जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को – Nepal Press

जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को

परराष्ट्र मन्त्रालय भन्छ- हामीलाई जानकारी छैन

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई भेट्न हिजो काठमाडौंको एक होटलमा शीर्ष नेताहरूको लर्को लाग्यो । लर्कोमा तीनजना पूर्वप्रधानमन्त्रीसमेत थिए ।

भारतीय विदेशमन्त्री नेपाल आउनासाथ शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । दाहालसँग उनको सामूहिक साथै वान टु वान वार्तासमेत भएको थियो । सामान्यतया समकक्षी नेताहरूबीच वान टु वान वार्ताको अभ्यास भए पनि प्रधानमन्त्रीले विदेशमन्त्रीसँग वान टु वान बस्नु अस्वाभाविक मानिन्छ ।

विदेशमन्त्री जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाए । उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका हुन् । यी भेटघाटका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन । जयशंकरले आफ्नो ट्वीटरबाट भेटघाटका तस्बिरहरू सार्वजनिक गरेपछि नेताहरूको पोल खुलेको हो ।

जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् । यसैगरी, मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटे । यी कुनै पनि भेटघाटका ठोस विषयवस्तु र एजेन्डा थिएनन् ।

एमाले अध्यक्ष ओली पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराईलाई लिएर गएका थिए । नेकपा एसका अध्यक्ष नेपालसँग पार्टीका उपाध्यक्षद्वय राजेन्द्र पाण्डे र प्रमेश हमाल तथा प्रवक्ता जगन्नाथ खतिवडा थिए ।

सामान्यतया विदेशी अतिथिहरूसँग देशका नेताहरूको भेटघाटको चाँजोपाँजो मिलाउने जिम्मेवारी परराष्ट्र हो । तर, पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताले भारतीय विदेश मन्त्रीलाई भेटेको विषयमा परराष्ट्र मन्त्रालयले अनभिज्ञता दर्शाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अरु नेताहरूसँगको भेटघाट आफूहरूको जानकारीमा नरहेको बताए ।

‘हामीलाई यो विषयमा कुनै पनि जानकारी आएको छैन,’ उनले भने ।

बुझिएअनुसार भारतीय दूतावासबाट सीधै शीर्ष नेताहरूलाई फलानो ठाउँमा आउनु भनेर फोन गएको थियो । सोही आज्ञापालन गर्दै नेताहरू लाइन लागेर भेट्न पुगे । नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख भट्टराईले नेपाल प्रेससँग प्रतिक्रिया दिँदै यो चलिआएको अभ्यासअनुसार भएको बताए ।

भट्टराईले भने, ‘उनी बसेको म्यारियटमा हो । उनीहरूले भेटघाटका लागि द्वारिकाज होटलमा भेन्यूज तय गरे । बाहिरै सहज हुन्छ भनेर न्यूट्रल भेन्यू तयार गरेको होला । विगतमा पनि त्यसरी भेटघाट गर्ने गरिएको रहेछ । अरु पूर्वप्रधानमन्त्रीहरूले पहिले गएर भेटघाट गरिरहेको हिसाबले ‘म चैं जान्न’ भन्ने कुरा आएन । बसेकै ठाउँमा जाने चैं अभ्यास छैन । तर, अर्को ठाउँमा भेट्ने चैं अभ्यासमा छ ।’

भट्टराईका अनुसार भेटघाटमा कुनै राजनीतिक कुराकानी भएन । उनले शिष्टाचार भेट मात्र भएको बताए ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले पनि सामान्य भलाकुसारी भएको बताए । पूर्वप्रधानमन्त्रीले होटलमा गएर भेट्नु प्रोटोकलविपरीत हो वा होइन भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘चलिआएको अभ्यास यस्तै छ । तर, मेरो व्यक्तिगत विचार चाहीँ यस्तो भेटघाटका लागि निश्चित प्रोटोकल बनाउनुपर्छ र परराष्ट्रले नै समन्वय गर्नुपर्छ भन्ने हो ।’

जानकार भन्छन्- कुटनीतिक दिवालीयापन

सन् २०२१ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त आयोगको वैठकका लागि नै भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री र राष्ट्रपति भेट्न पाएका थिएनन् । तर, भारतीय विदेशमन्त्री त्यही प्रयोजनका लागि नेपाल आउँदा सिधै शीतलनिवास र बालुवाटार पुगे । समकक्षीसँग वार्ताअघि नै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न भ्याइसकेका थिए । पूर्वप्रधानमन्त्रीहरू लाइन लागेर उनलाई भेट्न गए ।

एक पूर्वपरराष्ट्रमन्त्रीको भनाइमा यो प्रवृत्ति नेपालको कुटनीतिक दिवालीयापनको द्योतक हो ।

उनले थपे, ‘पूर्वप्रधानमन्त्रीहरू जो देशको मर्यादाक्रममा सभामुख समान हुन्छन् उनीहरू लाइन लागेर होटलमा पुगेर भेट्नु लाजमर्दो हो ।’

उनले होटलमा भएको भेटघाटलाई ‘दर्शन भेट’ का रूपमा परिभाषित गरे । मूलधारका नेतालाई एक्लाएक्लै तर मधेश केन्द्रित दलका नेतालाई संयुक्त भेट्नुको पनि ठूलो अर्थ भएको उनको टिप्पणी छ ।


प्रतिक्रिया

One thought on “जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को

  1. मेरियटमा बसेका जयशंकर द्वारिकाजमा आए । अरू पनि त्यहि गए । भेटने ठाउँ त्यो होटल भयो । मेरियटमा नेता गएका भए पो कुरा उठनुपर्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर