सरको परिवारसँग मेरो भेट नभएको भए आज म पढाइ छोडेर पहाडमै बसिरहेको हुन्थे होला उहाँहरूबाट पाएको ठुलो साथ छ’ उनले भने ।

अहिले ललित कक्षा १० मा अध्ययन गरिरहेका छन् । आफू पठाइसँगै यस्ता रचनात्मक र सृजनशील कामहरू गरिरहने बताउँछन् ।

‘धेरै युवाहरू काम नपाएर विदेश जान बाध्य छौँ । हामी यही खोजी गर्न चाहन्छौँ । हामी यही धेरै गर्न सक्छौँ’ उनी भन्छन् ‘मैलाई ठुलो भएर वैज्ञानिक बन्दै देशको नाम राख्ने धोको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर